News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले वैशाख १८ गतेदेखि अनाधिकृत घर टहरा भत्काउन बल्खु, वंशीघाट, स्वयम्भु लगायत क्षेत्रहरूमा डोजर चलाएको छ।
- जिल्ला प्रशासन कार्यालय काठमाडौंले नदी किनाराका बस्ती र अतिक्रमित जग्गामा मानवीय उद्धार गर्दै विपद जोखिमलाई मध्यनजर गरी एकैपटक बस्ती खाली गराउने सूचना जारी गरेको छ।
- सरकारले वैशाख १२ गतेदेखि थापाथली, गैरीगाउँ, सिनामंगल लगायत क्षेत्रमा डोजर चलाएको र बाँकी ठाउँमा पनि आजबाट डोजर लगाउन सुरु गरेको छ।
१८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ को बल्खु क्षेत्रमा अनाधिकृत रुपले बनाइएका घर टहरामा पनि डोजर चलेको छ ।
काठमाडौं महानगरपालिकाले आज बिहानदेखि डोजर लगाएर अनाधिकृत बस्ती हटाउन सुरु गरेको हो । घर टहरा भत्काउन सुरक्षाकर्मीहरु र नगरप्रहरी परिचालन गरिएको छ ।
डोजर चल्दै गर्दा कतिपयले आफ्ना सामान ओसारिरहेका छन् । कतिपय भने आफू बस्दै आएको घर भत्किरहेको दृष्य हेर्न विवश भएका छन् ।
बल्खु नजिक पर्ने काठमाडौं महानगरपालिका वडा नम्बर ११ को वंशीघाट क्षेत्रका घर टहराहरुमा पनि आज नै डोजर चलेको छ । बल्खु र वंशीघाटसहित वडा नम्बर १५ को स्वयम्भु, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्र अतिक्रमण गरिएका स्थानमा डोजर चलाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै विज्ञप्ति जारी गर्दै वैशाख १८ बिहान ७ बजेबाट एकैपटक बस्ती खाली गराउने काम सुरु हुने जनाएको थियो ।
काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरुका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनाधिकृत तबरबाट बर्षौदेखि बसाबास भै आएका बस्तीहरू मानवीय रुपमा उद्धार गर्न एवं विपदको जोखिम समेत मध्यनजर गरी एकैपटक विभिन्न स्थानहरुमा डोजर चलाउने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
सरकारले डोजर लगाउने भनेर माइकिङ गर्न थालेपछि कतिपय स्थानका बासिन्दाहरु विहीबारदेखि नै बस्ती छाडेर हिँड्न थालेका थिए ।
सरकारले यसअघि वैशाख १२ गतेबाट काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रका सुकुमवासी बस्तीमा डोजर चलाएको थियो । बाँकी ठाउँमा आजबाट डोजर लगाउन सुरु गरेको हो ।








प्रतिक्रिया 4