+
+
Shares

सम्पत्ति विवरण सार्वजनिक : डेपुटी गभर्नर पण्डितको लगानी जग्गामा साढे ३ करोड

श्रीमतीको नाममा रहेको काठमाडौं टोखा नगरपालिकाको प्लट २ करोड २० लाख रुपैयाँमा खरिद गरेको पण्डितले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले साढे ३ करोड रुपैयाँ बराबरको जग्गा खरिद गरेका छन्।
  • पण्डितले जग्गा खरिदका लागि आफ्नो र श्रीमतीको आम्दानी तथा बैंक ऋणमार्फत लगानी गरेको बताएका छन्।
  • उनले ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

१० वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले साढे ३ करोड रुपैयाँ बराबरको जग्गा खरिद गरेका छन् ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार यो जग्गामा किरण आफैं र श्रीमतीको आम्दानी तथा ऋणमार्फत लगानी गरिएको हो ।

श्रीमतीको नाममा रहेको काठमाडौं टोखा नगरपालिकाको प्लट २ करोड २० लाख रुपैयाँमा खरिद गरेको पण्डितले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

उक्त लगानीको स्रोत आफ्नो र श्रीमतीले आम्दानी गरेको तथा केही बैंक ऋण लिएको उल्लेख गरेका छन् । काठमाडौंकै तारकेश्वरमा श्रीमतीको नाममा ६९ लाख रुपैयाँ बराबर तथा कैलालीको धनगढीमा पण्डितको नाममा १० लाख रुपैयाँ बराबरको जग्गा रहेको विवरणमा उल्लेख छ ।

त्यसैगरी भाइसँग संयुक्त लगानीमा रुपन्देहीमा ४० लाखको जग्गा पनि रहेको पण्डितको सम्पत्ति विवरण देखिन्छ ।

पारिवारिक सम्पत्तितर्फ बुबा केशरीराज पण्डितका नाममा तनहुँ दमौलीमा ११ रोपनी जग्गा तथा आमाको नाममा काठमाडौंमा ६ आना जग्गा छ ।

आमाकै नाममा सामाखुसीमा साढे दुई तले घर रहेको जनाइएको छ । उक्त सम्पत्ति पैतृक स्रोतबाट प्राप्त भएको जनाइएको विवरणमा उल्लेख छ ।

डेपुटी गभर्नर पण्डितसँग २० तोला सुन, २ सय ५० तोला चाँदी र करिब २ लाख रुपैयाँ बराबरको हिरा छ । विवाह, पास्नी तथा निजी आर्जनबाट उक्त सम्पत्ति प्राप्त भएको विवरणमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष तथा विभिन्न बैंकमा गरी उनको २ करोड २० लाख रुपैयाँभन्दा बढी बचत छ । साथै, विभिन्न कम्पनीमा ७ सयभन्दा बढी कित्ता सेयर लगानी रहेको पनि सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।

त्यसैगरी विभिन्न बैंकमा करिब ४० हजार अमेरिकी डलर बचत रहेको विवरणमा उल्लेख छ । त्यस्तै पण्डितसँग बैंक, बीमा तथा जलविद्युत् कम्पनीको करिब ८ हजार कित्ता सेयर रहेको विवरणमा देखिन्छ ।

डेपुटी गभर्नरमा नियुक्ति भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी प्रावधान अनुसार उनले बुझाएको विवरण राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?