+

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

२०८३ वैशाख  १७ गते १६:४९ २०८३ वैशाख १७ गते १६:४९

यदि घाँटी, काखी वा कम्मरको भागमा गाँठो देखियो र त्यो दुई–तीन हप्तासम्म पनि नघटेमा चिकित्सकलाई देखाउनु राम्रो हुन्छ ।

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लिम्फोमा क्यान्सर सेतो रक्त कोषिका लिम्फोटिक प्रणालीमा सुरु हुने क्यान्सर हो, जसले शरीरको प्रतिरक्षा प्रणालीलाई असर गर्छ।

शरीरमा सामान्य गाँठो (लिम्फ नोड)हरू सधैं हुन्छन् । यो रोगसँग लड्ने प्रणालीको महत्वपूर्ण भाग हो । तर कहिलेकाहीँ यी गाँठोहरू अचानक सुन्निन्छन्, ठूला हुन्छन् र छाम्दा महसुस हुन्छन् ।

यो शरीरको प्रतिरक्षा प्रणालीमा हुने सेतो रक्त कोषिका (लिम्फोसाइट) बाट सुरु हुन्छ । यी कोषिकाहरू अनियन्त्रित बढ्छन् र लिम्फ नोड्स (गाँठा), हड्डी र बोन म्यारो लगयात ठाउँमा ट्युमर बनाउँछन्।

धेरैजसो समय यो सामान्य संक्रमण, ज्वरो वा सानो समस्याका कारण हुन्छ र केही दिन तथा हप्तामा आफैं ठीक पनि हुन्छ ।  तर, असामान्य अवस्थामा रहिरहन्छ भने त्यो लिम्फोमा क्यान्सर भएको पनि हुनसक्छ ।

किस्ट अस्पतालमा कार्यररत क्यान्सररोग विशेषज्ञ डा. समीम अख्तरले अनलाइनखबरसँगको कुराकानीमा यस रोगबारे विस्तृत जानकारी दिएका छन् ।

डा. अख्तरसँगको कुराकानीको सम्पादित अंश :

लिम्फोमा क्यान्सर कस्तो खालको क्यान्सर हो ?

लिम्फोमा क्यान्सर मूलतः सेतो रक्त कोषिका लिम्फोटिक प्रणालीमा सुरु हुने क्यान्सर हो । यो प्रणाली शरीरको प्रतिरक्षा प्रणालीको महत्वपूर्ण भाग हो, जसले शरीरलाई संक्रमण र बाहिरी जीवाणुसँग लड्न मद्दत गर्छ ।

लिम्फाटिक प्रणालीमा लिम्फ नली, लिम्फ नोड, बोन म्यारो र टन्सिल जस्ता अंग हुन्छन् । यी अंगमा रहेका लिम्फोसाइट नामका सेतो रक्तकोषहरूले शरीरलाई रोगबाट जोगाउने काम गर्छन् ।

जब यी लिम्फोसाइट कोषहरूमा असामान्य परिवर्तन हुन्छ र ती कोषहरू अनियन्त्रित रूपमा बढ्न थाल्छन्, त्यही अवस्थाबाट लिम्फोमा क्यान्सर सुरु हुन्छ । यस्तो अवस्थामा असामान्य कोषहरू जम्मा हुँदै लिम्फ नोडमा गाँठो बन्न सक्छ । कहिलेकाहीँ यो क्यान्सर शरीरका अन्य अंगमा पनि फैलिन सक्छ ।

लिम्फोमा पनि फरक खालको हुन्छन् भन्ने सुनिन्छ ? कति प्रकारका हुन्छन् ? कुन बढी घातक हुन्छ ?

लिम्फोमा क्यान्सरलाई सामान्यतया दुई प्रमुख प्रकारमा विभाजन गरिन्छ ।

पहिलो: हजकिन लिम्फोमा र दोस्रो: नन–हजकिन लिम्फोमा ।

यी दुई प्रकारबीच कोषको बनावट र रोग फैलिने तरिकामा केही फरक हुन्छ । हजकिन लिम्फोमा अपेक्षाकृत कम देखिने भए पनि यसको उपचार सफल हुने सम्भावना धेरै हुन्छ ।

नन–हजकिन लिम्फोमा भने धेरै प्रकारका हुन्छन् र यसको व्यवहार पनि फरक–फरक हुन सक्छ । केही प्रकार बिस्तारै बढ्ने हुन्छन् भने केही निकै छिटो फैलिन सक्छन् ।

यस कारण लिम्फोमाको पहिचान भएपछि यसको प्रकार र अवस्था पत्ता लगाउनु उपचारका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ ।

यो क्यान्सर हुनु पछाडि के कस्ता कारण हुनसक्छ ?

लिम्फोमा क्यान्सरको एउटै निश्चित कारण हुँदैन । धेरैजसो अवस्थामा किन यस्तो क्यान्सर सुरु हुन्छ भन्ने कुरा स्पष्ट रूपमा भन्न सकिँदैन । तर केही कारक तत्वहरूले यसको जोखिम बढाउन सक्छन् भन्ने अध्ययनहरूले देखाएका छन् ।

रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुनु लिम्फोमाको एउटा सम्भावित जोखिम कारक मानिन्छ । उदाहरणका लागि, एचआईभी संक्रमण भएका व्यक्तिहरूमा प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले लिम्फोमा हुने सम्भावना बढ्न सक्छ ।

केही प्रकारका भाइरस संक्रमणलाई पनि लिम्फोमासँग सम्बन्धित मानिन्छ । एप्स्टिन–बार भाइरस जस्ता संक्रमणले केही अवस्थामा लिम्फोसाइट कोषहरूमा परिवर्तन ल्याउन सक्छ ।

दीर्घकालीन संक्रमण वा लामो समयसम्म शरीर सुन्निने समस्या जस्ता जोखिमसँग सम्बन्धित हुन सक्छ । साथै, केही रसायन वा औद्योगिक पदार्थसँग लामो समय सम्पर्कमा रहने व्यक्तिहरूमा पनि जोखिम बढ्न सक्छ भन्ने अध्ययनहरूमा उल्लेख गरिएको छ।

परिवारमा क्यान्सरको इतिहास हुनु पनि एउटा कारक हुन सक्छ, तर यो निर्णायक कारण भने होइन । यी सबै जोखिम कारक भए पनि धेरै मानिसमा लिम्फोमा कुनै स्पष्ट कारणबिना पनि देखिन सक्छ । त्यसैले, केवल जोखिम कारकका आधारमा मात्र रोग हुने वा नहुने निश्चित हुँदैन ।

नेपालामा यो क्यान्सर कतिको सामान्य छ ?

लिम्फोमा विश्वभर देखिने क्यान्सरमध्ये एक हो, तर यो सबैभन्दा धेरै देखिने क्यान्सर भने होइन । फोक्सो, स्तन, आन्द्रा वा कलेजो क्यान्सरको तुलनामा यसको संख्या कम हुन्छ । तर पनि प्रत्येक वर्ष विश्वभर लाखौं मानिसमा लिम्फोमा पत्ता लाग्ने गरेको तथ्यांकले देखाउँछ ।

नेपालमा एक लाख जनसंख्यामा ५ जनामा देखिन सक्छ । विश्वव्यापी हेर्ने हो भने यो २ देखि ५ प्रतिशतमा देखिन सक्छ । तुलनात्मकरुपमा नन–हजकिन लिम्फोमा विश्वभर अपेक्षाकृत बढी देखिने प्रकार हो । पछिल्लो केही दशकमा यसको पहिचान दर पनि बढेको छ । यसको एउटा कारण स्वास्थ्य परीक्षण र निदान प्रविधि सुधार हुनु पनि हो ।

धेरै देशमा मानिसहरू स्वास्थ्य परीक्षणप्रति सचेत हुँदै जाँदा यस्ता रोगहरू पहिलेभन्दा छिटो पत्ता लाग्न थालेका छन् । यसले रोगको वास्तविक संख्या बढेको जस्तो देखिए पनि केही हदसम्म यसको कारण पहिचान प्रक्रिया पनि हुन सक्छ ।

लिम्फोमा धेरैजसो अवस्थामा सुरुवाती चरणमा स्पष्ट लक्षण नदेखिने रोग पनि हो । त्यसैले, कतिपय मानिसमा यो रोग ढिलो गरी पत्ता लाग्ने सम्भावना हुन्छ ।

यो क्यान्सरको जोखिममा सबैभन्दा बढी कस्ता व्यक्ति हुनसक्छन् ?

लिम्फोमा क्यान्सर कुनै पनि उमेरका मानिसलाई हुन सक्छ । यो बालबालिका, युवा वा वृद्ध सबैमा देखिन सक्छ, तर उमेरसँगै यसको जोखिम केही बढ्न सक्छ ।

विशेषगरी ५०–६० वर्षभन्दा माथिका व्यक्तिमा नन–हजकिन लिम्फोमा बढी देखिने गरेको अध्ययनहरूले देखाएका छन् । यद्यपि केही प्रकारका लिम्फोमा युवा उमेरमा पनि देखिन सक्छन् । हजकिन लिम्फोमा प्रायः युवा वयस्कहरूमा पनि पत्ता लाग्ने गरेको पाइन्छ । यसले लिम्फोमा कुनै निश्चित उमेर समूहमा मात्र सीमित हुने रोग होइन भन्ने देखाउँछ ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा पनि लिम्फोमा हुने जोखिम बढी हुन्छ । उदाहरणका लागि एचआईभी संक्रमण भएका व्यक्तिहरू वा अंग प्रत्यारोपणपछि प्रतिरक्षा प्रणाली दबाउने औषधि सेवन गर्ने व्यक्तिहरूमा यस्तो क्यान्सर देखिने सम्भावना बढ्न सक्छ ।

केही अवस्थामा परिवारमा यस्ता प्रकारका क्यान्सरको इतिहास भएमा पनि जोखिम बढ्न सक्छ । तर यसको अर्थ परिवारमा कसैलाई भएको छ भने सबै सदस्यलाई हुन्छ भन्ने होइन ।

धेरैजसो अवस्थामा भने लिम्फोमा कुनै स्पष्ट कारण बिना पनि देखिन सक्छ । त्यसैले, सामान्य स्वास्थ्य अवस्था राम्रो भएको मानिसमा पनि यो रोग देखिन सक्ने सम्भावना हुन्छ ।

लक्षण कस्ता हुन्छन् ?

लिम्फोमाका लक्षण सुरुमा धेरै स्पष्ट नहुन सक्छन् । कतिपय अवस्थामा मानिसलाई कुनै खास समस्या नदेखिँदा पनि नियमित जाँचका क्रममा रोग पत्ता लाग्न सक्छ । तर धेरैजसो अवस्थामा शरीरले केही संकेत भने दिन सक्छ ।

सबैभन्दा सामान्य संकेत भनेको शरीरका लिम्फ नोडहरूमा गाँठो देखिनु हो । घाँटी, काखी वा कम्मरको भागमा दुखाइ नभएको गाँठा देखिनु लिम्फोमाको प्रारम्भिक संकेत हुन सक्छ । यस्तो गाँठो प्रायः बिस्तारै ठूलो हुँदै जान सक्छ ।

यससँगै लगातार ज्वरो आउने, राति धेरै पसिना आउने र बिना कारण तौल घट्ने जस्ता लक्षण पनि देखिन सक्छन् । थकान, कमजोरी, शरीर चिलाउने वा भोक कम लाग्ने समस्या पनि देखिन सक्छ ।

यदि लिम्फोमा छातीको भागमा फैलिएको छ भने सास फेर्न गाह्रो हुने वा छातीमा दबाब महसुस हुने जस्ता समस्या पनि हुन सक्छन् । यी लक्षण अन्य सामान्य रोगमा पनि देखिन सक्छन् । त्यसैले, यस्तो लक्षण देखियो भने आफूखुसी निष्कर्ष निकाल्नु भन्दा चिकित्सकसँग परामर्श गर्नु राम्रो हुन्छ।

कति बेला चिकित्सकलाई देखाउने ? पहिचान कसरी हुन्छ ?

शरीरमा देखिने माथि उल्लेखित संकेतलाई सामान्य भनेर बेवास्ता गर्दा रोग ढिलो पत्ता लाग्ने जोखिम हुन सक्छ । त्यसैले, शरीरमा हुने असामान्य परिवर्तनलाई ध्यान दिनु महत्त्वपूर्ण हुन्छ ।

यदि घाँटी, काखी वा कम्मरको भागमा गाँठो देखियो र त्यो दुई–तीन हप्तासम्म पनि नघटेमा चिकित्सकलाई देखाउनु राम्रो हुन्छ । विशेषगरी गाँठो दुखाइ नभएको भए पनि त्यसलाई हल्का रूपमा लिनु हुँदैन ।

त्यस्तै लामो समयसम्म ज्वरो आइरहने, राति धेरै पसिना आउने वा बिना कारण तौल घट्ने समस्या देखिएमा पनि स्वास्थ्य जाँच गराउनु आवश्यक हुन्छ ।

अत्यधिक थकान, कमजोरी, लगातार खोकी वा सास फेर्न गाह्रो हुने समस्या पनि बेवास्ता गर्न नहुने संकेत हुन सक्छन् । चिकित्सकले आवश्यक ठानेमा रक्त परीक्षण, स्क्यान वा बायोप्सी जस्ता परीक्षण गरेर रोगको कारण पत्ता लगाउन सक्छन् ।

समयमै जाँच गर्दा रोग छिटो पत्ता लाग्ने सम्भावना बढ्छ, जसले उपचारलाई पनि सहज बनाउन सक्छ ।

उपचार कसरी हुन्छ ?

विशेषगरी रोग समयमै पत्ता लागेमा लिम्फोमा क्यान्सरको उपचार सम्भव छ, उपचारको प्रकार भने लिम्फोमाको प्रकार, रोग फैलिएको अवस्था र बिरामीको समग्र स्वास्थ्य अवस्थाका आधारमा तय गरिन्छ ।

सबैभन्दा सामान्य उपचार विधि किमोथेरापी हो । यसमा विशेष औषधिको प्रयोग गरेर क्यान्सर कोषहरूलाई नष्ट गर्ने प्रयास गरिन्छ । धेरै अवस्थामा किमोथेरापी नै मुख्य उपचारको रूपमा प्रयोग गरिन्छ ।

केही अवस्थामा रेडियोथेरापी पनि प्रयोग गरिन्छ । यसमा उच्च ऊर्जा विकिरण प्रयोग गरेर क्यान्सर कोषहरूलाई नष्ट गरिन्छ ।

पछिल्लो समय लक्षित औषधि उपचार र इम्युनोथेरापी जस्ता नयाँ विधिहरू पनि प्रयोगमा आउन थालेका छन् । यी उपचारले शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाएर क्यान्सर कोषसँग लड्न मद्दत गर्न सक्छ ।

कहिलेकाहीँ रोग जटिल अवस्थामा पुगेको भए बोन म्यारो वा स्टेम सेल प्रत्यारोपण पनि गर्न सकिन्छ ।

उपचारको परिणाम धेरै हदसम्म रोगको अवस्था र समयमै गरिएको पहिचानमा निर्भर हुन्छ । त्यसैले, सुरुवाती चरणमै जाँच र उपचार सुरु हुनु महत्वपूर्ण मानिन्छ ।

गाँठागुठी लिम्फोमा क्यान्सर
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग

रातको ३ बजे अचानक निद्रा किन खुल्छ ? यस्तो छ वैज्ञानिक कारण

रातको ३ बजे अचानक निद्रा किन खुल्छ ? यस्तो छ वैज्ञानिक कारण