News Summary
Generated by OK AI. Editorially reviewed.- गण्डकी प्रदेशका ओपनिङ ब्याटर अर्जुन कुमालले पीएम कप एकदिवसीय क्रिकेटमा ९ खेलमा ५०४ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडी बने ।
- अर्जुनले एउटै संस्करणमा ५०० रन पूरा गर्ने र सबैभन्दा छिटो हजार रन बनाउने कीर्तिमान राखेका छन् ।
- अर्जुनले राष्ट्रिय टोलीको क्याम्पमा स्थान पाउने सम्भावना देखाएका छन् ।
३ वैशाख, काठमाडौं । गत वर्ष भएको सातौं संस्करणको प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा गण्डकी प्रदेशका ओपनिङ ब्याटर अर्जुन कुमालले सबैभन्दा धेरै रन बनाए ।
एकदिवसीय क्रिकेटको एक मात्र घरेलु प्रतियोगितामा सर्वाधिक रन बनाएर उत्कृष्ट ब्याटर बनेका अर्जुन राष्ट्रिय टिमको क्याम्पमा भने पर्न सकेनन् । लामो फर्म्याटको क्रिकेटमा उच्च सम्भावना देखाएका अर्जुन क्याम्पमा समेत नपर्दा धेरैले नेपाल क्रिकेट संघ (क्यान) को आलोचना गरे ।
तर, अर्जुन चुपचाप रहे, बोलीले कुनै प्रतिक्रिया दिनु आवश्यक ठानेनन् । तर, यसपटक मधेश प्रदेशमा भइरहेको पीएम कप एकदिवसीय क्रिकेटमा भने अर्जुनले ब्याटबाट जवाफ दिए । उनी बलिया टोलीविरुद्ध गण्डकीका ‘वान म्यान आर्मी’को रूपमा खडा भएर उभिए ।
प्रतियोगिताभर अर्जुनले ९ खेलमा ५०४ रन बनाए । जसमा उनले २ अर्धशतक र २ शतक प्रहार गरे । त्यतिमात्रै होइन, अर्जुनले ब्याटबाट केही कीर्तिमान पनि आफ्नो नाममा दर्ज गर्न सफल भए ।
उनी एउटै संस्करणमा ५०० रन पूरा गर्ने पहिलो खेलाडी पनि बने । यस्तै २५ खेलमा हजार रन बनाउँदै सबैभन्दा छिटो हजार रन पूरा गर्ने खेलाडीको कीर्तिमान पनि अर्जुनले आफ्नो नाममा राख्न सफल भए । यसअघि राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले ३७ खेल र विनोद भण्डारीले ३८ खेलमा हजार रन पूरा गरेका थिए ।
अर्जुनले लुम्बिनी र कोशी प्रदेशविरुद्ध शानदार शतक प्रहार गरे । कोशीविरुद्ध १०२ रन बनाएर आउट हुँदा लुम्बिनीविरुद्ध १०३ रनमा अविजित रहे । यस्तै प्रतियोगिताको एक मात्र अपराजित टोली आर्मी र बागमती प्रदेशविरुद्ध अर्जुनले संयमित अर्धशतक प्रहार गरेका थिए ।
अर्जुनले आर्मीविरुद्ध ६७ र बागमतीविरुद्ध ७४ रन बनाए । कर्णालीविरुद्ध ६, सुदूरपश्चिमविरुद्ध ४४, सशस्त्र प्रहरी बल (एपीएफ) विरुद्ध २५ रन बनाएका अर्जुन नेपाल पुलिस क्लबविरुद्ध ३४ र मधेशविरुद्ध ४९ रनमा अविजित रहे ।

प्रतियोगिताभर गण्डकीले खासै राम्रो नतिजा ल्याउन सकेन । ९ खेलमध्ये ४ खेलमा जित निकालेको गण्डकी नेट रन रेटमा पछि पर्दै जय ट्रफी बहुदिवसीय क्रिकेट खेल्ने अवसरबाट भने वञ्चित भयो । तर, गण्डकीका ओपनर अर्जुनले भने क्रिजमा परिपक्क, संयमित र धैर्यता देखाउँदै ब्याटिङ कौशल देखाउन सफल भए ।
टिमका अन्य खेलाडी चल्न नसक्दा पनि अर्जुनले संयमित भएर गण्डकीको ब्याटिङ सम्हाले । आफ्नो प्रदर्शनबारे अर्जुनले भनेका छन्, ‘ ब्याटिङ गर्दाखेरि मैले चाहिँ खासै केही सोचेको थिइनँ । जुन पहिलेदेखि मेरो माइन्डसेट थियो, जुन मेरो स्ट्रेन्थ छ, त्यसैलाई नै मैले ब्याक गरिरहेको थिएँ । अरु खासै त्यस्तो केही थिएन ।’
अर्जुनले अघिल्लो पीएम कपमा ३७४ रन बनाएका थिए । आर्मीका तृतराज दासले ३६५, इशान पाण्डेले ३६३ र बसिर अहमदले ३३८ रन बनाएका थिए । इशान र बसिरसहितका खेलाडीले क्याम्पमा स्थान पाउँदा अर्जुन क्यानको रोजाइमा परेनन् ।
गत मंसिरमा भएको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को अन्तिम खेलमा अवसर पाएका अर्जुनले टी–२० फर्म्याटमा पनि संयमित ब्याटिङ गर्दै आफुलाई अब्बल साबित गरेका थिए ।
पोखरा एभेन्जर्सको अन्तिम खेलमा ओपनरको रुपमा मैदानमा आएका अर्जुनले २० ओभर नै टिकेर टोलीलाई जित दिलाएका थिए । एनपीएलको पहिलो सिजनमा सुदूरपश्चिम रोयल्समा आबद्ध भएका उनले कुनै खेलमा पनि अवसर पाएका थिएनन् ।
सन् २०२१ मा १५ वर्षकै उमेरमा सिनियर टोलीको क्याम्पमा परेका अर्जुन खासै अवसर पाउनेमा पर्दैनन् । तर, उनले पाएका अवसरहरु भने भरपुर सदुपयोग गरेका छन् । नेपाल ‘ए’ बाट अर्जुनले दुई खेल मात्र खेल्ने अवसर पाएका छन् । त्यसमा आयरल्याण्ड ‘ए’ विरुद्ध शतक प्रहार गर्दै उनले आफ्नो प्रतिभा देखाइसकेका छन् ।

उमेर समूहमा पनि अर्जुनले उत्कृष्ट प्रदर्शन गरेका थिए । आईसीसी यू–१९ विश्वकपको पहिलो खेलमा टेस्ट टोली न्युजिल्यान्डविरुद्ध अर्जुनले शानदार ब्याटिङ गरे । उनी ९० रन बनाएर आउट भए ।
त्यसअघि उनले एसिया कपमा अफगानिस्तानविरुद्ध ९१ रन बनाए । यस्तै एसिसी यू–१९ प्रिमियर कपमा अर्जुनले साउदी अरेबियाविरुद्ध १४३ रन र आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १०८ को शतकीय पारी खेलेका थिए ।
बाल्यकालदेखि नै भारतमा क्रिकेट सिकेका उनी अझै पनि बेलाबेलामा उतै गएर क्रिकेट सिक्ने गर्छन् । पीएम कपपछि पनि भारतमै गएर क्रिकेट प्रशिक्षण गर्ने तयारी अर्जुनको छ । उनको खेल्ने शैली अरु नेपाली खेलाडीभन्दा फरक छ । टाइमिङका साथ कभरमा शट खेल्ने अर्जुनको ब्याटिङ शैली हो ।
मधेश प्रदेशमा जारी पीएम कपमा अर्जुनको प्रदर्शनले पनि राष्ट्रिय टोलीको ढोका ढकढक्याएको छ । ओडिआईमा ओपनिङ जोडीबाट प्रदर्शन नहुँदा अर्जुन त्यसको विकल्प हुन सक्ने धेरेको बुझाइ छ ।
तर, टिममा पर्ने वा नपर्ने कुरा आफ्नो हातमा नभएको अर्जुन बताउँछन् । ‘म अब पर्ने नपर्ने कुरा मेरो हातमा छैन । सेलेक्सनको कुरा हो । चान्स पाएँ भने म टिमका लागि आफ्नो बेस्ट दिन्छु’ उनी भन्छन्, ‘चान्स पाएँ भने मैले त्यहाँ आफूलाई प्रमाणित गर्छु र टिमलाई जिताउँछु ।’
प्रतिक्रिया 4