+

विश्व तरंगित हान्ता भाइरसबाट नेपाल कति जोखिममा ?

२०८३ वैशाख  २९ गते १२:१२ २०८३ वैशाख २९ गते १२:१२

धेरै सरुवा रोगको सुरुवाती लक्षणहरू एकअर्कासँग धेरै मिल्दोजुल्दो हुने हुँदा प्रयोगशाला परीक्षण संक्रमण छुट्याउन सहायक सिद्ध हुने गर्छ ।

Shares
विश्व तरंगित हान्ता भाइरसबाट नेपाल कति जोखिममा ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व स्वास्थ्य संगठनले मे ८ मा प्रकाशित विवरणअनुसार क्रूज जहाजमा देखिएको हान्ता भाइरसबाट ८ मध्ये ३ जनाको मृत्यु भइसकेको छ।
  • हान्ता भाइरस संक्रमित मुसाको दिसा, पिसाब वा र्‍यालबाट सर्ने भए पनि 'आन्दिज' प्रजाति मानिसबाट मानिसमा सर्न सक्ने पुष्टि भइसकेको छ।
  • नेपालमा हान्ता भाइरसको जोखिम छ तर प्रकोपको रूपमा पुष्टि नभए पनि नियमित परीक्षण र अनुसन्धान आवश्यक छ।

हालै एक क्रूज जहाजमा देखिएको हान्ता भाइरसले विश्व तरंगित भएको छ । विश्व स्वास्थ संगठनले केही दिन अगाडि ( मे ८ मा) प्रकाशन गरेको विवरणका अनुसार ८ मध्ये ३ जनाको मृत्यु भइसकेको छ ।

अर्थात् झन्डै ३८ प्रतिशत संक्रमितको मृत्यु भएको छ । यो मानिसबाट मानिसमा सर्नु अति नै दुर्लभ मानिन्छ तर हाल क्रूज जहाजमा एकै पटक दर्जनौं सिकिस्त हुँदा चिन्ता र चासोको विषय बन्न पुगेको छ ।

यो लेख लेख्दै गर्दा संक्रमणको मुख्य स्रोत थाहा हुन सकेको छैन । कुन अवस्थामा मानिसबाट मानिसमा फैलियो भन्ने जानकारी आउन बाँकी नै छ।

हान्ता भाइरस संक्रमित मुसाको दिसा, पिसाब वा र्‍यालको सम्पर्कमा आयो भने मानिसमा सर्न सक्दछ । संक्रमित मुसालाई रोगका लक्षण नदेखिए पनि त्यसले मानिसलाई सार्‍यो भने मानिसको मृत्यु समेत गराउन सक्छ ।

अमेरिकी महादेशमा देखिने हान्ता भाइरसको प्रजातिको मृत्युदर युरोप र एशियामा देखिने हान्ता भाइरसको भन्दा धेरै गुणा बढी अर्थात् झन्डै ५० प्रतिशतसम्म हुने गरेको देखिन्छ । हालै क्रूज जहाजमा करिब ३८ प्रतिशत मृत्युदर देखिएको छ । युरोप र एशियामा देखिने हान्ता भाइरसको मृत्युदर भने १५ प्रतिशतसम्म रहेको विश्व स्वास्थ संगठनले जनाएको छ ।

हान्ता भाइरस संक्रमित मुसाको दिसा, पिसाब वा र्‍यालबाट मात्र सर्ने भनिएता पनि ‘आन्दिज’ प्रजातिको हान्ता भाइरस भने मानिसबाट मानिसमा केही हदसम्म सर्न सक्दछ।

हाल क्रूज जहाजमा फैलिएको हान्ता भाइरसको प्रजाति पनि ‘आन्दिज’ भएको जीन सिक्वीसिङ परिक्षणबाट पुष्टि भइसकेको छ । हान्ता भाइरसलाई मुख्यतय: लक्षणको आधारमा दुई भागमा विभाजन गरिएको छ, जुन भौगोलिक अवस्थाअनुसार पनि फरक देखिन्छ ।

पहिलो, हान्ता पुल्मोनरी सिन्ड्रोम र दोश्रो भनेको हेमोरेजिक फिबर विथ रेनल सिन्ड्रोम हो ।

हान्ता पुल्मोनरी सिन्ड्रोम विशेषत अमेरिकी महादेशमा देखिने गर्दछ भने हेमोरेजिक फिबर विथ रेनल सिन्ड्रोम हान्ता भाइरस भने युरोप तथा एशियामा देखिने गर्दछ ।

हान्ता पुल्मोनरी सिन्ड्रोममा ज्वरो आउने, रिंगटा तथा चक्कर लाग्ने, मांसपेशी दुख्ने, पखाला लाग्ने, वाक-वाक वा बान्ता हुने, पेट दुख्ने, रक्तचाप घट्ने जस्ता लक्षणहरू देखिन्छन् । जटिल हुँदै गएमा खोकी लाग्ने, श्वास-प्रश्वासमा कठिन हुने, छाती कस्सिएको अनुभव हुने, निमोनिया हुने गर्दछ ।

यी लक्षणहरु संक्रमण भएको एक देखि ६ हप्ता सम्ममा देखिन सक्छ ।

हेमोरेजिक फिबर विथ रेनल सिन्ड्रोम हान्ता भाइरसमा जाडो हुने, पेट दुख्ने, टाउको दुख्ने, वाक-वाक लाग्ने, दृष्टि धमिलो हुने, आँखा रातो हुने, र पछि जटिल हुँदै जाँदा रक्तश्राव हुनुका साथै मिर्गौला फेल हुने जोखिम समेत हुन्छ ।

यी लक्षणहरू संक्रमण भएको एक देखि दुई हप्ता र कहिलेकाहीं ८ हप्तासम्म पनि देखिने गर्दछ । यो हान्ता भाइरस एशियामा विशेषत चीन, कोरिया, जापान, रशिया जस्ता देशहरूमा देखिने गरेको पाहिन्छ । छिमिकी देश भारतमा पनि हान्ता भाइरस देखिएको अनुसन्धान लेखमा प्रकाशित छ । तर यसले ठूलो प्रकोपको रूप लिएको जानकारी भने छैन।

के नेपालमा हान्ता भाइरसको जोखिम छ ?

हान्ता भाइरस मुसाको दिसा, पिसाब वा र्‍यालको सम्पर्क आउदा सर्ने गर्दछ । नेपालमा मुसा गाउ-शहर सबै तिर उल्लेख्य संख्यामा देखिन्छ ।

मुसाको टोकाइको उपचारका लागि टेकु अस्पताल आउनेको संख्या पनि धेरै छ । यस्ता समस्या हुने अधिकांश त अस्पताल नै आउँदैनन् । नेपालमा पनि मानिस र मुसाको सम्पर्क धेरै नै छ ।

नेपालमा वर्षेनी सयौं स्क्रब टाइफसका बिरामी देखिन्छ । स्क्रब टाइफस संक्रमणको मुख्य स्रोत पनि मुसामा हुने कीर्ना ‘माइट’ हो । यसले पनि नेपालमा मुसाबाट फैलिन सक्ने कुनैपनि संक्रमणको जोखिम उच्च छ भन्ने प्रष्ट देखिन्छ ।

यसमा हान्ता भाइरस अपवाद हुनै सक्दैन । सन् २०१७ मा एक पर्यटक नेपाल भ्रमणपछि आफ्नो देश फर्केलगत्तै बिरामी भएर आईसीयूमा भर्ना भएका थिए । ती व्यक्तिमा हान्ता भाइरस पत्ता लागेको भनेर अनुसन्धान लेख प्रकाशिन भएको थियो । यो सन् २०२० मा एक अमेरिकी मेडिकल जर्नलमा प्रकाशित भएको थियो।

यसले पनि हान्ता भाइरसको जोखिम नेपालमा छ भन्ने संकेत दिन्छ ।

तर भारतमा जस्तै नेपालमा पनि अहिलेसम्म प्रकोपको रुप लिएको पुष्टि भएको देखिँदैन । यो संक्रमण नियमित प्रयोगशाला परीक्षणमा समावेश नगरिने हुँदा हान्ता भाइरसको अवस्था नेपालमा कस्तो छ भन्नेमा अनविज्ञ छौँ ।

नेपालमा हान्ता भाइरस संक्रमित पर्यटकको रगत परीक्षणमा प्लेटेलेट्सको संख्या घटेको र कलेजोको इन्जाइम बढेको देखिन्छ, जुन नेपालमा पनि ज्वरोका बिरामीमा व्यापक देखिने गरेको लेखकको अनुभव छ।

तर सीमित संक्रमण निदानका परीक्षणका लागि पठाउने हुँदा हान्ता भाइरसको सम्भाव्यतालाई नजर अन्दाज गरेको देखिन्छ। नेपालमा अहिले पनि ठूलो संख्यामा ज्वरोका बिरामीको निदान नहुने हुँदा परीक्षणको दायरा बढाउनुपर्ने आवश्यकता देखिन्छ ।

कुनै नयाँ संक्रमण वा पहिलो पटक संक्रमण पुष्टि भइसकेको अवस्थामा सो संक्रमणको परीक्षणलाई पनि नियमित परीक्षण अन्तर्गत राख्नुपर्ने देखिन्छ । धेरै सरुवा रोगको सुरुवाती लक्षणहरू एकअर्कासँग धेरै मिल्दोजुल्दो हुने हुँदा प्रयोगशाला परीक्षण संक्रमण छुट्याउन सहायक सिद्ध हुने गर्छ । संक्रमण निदान भए मात्र उपचार, रोकथाम र परामर्श सही हुन सक्छ।

हाल विश्व स्वास्थ संगठनले यो भाइरसको थप फैलिन सक्ने जोखिम न्यून रहेको जनाएको छ । यद्यपि क्रूज जहाजमा एकै समयमा यति धेरै संक्रमित हुनु र समस्या जटिल भई उच्चमृत्युदर हुनुले यो भाइरसको संक्रामकता र घातकता बिगतको भन्दा बढेको अनुमानलाई नकार्न सकिँदैन ।

यो भाइरसको पुष्टि अनुसन्धानले गरिसकेको अनि भाइरसको स्रोत मानिने मुसासँगको बारम्बार सम्पर्कले भाइरसको जोखिमलाई नेपालले पूर्ण नजरअन्दाज भने गर्न मिल्दैन ।

नेपालमा हान्ता भाइरसको अनुसन्धानलाई प्राथमिकतामा राख्दै राष्ट्रिय निर्देशिका विकास गरेमा स्वास्थकर्मीलाई निदान, उपचार तथा रोकथामका लागि उपयोगी हुने थियो ।

हान्ता भाइरस
डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय