१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले अहिले राष्ट्रियसभाको संसदीय दलको नेता फेर्ने कुरा ठीक नभएको बताएका छन् । पछिल्ला केहीदिन यता राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता रहेका कृष्णप्रसाद सिटौलालाई फेर्ने कुरा विषय चर्चामा छ ।
मंगलबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले धुम्बाराहीमा आयोजना गरेको भेलामा पुगेका विश्वकर्मासँग पत्रकारले सोही प्रशंगमा प्रश्न सोधेका थिए । जसको जवाफ दिँदै उनले सिटौलालाई हटाउने कुरा अहिले कुनै पनि कोणबाट सही नहुने बताएका हुन् ।
‘त्यो गर्नुभयो भने त्यति राम्रो नहोला,’ उनले भने, ‘राष्ट्रिय सभामा अहिले भइरहेका नेतामध्ये ज्येष्ठ तथा शीर्ष नेता नै दलको नेता हुनुहुन्छ ।’
अहिले राष्ट्रियसभामा दलको नेता बदल्दा के हुने ? भन्दै विश्वकर्माले प्रश्न गरे । उनले भने, ‘प्रधानमन्त्री बनाउन त होइन होला । अथवा त्यहाँबाट पार्टीलाई अर्को ठूलो उपलब्धी हुने होइन होला । र, उहाँ स्वयं व्यक्तिबाट कुनै बाधा पनि भएको छैन ।’
पार्टीले गर्नुपर्ने अरू तमाम काम छाडेर भइरहेको नेताका पछाडि लागेर कही नपुगिने उनले बताए । ‘अरु कुरा पार्टी निर्माण छाडेर, लोकतन्त्रको जगेर्नाका कुरा, सरकारको देखिएको निरंकुश व्यवहारको प्रमुख प्रतिपक्षी दलले गर्नुपर्ने खबरदारी छाडेर आफ्नै दलका नेतामाथि यस्तो व्यवहार गर्न थालियो भने पार्टीका लागि पनि, लोकतान्त्रिक अभ्यासका लागि पनि राम्रो हुँदैन । उहाँहरूले गरेको क्रियाकलपा ठीक होइन भन्ने लाग्छ’, विश्वकर्माले भने ।
प्रतिक्रिया 4