+
महिला क्रिकेट :

नयाँ वर्षमा नयाँ क्रिकेट प्रतियोगिता : च्यालेन्ज ट्रफीको उपाधि जित्ने महिला टोलीको लक्ष्य

२०८३ वैशाख  २ गते १७:११ २०८३ वैशाख २ गते १७:११

नेपालले प्रतियोगितामा चार टिमसँग कूल ८ खेल खेल्नेछ । यसले खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय एक्सपोजर देखि अनुभव लिने ठूलो अवसर मिल्नेछ ।

नयाँ वर्षमा नयाँ क्रिकेट प्रतियोगिता : च्यालेन्ज ट्रफीको उपाधि जित्ने महिला टोलीको लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले रुवान्डामा गएर आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्दैछ ।
  • कप्तान इन्दु बर्मा पूर्ण फिट भएर टिममा फर्केकी छिन् र उपाधि जित्ने लक्ष्य राखेकी छन् ।
  • विदेशी प्रशिक्षक हर्षल पाठकले ट्याक्टिकल तयारी र फिल्डिङमा सुधार भएको प्रतिक्रिया दिएका छन् ।

२ वैशाख, काठमाडौं । अफ्रिकी राष्ट्र रुवान्डामा हुने आईसीसी वुमन्स च्यालेन्ज ट्रफी २०२६ मा प्रतिस्पर्धा गर्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बुधबार रुवान्डा प्रस्थान गरेको छ ।

प्रतियोगिता यही अप्रिल १८ देखि मे १ सम्म किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा हुनेछ । जसमा आयोजक रुवान्डासँगे नेपाल, अमेरिका, इटाली र भानुआतुले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली महिला टोलीले पहिलो पटक रुवान्डा गएर खेल्न लागेको हो । च्यालेन्ज ट्रफीको खेलहरू डबल राउण्ड रोबिनका आधारमा खेलाइनेछ र धेरै अंक जोड्दै शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पहिलो पटक वुमन्स च्यालेन्ज ट्रफी आयोजना गर्दैछ । एसोसिएट राष्ट्रहरूलाई उच्च स्तरको क्रिकेट खेल्नका लागि यो आयोजना गर्न लागिएको हो ।

आईसीसीले २०२५ नोभेम्बरमा महिला क्रिकेटका लागि नयाँ प्रतियोगिताहरू घोषणा गरेको थियो । जसमा उत्कृष्ट ८ एसोसिएट राष्ट्रले थाइल्यान्डमा भएको आईसीसी इमर्जिङ वुमन्स नेसन्स ट्रफीमा प्रतिस्पर्धा गरेका थिए ।

त्यसभन्दा तलको वरियतामा रहेका ५ टिमले अब हुने वुमन्स च्यालेन्ज ट्रफी खेल्दैछन् । नेपालले अप्रिल १८ मा अमेरिकासँग खेल्दै आईसीसी वुमन्स च्यालेन्ज ट्रफीको सुरुवात गर्नेछ ।

नेपालले प्रतियोगितामा चार टिमसँग कूल ८ खेल खेल्नेछ । यसले खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय एक्सपोजर देखि अनुभव लिने ठूलो अवसर मिल्नेछ ।

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटका दौरान घाइते भएकी कप्तान इन्दु बर्मा पूर्ण फिट भएर टिममा फर्केकी छिन् । रुवान्डामा बर्माले नै नेपालको कप्तानी गर्नेछन् ।

यसअघि एसीसी महिला एसिया कप राइजिङ स्टार्समा इन्दु अनुपस्थित हुँदा उपकप्तान पुजा महतोले नेपालको कप्तानी सम्हालेकी थिइन् ।

नयाँ वर्षको सुरुमा नयाँ प्रतियोगिता खेल्न जाँदै गर्दा कप्तान इन्दु सहित नेपाली टिम उत्साहित छ । इन्दुले आफू पुर्ण रुपमा फिट भएर आएको र नयाँ वर्षमा महिला क्रिकेटले अझ धेरै राम्रो गर्ने बताइन् ।

‘टिम राम्रो अवस्थामा छ । ट्याक्टिकल चेन्जेजहरू गरिरहेका छौं । पहिल प्रेसर ह्यान्डल गर्ने अलि गाह्रो थियो । अहिले सबै खेलाडीहरूले राम्रो गरिरहेका छन् । विशेषगरी युवा खेलाडीहरूले पनि राम्रो गरिरहेका छन् । समग्रमा राम्रो संकेत देखिएको छ’ इन्दुले बुधबार काठमाडौंमा विदाइ कार्यक्रमपछि भनिन् ।

अघिल्लो वर्ष २०८२ सालमा नेपालको महिला क्रिकेट टिमले महिला टी२० विश्वकपको ग्लोबल क्वालिफायरमा पहिलो पटक स्थान बनाउँदै उपलब्धी हासिल गरेको थियो ।

तर घरेलु भूमिमै भएको ग्लोबल क्वालिफायरमा भने नेपालले शीर्ष चारमा स्थान बनाउन नसक्दा महिला टी-२० विश्वकप खेल्ने लक्ष्य भने यसपटक पूरा हुन सकेन ।

उनले टिममा सबैलाई स्पष्ट भूमिका दिएको र पहिलेभन्दा राम्रो भएको बताइन् । ‘सबै खेलाडीको रोल क्लियर छ । ओपनिङदेखि मिडल अर्डरमा कसले खेल्ने, पावरप्लेमा कसले बलिङ गर्ने, डेथ ओभरमा कसले बलिङ गर्ने भन्ने विषयमा सबैजना सप्ष्ट छन्’ इन्दुले भनिन् ।

यस्तै विदेशी प्रशिक्षक हर्षल पाठकको आगमनपछि नेपाली टिममा धेरै कुरा सुधार भइसकेको कप्तान इन्दुले बताइन् । ‘विदेशी कोच आएदेखि राम्रो भइरहेको छ । स्कटल्यान्ड, आयरल्यान्ड, जिम्बाव्वेसँग खेल्न पायौँ र ठूला टिमसँग खेल्दा सिचुएसन कसरी ह्यान्डल गर्ने भनेर सिकेका छौं’ उनले भनिन् ।

यस्तै नेपाली टिमका मुख्य प्रशिक्षक हर्षल पाठकले यसपटक ट्याक्टिकल क्षेत्रमा धेरै तयारी गरेको र फिल्डिङमा पनि धेरै सुधार भएको प्रतिक्रिया दिए ।

‘हामीले यस पटक ट्याक्टिकल पार्टमा धेरै तयारी गरेका छौ । विशेषगरी ब्याटिङ र बलिङमा तयारी गरेका छौं । यस्तै फिल्डिङमा पनि हामीले धेरै महिनेत गरेका छौं । जुन क्षेत्रमा हामीले धेरै सुधार गर्नु आवश्यक थियो’ पाठकले भने, ‘यस्तै गेम अवारनेसमा पनि हामीले मुख्य प्राथमिकता दिएका छौं । त्यसका लागि हामीले म्याच सिनारियो अनुसार प्राक्टिस गरेका थियौं ।’

पटेलले आप्नो टिमप्रति हामी विश्वस्त रहेको र रुवान्डामा राम्रो प्रदर्शन प्रदर्शन गर्ने बताए । यस्तै कप्तान इन्दुले पनि विपक्षी टिमको खेलहरू नियाली रहेको र सोही अनुसार खेलमा उत्रने बताइन् ।

इन्दुले रुवान्डाको वातावरण र कन्डिसनमा अभ्यस्त हुनका लागि केही दिनअघि नै रुवान्डा जान लागेको र त्यसले म्याचको बेला फाइदा पुग्ने बताइन् ।

यस्तै उनले वुमन्स च्यालेन्ज ट्रफीमा राम्रो प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य रहेको बताइन् । ‘यहाँबाट जाँदा नै जितेर फर्कन्छौं भनेर जाने हो । पक्कै पनि जितेर आउनेछौं’ उनले उच्च मनोबलका साथ भनिन् ।

वुमन्स च्यालेन्ज ट्रफी खेल्ने पाँच टिममध्ये नेपाल वरियतामा सबेभन्दा माथि छ । नेपाल महिला क्रिकेटको टी-२० वरियतामा २१औं स्थानमा छ भने इटाली २३औं, अमेरिका २४औं, रुवान्डा २५औं र भानुआतु ३०औं स्थानमा छन् ।

यस पटक लामो समयम प्रशिक्षण क्याम्प भएकोले विदेशी प्रशिक्षकसँग टिमले धेरै कुरा सिक्न पाएको इन्दुले बताइन् । यसबाट टिमले अझ राम्रो प्रदर्शन गर्न प्रेरणा मिलेको उनको भनाइ छ ।

यस्तै नेपाल क्रिकेट संघ (क्यान) ले ले महिला क्रिकेट विकासमा लागि योजना बनाएर अघि बढेको र धेरै सपोर्ट गरेको समेत इन्दुले बताइन् ।

नेपाली महिला क्रिकेट टोली
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय