News Summary
Generated by OK AI. Editorially reviewed.- जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले सीमा नाकामा कर र अनुहार हेरेर गरिने व्यवहारले सर्वसाधारणले सास्ती भोग्नुपरेको बताए।
- ठाकुरले भारतीय बजारमा खाद्यान्नका लागि बाध्यता रहेको र सीमामा सामान ल्याउँदा लुटिने डरले गरिब जनता प्रभावित भएको उल्लेख गरे।
- उनले वर्तमान सरकारलाई \'हेलिकप्टर सरकार\' भनेका छन् र मधेशको पीडा सरकारले बेवास्ता गरिरहेको आरोप लगाए।
१० वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता का एवम् राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले सीमा नाकामा सर्वसाधारणले सास्ती भोग्नुपरेको र राज्यको उदासिनताले गर्दा आफूहरू ‘विद्रोहको नजिक’ पुगेको बताएका छन् ।
सांसद ठाकुरले एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा पनि कर तिर्नुपर्ने व्यवस्था र अनुहार हेरेर गर्ने व्यवहारले सीमा क्षेत्रका बासिन्दाले सास्ती पाएको गुनासो गरे ।
‘सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा पनि ट्याक्सको दायरा भन्दै घण्टौँ कुराउने, अनुहार हेरेर व्यवहार गर्ने र मानिसहरूलाई अपमानित गर्ने काम भइरहेको छ,’ राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बुधबारको बैठकमा ठाकुरले भने ।
उनले थपे, ‘खाद्यान्न र नुन–तेलका लागि भारतीय बजारको बाध्यता छ । अहिले गरिब जनता आधा किलो चामल, पीठो, नुन र कुकिङ तेलका लागि सीमा पारि जान बाध्य छन् । त्यही एक–दुई किलो सामान ल्याउँदा पनि सीमामा लुटिने र खोसिने डर छ ।’
सरकारका मन्त्रीहरुलाई यी समस्या सुन्ने समय नभएको भन्दै उनले यस्तै अवस्था रहे विद्रोह हुने चेतावनी दिए । ‘हामी विद्रोही त होइनौं, तर राज्यको यस्तै व्यवहार रहिरहने हो भने हामी विद्रोहको निकै नजिक छौं,’ अध्यक्ष ठाकुरले भने ।
नेपाल र भारतबीचको ‘रोटी–बेटी’ को सम्बन्धमा राज्यले कठोर व्यवहार देखाएकोमा भन्दै उनले आपत्ति जनाए ।
विवाहका गाडीहरूलाई रोक लगाउने र जन्तीलाई पैदल हिँडाउन बाध्य पार्ने कार्य भइरहेको भन्दै उनले यसले दुई देशको सांस्कृतिक वातावरण बिगारिरहेको तर्क गरे ।
वर्तमान सरकारलाई ‘हेलिकप्टर सरकार’ को संज्ञा दिँदै उनले राजधानीमा बस्ने मन्त्रीहरूलाई मधेशको भुइँमान्छेको पीडा थाहै नभएको बताए । सांसद ठाकुरले मधेशका बुद्धिजीवी र मिडियाले अहिले बिस्तारै आँखा खोल्न थालेको भएपनि सत्ताले मधेशको आवाजलाई अझै बेवास्ता गरिरहेको आरोप लगाए ।
प्रतिक्रिया 4