+

फेरिएको टी–२० टिमको प्रदर्शन : सिनियर सम्हालिए, नयाँ धर्मराए

२०८३ वैशाख  ८ गते २३:०५ २०८३ वैशाख ८ गते २३:०५
फेरिएको टी–२० टिमको प्रदर्शन : सिनियर सम्हालिए, नयाँ धर्मराए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले कप्तान परिवर्तन गरी दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा यूएईसँग दुई टी–२०आई खेल खेल्यो ।
  • टी–२० टोलीमा नयाँ खेलाडी हेमन्त धामी र सन्तोष यादवले डेब्यू गरे ।
  • सन्दीप लामिछानेले दुवै खेलमा ३–३ विकेट लिए भने कुशल भुर्तेलले दोस्रो खेलमा ८४ रन बनाएर नेपाललाई जितमा सहयोग पुर्‍याए ।

८ वैशाख, काठमाडौं । कप्तानसहितका खेलाडी परिवर्तन गरी बनाइएको नेपाली टिमले यूएईसँग घरेलु मैदानमा दुई टी–२०आई खेल खेल्यो ।

त्रिवि क्रिकेट मैदानमा सोमबार र मंगलबार भएको खेलमा नेपाल र यूएई दुवैले समान एक खेलमा जित निकाले । चिरप्रतिद्वन्दी यूएई र नेपालबीचको दुवै खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा थियो ।

तर, दुवै खेल खासै प्रतिस्पर्धात्मक हुन सकेनन् । पहिलो खेल यूएई र दोस्रो खेलमा नेपाल हावी हुन पुग्यो । सिरिज १-१ को बराबरीमा सकियो ।

यो सिरिज नेपालका लागि विशेष थियो । नेपाल क्रिकेट संघ (क्यान)ले यो सिरिजबाट रोहित पौडेललाई हटाएर दीपेन्द्रसिंह ऐरीलाई टी–२० टोलीको कप्तानी सुम्पिएको थियो ।

यस्तै नेपालले यसअघि भएको धेरै खेलाडीलाई बाहिर राख्दै यो सिरिजमा युवा खेलाडीलाई अवसर दिएको थियो ।

यो सिरिजमा नेपालबाट हेमन्त धामी र सन्तोष यादवले टी–२०आई डेब्यू गर्ने मौका पाए । डेब्यू खेलमा महँगो साबित भएका हेमन्तले दोस्रो खेलमा किफायती बलिङ गरे । पहिलो खेलमा एक ओभर बलिङ गरेको हेमन्तले २० रन खर्चिए । दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै २० रन खर्चेर २ विकेट लिए ।

दोस्रो खेलमा डेब्यूको अवसर पाएका सन्तोषले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङमा एक ओभरमा ११ रन खर्चेका सन्तोषले ब्याटिङमा १ रन मात्र जोड्न सके ।

टोलीमा सिनियर खेलाडीका रुपमा रहेका कप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेलसहितका खेलाडीले सम्हालिएको प्रदर्शन गरे ।

दीपेन्द्रले दुवै खेलमा ब्याटिङ अविजित रहे । पहिलो खेलमा ३२ र दोस्रो खेलमा २३ रन बनाएर नटआउट बने । पहिलो खेलमा बलिङ नगरेका दीपेन्द्रले दोस्रो खेलमा ३ ओभरमा १६ रन खर्चिए ।

सन्दीपले दुवै खेलमा शानदार प्रदर्शन गरे । सन्दीपले दुवै खेलमा ३–३ विकेट लिन सफल भए । ओपनर कुशल भुर्तेल पहिलो खेलमा १६ रनमा आउट हुँदा दोस्रो खेलमा शतक नजिक पुगे । ५७ बलमा अविजित ८४ रन बनाउँदै नेपाललाई जितको बाटोमा डोर्‍याए ।

लामो समयपछि टी–२०आई टोलीमा कमब्याक कुशल मल्लले क्रिजमा जम्न प्रयास गरेपनि ठूलो स्कोर बनाउन सकेनन् । पहिलो खेलमा १७ रनमा आउट भएका मल्ल दोस्रो खेलमा १९ रन बनाए ।

दोस्रो खेलमा ओपनिङमा आएका मल्लले कुशल भुर्तेलसँग ६७ रनको साझेदारी गरेका थिए । भुर्तेलको ओपनिङ जोडीका रुपमा रहेका आसिफ शेख टोलीमा नपर्दा पहिलो खेलमा अर्जुन साउद र दोस्रो खेलमा मल्लले ओपनिङ गरेका थिए ।

दोस्रो खेलमा राम्रो ओपनिङ साझेदारी भएपनि पहिलो खेलमा नेपालले सस्तोमै पहिलो विकेट गुमाउन पुगेको थियो ।

यसपटक अवसर पाएका अर्जुन साउद, सन्दीप जोरा, बसिर अहमद, गुल्सन झा, नन्दन यादवहरुले आफुलाई प्रमाणित गर्न सकेनन् । पहिलो खेलमा अवसर पाएका अर्जुन १३, जोरा ६ र बसिर १४ रनमा आउट भए ।

दुवै खेलमा अवसर पाएका गुल्सन र नन्दन पनि खास रहन सकेनन् । पहिलो खेलमा एक रन जोडेका गुल्सन दोस्रो खेलमा एक ओभर बलिङ गर्दै एक रन खर्चिए । पहिलो खेलमा १३ रन बनाएका नन्दन दोस्रो खेलमा एक विकेट लिएपनि महंगो सावित भए ।

दोस्रो खेलमा अवसर पाएका शाहब आलम ३ ओभर बलिङ गर्दै २९ रन खर्चिएर एक विकेट लिए । पहिलो खेलमा अवसर पाएका बलर शेर मल्लले २ ओभर बलिङ गर्दै मात्र ७ रन खर्चिए ।

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय