१० वैशाख, काठमाडौं । चोरी मुद्दामा जेल परेर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु कारागारबाट फरार कैदी फेरि चोरी कसुरमै पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–४ घरभई हाल काठमाडौंको क्षेत्रपाटी बस्ने २३ वर्षीय काठमाडौंमा विकेश शाही भनेर परिचय दिने विज्ञान परियार रहेको प्रहरीले जनाएको छ ।
उनलाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार काठमाडौंको नयाँबजारबाट पक्राउ गरेको हो ।
गत पुस २७ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा कोठामा कोही नभएको मौका पारेर चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो घटनामा सुनका गरगहना, मोबाइल र एक लाख ६२ हजार रुपैयाँ नगदसमेत चोरी भएको थियो ।
त्यो चोरीमा परियार संलग्न रहेको अनुसन्धानमा देखिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीसँगै चोरी गरिएको मोबाइल एक थान बरामद भएको पनि प्रहरीले जनाएको छ ।
अनुसन्धान गर्दै जाँदा उनले २०७६, २०७७ र २०८१ मा चोरीमा संलग्न भएर मुद्दा दर्ता भएको पनि खुलेको प्रहरीले जनाएको छ । तीनै मुद्दाका आधारमा उनी ललितपुरको नख्खु कारागारमा कैद भुक्तान गर्दैथिए ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु जेलबाट उनी फरार भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
अहिलेको चोरीसमेतको कसुरमा थप अनुसन्धान गरेर कारबाहीका लागि उनलाई प्रहरी वृत्त बौद्धमा पठाइएको अपराध अनुसन्धान कार्यालका सूचना अधिकारी प्रहरी उपरीक्षक(एसपी) रामेश्वर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया 4