+
+
Shares

डीडीसी कर्मचारीले अब संस्थानबाट सित्तैँमा दूध-घिउ नपाउने, वार्षिक करिब ३ कराेड जोगिने

कर्मचारीको सुविधा कटौती गरेर जोगिने करिब ३ कराेड रुपैयाँ अब किसानहरूको बाँकी बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने डीडीसीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थानका कर्मचारीले सित्तैँमा दूध र घिउ उपभोग गर्ने सुविधामा रोक लगाउने निर्णय गरेको छ।
  • डीडीसी महाप्रबन्धक शरण पाण्डेले वार्षिक करिब ३ कराेड रुपैयाँ जोगिने बताए।
  • जोगिएको रकम किसानको बाँकी बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिमा खर्च गरिने डीडीसीले जनाएको छ।

२९ वैशाख, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीहरूले सित्तैँमा दूध र घिउ उपभोग गर्दै आएको सुविधामा रोक लगाउने निर्णय गरेको छ ।

संस्थान वर्षौंदेखि घाटामा रहेको र किसानले दूधको भुक्तानी नपाएर छटपटिएका बेला कर्मचारीले अनावश्यक सुविधा लिइरहेको पाइएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

डीडीसीका कर्मचारीहरूले नियम विपरीत दैनिक रूपमा दूध र मासिक रूपमा घिउ सित्तैँमा घर लैजाने गरेका थिए ।

डीडीसीका महाप्रबन्धक शरण पाण्डेले कर्मचारीको सुविधा कटौती गर्दा संस्थानकाे वार्षिक झन्डै ३ करोड रुपैयाँ जोगिने बताए ।

‘आर्थिक वर्ष २०८१/८२ को खर्च विवरण र अहिलेको बजार मूल्य अनुसार हिसाब गर्दा यो सुविधा रोक्दा मात्रै वार्षिक २ करोड ८५ लाख रुपैयाँ जोगिन्छ,’ उनले भने, ‘यदि दूध र घिउको मूल्य अझ बढ्यो भने यो बचतको रकम अझै धेरै हुने देखिन्छ।’

कृषिमन्त्री गिता चौधरीले संस्थान कर्मचारी पाल्नका लागि मात्र होइन, किसान र उपभोक्ताको सेवाका लागि भएकाे बताइन् । ‘अब यस्तो बेथिति चल्न दिइँदैन,’ उनले भनिन् ।

कर्मचारीको सुविधा कटौती गरेर जोगिने करिब ३ कराेड रुपैयाँ अब किसानहरूको बाँकी बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने डीडीसीले जनाएको छ ।

यो निर्णयसँगै डीडीसीभित्रको फजुल खर्च अन्त्य हुने र किसानको हितमा काम हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?