News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले त्रिविलाई २ अर्ब नोक्सानी गर्ने ४ सय प्राध्यापकलाई सरकारले कारबाही नगरेकोबारे जवाफ माग गरेकी छिन्।
- शिक्षामन्त्री सस्मित पोखरेलले अध्ययन बिदा लिएर भत्ता नफिर्ता गर्ने प्राध्यापकलाई कारबाही प्रक्रिया अगाडि बढाइएको र कतिपयले रकम फिर्ता गर्न सुरु गरेको जानकारी दिए।
- त्रिविले अध्ययन बिदा दुरुपयोग गरेको भन्दै छानबिन समिति बनाएको र हालसम्म १९ प्राध्यापकले ६ करोड रुपैयाँ फिर्ता गरेको छ।
२९ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले त्रिविलाई २ अर्ब नोक्सानी गर्ने ४ सय प्राध्यापकलाई सरकारले कारबाही गरे नगरेकोबारे जवाफ माग गरेकी छिन् ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले अध्ययन बिदामा विदेश गएका प्राध्यापक नफर्किदा त्रिविले आर्थिक क्षतिका साथै शैक्षिक समस्या र नैतिक नोक्सानी व्यहोरिरहेको बताएकी छिन् ।
‘त्रिविले प्राध्यापकलाई अध्ययन बिदा दिने गरेको छ । ४ सय प्राध्यापकले दुरुपयोग गरेको तथ्यांक आएको छ । पीएचडी गर्न जाने र विदेशमै बस्दा त्रिविलाई २ अर्ब नोक्सानी भएको छ । मन्त्रालयले के गरिरहेको छ ?,’ उनले शिक्षा मन्त्रालयलाई प्रश्न राखिन् ।
जवाफमा शिक्षामन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदा लिएर भत्ता बुझ्ने तर फिर्ता नगर्ने प्राध्यापकहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको र कतिपयले रकम फिर्ता गर्न सुरु गरिसकेको जानकारी दिए ।
अध्ययन बिदाको दुरुपयोग भएको समाचार सार्वजनिक भएपछि त्रिविले छानबिन समिति समेत बनाएको थियो ।
उक्त समितिले प्रतिवेदन त्रिविलाई बुझाएको छ । हाल दुरुपयोग गर्नेहरूले रकम पनि फिर्ता गरिरहेका छन् । १९ जना प्राध्यापकले फिर्ता गरेका छन् भने ५० जना भन्दा बढी फिर्ताको प्रक्रियामा आएका छन् ।
त्रिविका अनुसार हालसम्म ६ करोड रकम फिर्ता भएको छ ।
प्रतिक्रिया 4