१४ वैशाख, काठमाडौं । पाकिस्तानबाट रुस भ्रमणमा निस्किएका इरानी विदेशमन्त्री अब्बास अराघचीले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । रुसको समाचार एजेन्सी तासका अनुसार दुई नेताबीच अहिले पनि वार्ता चलिरहेको छ ।
तासको समाचारका अनुसार पुटिनले इरानी जनता आफ्नो सम्प्रभुताका लागि सहासका साथ संघर्ष गरिरहेको टिप्पणी गरेका छन् । उनले यो कठिन अवस्थाबाट बाहिर निस्किएपछि इरानमा शान्ति आउने विश्वास पनि व्यक्त गरेका छन् ।
‘रुसले जतिसक्दो चाँडो सम्भव हुन्छ मध्यपूर्वमा शान्ति ल्याउन हरसम्भव कोसिस गर्छ,’ अराघचीसँग पुटिनले प्रतिबद्धता जनाएको तासले लेखेको छ ।
भेटका क्रममा इरानी विदेशमन्त्री अराघचीले रुस र इरानबीच सम्बन्ध रणनीतिक साझेदारीको प्रतिनिधित्व गर्ने बताउँदै आगामी दिनमा अझै मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।
भेटवार्तामा पुटिनसँगै रुसका तर्फबाट विदेशमन्त्री सर्गेई लाभरोभ, राष्ट्रपति कार्यालय क्रेमलिनका सहयोगी युरी उसाकोभ र रुसी खुफिया एजेन्सीका प्रमुख इगोर कोस्त्युकोभ संलग्न छन् ।
इरानका तर्फबाट उपविदेश मन्त्री काजेम गरिबाबादी र मस्कोमा रहेका इरानी राजदूत काजिम जलाली सामेल छन् ।
प्रतिक्रिया 4