News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरको रानी नाकामा नेपाल प्रवेशका लागि परिचयपत्र अनिवार्य गरिएको छ र सुरक्षा कडाइ गरिएको छ।
- कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको बताए।
- प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले अवैध घुसपैठ र गैरकानुनी गतिविधि नियन्त्रणका लागि परिचयपत्र अनिवार्य गरिएको बताए।
२९ वैशाख, विराटनगर । स्थानीय प्रशासनले विराटनगरको रानी नाका हुँदै नेपाल प्रवेशमा कडाइ गरेको छ । भारतको पश्चिम बंगालमा सत्ता फेरिएलगतै जोगवनी हुँदै विराटनगर प्रवेश गर्ने रानी नाकामा कडाइ गरिएको हो ।
नाकामा नेपाल प्रवेशका लागि परिचयपत्र अनिवार्य गरिएको छ । पूर्वी नाका काकडभिट्टामा भने विगतदेखि परिचयत्र अनिवार्य थियो ।
भारतसँग सीमा जोडिएका सबै क्षेत्रमा सतर्कता बढाइएको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेले बताए । उनका अनुसार रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गर्न सक्ने आशंकामा सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो । ‘सीमा क्षेत्रमा रहेका सबै प्रहरी युनिटले सतर्कता बढाएका छन्,’ उनले भने,’ नेपाल प्रवेशका लागि परिचयपत्र अनिवाय छ ।’
भारतको पश्चिम बंगालमा ममता बनर्जीको १५ वर्षे शासन अन्त्य गर्दै भाजपाका शुभेन्दु अधिकारी मुख्यमन्त्री बनेका छन् । अधिकारी कट्टर हिन्दुवादी नेता हुन् । उनी मुख्यमन्त्री बनेपछि म्यानमारबाट बंगलादेश हुँदै पश्चिम बंगालमा शरण लिइरहेका रोहिंग्या शरणार्थीले शिविर छाड्न थालेपछि नेपाल प्रवेश गर्ने आशंकामा नाकामा कडाइ गरिएको हो ।
यसअघि प्रहरी प्रधान कार्यालयले भारतसँग सीमा जोडिएका सबै जिल्लामा सतर्कता अपनाउन सर्कुलर जारी गरेको थियो ।
नाकामा खटिएका सुरक्षाकर्मीले नेपाल आउनेलाई आउने कारण पनि सोधिरहेका छन् । नाकामा सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । सुरक्षा जाँचका लागि तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ ।
भारतको कोलकाताबाट हरेक तीन दिनमा जोगवनीसम्म रेल आउँछ । रेल र सडकको बाटो हुँदै पश्चिम बंगालमा रहेका रोहिंग्या नेपाल प्रवेश गर्ने आशंकामा नामा कडाइ गरिएको प्रहरीको भनाइ छ ।
दुई देशको सिमानामा हुने अवैध घुसपैठ र गैरकानुनी गतिविधि नियन्त्रण गर्न नेपाल प्रवेशका लागि परिचयपत्र अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।
‘सीमा सुरक्षाा हाम्रो नियमित ड्युटी हो, सीमा क्षेत्रमा हुनसक्ने अवान्छित गतिविधि र भारतीय बजारमा निर्भर हुने प्रवृतिलाई रोक्नका लागि कडाइ गरिएको हो,’ उनले भने,’ मामोरङ जिल्लाका सबै नाकामा परिचयपत्र अनिवार्य गरिएको छ ।’
प्रतिक्रिया 4