+
+
Shares

दाङमा पहिलोपटक मुटुको ‘एन्जियोप्लाष्टी’ सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते १२:५४

१८ वैशाख, दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजियोप्लाष्टी सेवा सुरू भएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाको नेतृत्वमा प्रतिष्ठानमा कार्यरत फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा. दिनेश उप्रेतिसहितको टोलीले शुक्रबार दुईजना बिरामीको एन्जियोप्लाष्टी गरेको छ ।

दाङ जिल्लामा पहिलो पटक यो सेवा सुरु भएको हो । यो सेवा सुरु भएसँगै हृदयाघात (हर्टअट्याक) का बिरामीहरुलाई जिल्लामै उपचार गर्न सकिने डा. देवकोटाले बताए । उनका अनुसार मुटुको रक्तनलीको उपचार दाङमा यसरी पहिलो पटक सुरु हुनु जिल्लाको स्वास्थ्य क्षेत्रका लागि एउटा उपलब्धि हो ।

आज शुक्रबार एन्जियोप्लाष्टी गरिएका बिरामीहरुको अवस्था सामान्य रहेको डा. उप्रेतिले बताए ।

प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिष्ट्रार प्रा. श्याम लम्सालका अनुसार यसअघि मुटुको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था थियो भने अब यो समस्या हटेको छ ।

उक्त उपचारका लागि क्याथेल्याबसहित १० करोड रुपैयाँ बराबरका सामग्री ल्याइएको छ ।

प्रतिष्ठानबाट केही दिनअघि एन्जोयोग्राफी सेवा दिइएको थियो, जुन निदानात्मक उपचार थियो । आज (शुक्रबार) एन्जियोप्लाष्टी सेवा सुरु गरिएको हो, जुन उपचारात्मक हो ।

दाङमै यो सेवा सुरु भएपछि जिल्ला बाहिरका विरामीलाई पनि सेवा दिन सहज हुने प्रतिष्ठानका निमित्त निर्देशक प्रा.डा. जनार्दन पन्थीले बताए ।

प्रतिष्ठानका निमित्त डिन प्रा.डा. रमेश कँडेलले विपन्न नागरिक औषधी उपचार कोषमा सूचिकृतका लागि निवेदन समेत पठाएकाले सूचिकृत हुने वित्तिकै विरामीलाई प्रतिष्ठानबाटै थप सहजता प्राप्त हुने छ । हाल मुटुको उपचारका लागि एक लाख भन्दा बढी खर्च लाग्ने गरेको छ ।

प्रतिष्ठानमा मुटुको इको समेतको सेवा यसअघि नै सुरु भइसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?