+
+
Shares

कस्ता विषयमा गर्दैछन् सांसदले नियमापत्ति ?

मंगलबार दुई जना सांसदले नियमापत्ति उठाउनै पाएनन् । यससँगै कुनै सदस्य बोलिरहेका बेला मात्रै अर्को सदस्यले नियमापत्ति गर्न पाउने हो वा पछि पनि नियमापत्ति गर्न पाउने हो भन्ने प्रश्न उब्जिएको हो ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८३ वैशाख २९ गते २१:०३

२९ वैशाखकाठमाडौं । प्रतिनिधिसभा बैठकमा मंगलबार चार जना सांसदले नियमापत्ति गर्न खोजे । दुई जनाले समय पाए दुई जनाले पाएनन् ।

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बोलिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनाल नियमापत्ति भन्दै सिटबाट उठे । सभामुख डोलप्रसाद अर्याल (डीपी)ले बादलले बोलिसकेपछि नियमापत्तिको विषय राख्न भने । सोही अनुसार भयो ।

सांसद खनालले जनताबाट निर्वाचित सांसदहरूलाई ‘अराजकहरूको भिड’ भनेको र नेपाली सेनाबारे अनावश्यक टिप्पणी गरेको भनेर नियमापत्ति गर्दै संसदीय रेकर्डबाट हटाउन माग गरे ।

लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले समय मागिन् । सभामुखले समय दिए । ओलीले एमाले नेता बादलले सेनाबारे गरेको टिप्णीमा खेद प्रकट गरिन् । ओलीले पनि बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट मेटाउन माग गरिन् ।

तर, अर्का दुई सांसद नेपाली कम्युनिस्ट पार्टीका पार्वती बिक र रास्वपाका गणेश कार्कीले नियमापत्ति गर्न खोज्दा समय पाएनन् ।

नियमापत्ति जतिबेला पनि गर्न पाइने होइन,’ सभामुख अर्यालले सांसद बिकलाई भने, ‘यहाँलाई बोल्न मन लागेर बोल्न खोज्नुभएको हो भने विषयवस्तु फरक हो । तर नियमापत्ति गर्ने नियममा यहाँ आफैँ हिँडिदिनुपर्‍यो ।’

सांसद बिकले मानिनन् । सभामुखले थपे, ‘माननीय सदस्यले तत्कालीन समय जुन बेला नियमापत्ति गर्नुपर्ने हो त्यतिबेला गर्नुपर्‍यो । यहाँले नियमावली हेरिदिनुपर्‍यो ।’

बोलिरहेकै बेला नियमापत्ति गर्ने सबैलाई बोल्न समय दिएको सभामुखले स्मरण गराए । ‘अहिले यहाँले उठाइरहनुभएको विषय नियमावलीसँग मेल खाँदैन । बस्नुस्,’ सभामुखले भने । बिकले अझै मानिनन् ।

माननीय सदस्यलाई मैले संसद्को मर्यादा यो भन्दा बढी भन्न नपरोस्’ भनेर सभामुखले बस्न आग्रह गरेपछि सांसद बिक बसिन् ।

फेरि रास्वपा सांसद गणेश कार्की उठे । सभामुखले माइक दिए । ‘पूर्ववक्ता ज्ञानबहादुर शाहीले सम्बोधनका क्रममा …’ कार्कीले वाक्य टुंग्याउन नपाउँदै सभामुखले रोके ।

माननीय सदस्यले माननीय सदस्य ज्ञानबहादुर शाहीले बोलेको बेलामा नियमापत्ति गर्नुभएको थियो भने त्यतिबेला म समय दिने थिएँ । यहाँले यतिबेला नियमापत्ति गरिरहनुभएको छ कि ततपश्चात अर्को माननीय सदस्यले पनि बोलेर गइसक्नुभयो । त्यसकारण यसमा मर्यादामा रहिदिनुहोलाबसिदिनुस् ।’

सांसद कार्की ‘हस्’ भन्दै बसे ।

नियमापत्तिबारे नियमावलीमा के छ ?

मंगलबार प्रतिनिधिसभामा देखिएको यो दृश्यसँगै प्रश्न उब्जिएको छ- स‌ंसद्‌मा सांसदले नियमापत्ति गर्ने कतिबेला हो ?’ यस प्रश्नबारे प्रतिनिधिसभा नियमावलीमै प्रष्ट केही लेखिएको छैन ।

प्रतिनिधिसभा नियमावलीको नियम २६ मा नियमापत्तिसम्बन्धी व्यवस्था छ ।

जहाँ भनिएको छ, ‘बैठक समक्ष तत्काल विचाराधीन रहेको विषयमा कुनै सदस्यलाई नियमको कुनै व्यवस्था उल्लङ्घन भएको छ भन्ने लागेमा जुन नियम उल्लङ्घन भएको हो सो खुलाई नियमापत्ति उठाउन सकिनेछ ।’

नियमापत्ति उठाउन सांसदले सभामुखसँग समय माग गर्नुपर्छ । त्यस्तोबेला सभामुखबाट स्वीकृति सूचक अभिव्यक्ति वा इशारा पाएपछि बोलिरहेको सदस्यले बोल्न बन्द गर्नुपर्छ ।

अनि नियमापत्ति उठाउने सदस्य बोल्छन् ।

यसबारे नियमावलीको नियम २६ को उपनियम ३ मा भनिएको छ, ‘नियमापत्ति उठाउने सदस्यले सो को आधार स्पष्ट गरी नियमापत्ति सम्बन्धी कुरा मात्र बोल्न पाउनेछ र नियमापत्ति उठाइसकेपछि निजले आफ्नो स्थान ग्रहण गर्नु पर्नेछ ।’

बैठकमा उठाइएको नियमापत्तिको निर्णय सभामुखले गर्ने र सो निर्णय अन्तिम हुने व्यवस्था नियमावलीमा छ ।

तर, मंगलबार दुई जना सांसदले नियमापत्ति उठाउनै पाएनन् । यससँगै कुनै सदस्य बोलिरहेका बेला मात्रै अर्को सदस्यले नियमापत्ति गर्न पाउने हो वा पछि पनि नियमापत्ति गर्न पाउने हो भन्ने प्रश्न उब्जिएको हो ।

नियमापत्तिमा समय सीमा लाग्छ ?

संसद् सचिवालयका पूर्वसचिव सोमबहादुर थापाका अनुसार पहिले नियमापत्ति के हो यसबारे बुझ्न आवश्यक छ । उनका अनुसार कुनै कामप्रक्रिया वा अभिव्यक्ति संसद्को नियमावली विपरीत भयो भनेर सांसदले उठाउने आपत्ति नै नियमापत्ति हो ।

उदाहरणका लागि कुनै सांसदले विषयभन्दा बाहिर बोले भने सांसदले नियमावलीअनुसार विषयभन्दा बाहिर जान पाइँदैन् भनेर नियमापत्ति गर्न सक्दछन् । नियम मिचेर निर्णय गर्न खोजियो वा कार्यसूची विपरीत काम भयो भने पनि नियमापत्ति गर्न सकिन्छ ।

संसद् सञ्चालनका सन्दर्भमा नियमावलीमा व्यवस्था गरिएका छन् । सांसदले के गर्न हुने र  के नहुने  भनेर आचरणसम्बन्धी व्यवस्था निमायवलीमा छ । यसको उल्लंघन भयो भने पनि सांसदहरूले नियमापत्ति गर्न सक्दछन् ।

पूर्वसचिव थापालाई फेरि सोध्यौं- नियमापत्ति उठाउन बोलिरहेकै बेलामा मात्रै पाइने हो ?

थापाले जवाफ दिए, ‘सांसदहरू चनाखो भइराख्नुपर्छ । बोलिरहेकै बेला नियमापत्ति गर्ने विषय रह्यो भने नियमापत्ति उठाउँदा राम्रो । वक्ताले बोलिसकेपछि नियमापत्ति गर्दा पनि राम्रो । तथापिगम्भीर विषय छ भने जहिले पनि उठाउन पाइन्छ ।’

उनका अनुसार सम्बन्धित दिन मात्रै होइन त्यो भन्दा अगाडि संसद्मा व्यक्त कुनै धारणाउपर सांसदले जहिलेसुकै प्रश्न उठाउन पाउँछन् ।

हिजो आजको कुरा मात्र होइन । प्रतिनिधिसभाको अहिलेको कार्यकालको मात्रै कुरा होइन । विगतको कार्यकालमा व्यक्त भएका विचारमा समेत सांसदको प्रश्न वा नियमापत्ति हुन सक्दछ । यस्तोमा सरकारले जवाफ दिनुपर्छ । किनभने सरकार अविछिन्न उत्तरराधिकारी हो ।’

सांसदको हकमा पनि कुन दिन के विषय बोलेको हो  नियमावलीको कुन नियम विपरीत अभिव्यक्ति आएको हो ? त्यो खुलाएर अर्को दिन पनि संसद्मा नियमापत्ति हुन सक्ने उनको बुझाइ छ ।

उनका अनुसार ‘नियमापत्ति भनेकै एक किसिमको संसद्मा व्यक्त अभिव्यक्तिका सन्दर्भमा प्रश्न गर्ने प्रक्रिया हो । प्रश्न उद्देश्यमुलक हुनुपर्छ । संसदीय मर्यादा र अभ्याससँग सगति छ वा छैन भन्ने तर्कसंगत तथ्यमा हुनुपर्छ ।’

यी सारा विषय सांसदले नियमापत्ति  गरिसकेपछि थाहा लाग्ने भएकाले पहिले सभामुखले सुनेर निर्णय लिने अभ्यास उपयुक्त रहेको उनको सुझाव छ ।

‘मंगलबारको दृश्यका सन्दर्भमा सभामुखको बुझाइमा कमजोरी भयो भनेर टेकिन्कल्ली भन्न मिल्दैन । सभामुखलानई दोष देखाउन मिल्दैनसभामुखको आलोचना गर्न मिल्दैन । उहाँका धेरै सहयोगी पनि छन्’, उनी भन्छन्, ‘तथापिउहाँले बुझ्न जरुरी छ- कुनै सांसदले बोलेर गइसकेपछि र अर्को सांसदले बोलिसकेको भएपनि कसैले नियमापत्ति गर्दैछन् भने समय दिनुपर्छ ।’

पछि पनि किन समय दिनुपर्छ ?  पूर्वसचिव थापाको जवाफ छ, ‘संसदीय व्यवस्थामा संसद् भनेको छलफल गर्नेतर्क गर्ने र कुनै गलत कुरा भएको छ भने सच्याउने थलो हो । तार्किक प्रश्न नियमापत्तिमार्फत आउँछ । त्यस्ता प्रश्न र नियमापत्तिको उत्तर लिने हो ।’

के कस्ता विषयमा हुनसक्छ नियमापत्ति ?

प्रतिनिधिसभा नियमावलीको नियम २० मा प्रतिनिधिसभाको बैठकमा पालना गर्नुपर्ने नियम छ । ती नियमको उल्लंघन भएमा संसद्‌मा सांसदले नियमापत्ति उठाउन सक्दछन् ।

यस्ता छन् बैठकमा पालन गर्नु पर्ने नियमहरू :

सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने,

सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने,

सभामुखले बैठकप्रति सम्मान प्रकट गरी आफ्नो आसन ग्रहण गर्नुपर्ने,

बैठक स्थगित भई सभामुख बैठकबाट बाहिर निस्केपछि मात्र सदस्यले बैठक कक्ष छाड्नुपर्ने,

सभामुखले समय दिएपछि मात्र बोल्नुपर्नेबैठकमा भाग लिने सदस्यले बोल्दा सभामुखलाई सम्बोधन गरेर बोल्नुपर्ने र सभामुखले अन्यथा आदेश दिएमाबाहेक तोकिएको स्थानमा उभिएर बोल्नुपर्ने,

सभामुखले बैठकलाई सम्बोधन गरिरहेको समयमा कुनै पनि सदस्यले स्थान छाड्न नहुने र सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने,

सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने,

सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न र उभिन नहुने,

कुनै सदस्यले बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने,

बैठकको कार्यसँग प्रत्यक्ष रूपले सम्बन्धित विषय बाहेक अन्य विषयको पुस्तकसमाचारपत्र वा अन्य कागजपत्र पढ्न नहुने,

बैठक कक्षमा फोन मौन अवस्थामा राख्नुपर्नेफोनमा कुरा गर्न र रेकर्ड गर्न नहुने ।

निमायलीको नियम २१ मा छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियमहरू छन् । जसलाई छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्दछ ।

सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने,

सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने,

संविधानको धारा १०५ ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने,

अशिष्टअश्लीलअपमानजनकआपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्तिजातिधर्मभाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्नेगरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने,

बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरूपयोग गर्न नहुने ।

नियम २२ मा छलफलमा बोल्ने क्रमसम्बन्धी व्यवस्था छ । छलफलमा बोल्ने र उत्तर दिने क्रमको विषय यसमा छ ।

प्रस्ताव पेस गर्ने सदस्यले बोलिसकेपछि सभामुखले नाम बोलाएको वा इशारा गरेको क्रम बमोजिमको सदस्यले बोल्न पाउने,

यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक सभामुखको अनुमतिबिना कुनै सदस्यले एउटै प्रस्तावमा एक पटकभन्दा बढी बोल्न नपाउने,

प्रस्ताव पेस गर्ने सदस्यले उत्तर दिनको निमित्त छलफलको अन्त्यमा फेरि बोल्न पाउने,

प्रस्तावमा संशोधन पेस गर्ने सदस्यलाई सभामुखको अनुमतिबिना उत्तर दिने अधिकार नहुने ।

प्रतिनिधिसभा नियमावली अनुसार सांसदले बोलेको कुरा सभाको तत्काल विचाराधीन रहेको विषयसँग सम्बद्ध हुनु पर्दछ । कुनै सदस्यले असम्बद्ध कुरा बोलिरहेमा वा आफ्नो वा अरू कसैको तर्कलाई बारम्बार दोहोर्याइरहेमा सभामुखले निजको वक्तव्यप्रति बैठकको ध्यान आकर्षित गर्दै विषयकेन्द्रित भई भनाइ राख्न आग्रह गर्न सक्नेछन् ।

विषयकेन्द्रित भई भनाइ नराखेमा निजलाई सभामुखले बोल्न बन्द गर्न आदेश दिन सक्नेछन् । त्यस्तो आदेश हुनासाथ सम्बन्धित सदस्यले बोल्न बन्द गरी आफ्नो स्थान ग्रहण गर्नु पर्नेछ ।

छलफल चलिरहेको समयमा सम्बन्धित विषयमा कुनै सदस्यले आवश्यक सम्झेमा सभामुख मार्फत् स्पष्टीकरण माग गर्न पाउने व्यवस्था पनि छ । सभामुखको अनुमति लिई कुनै सदस्यले सदनको जानकारीको लागि आफूसँग सम्बन्धित विषयमा स्पष्टीकरण दिन सक्दछन् । तर त्यस्तो स्पष्टीकरण दिँदा कुनै विवादास्पद विषय उठाउन पाइने छैन ।

यस्ता विषयको पालना भए/ नभएको ख्याल गरेर संसद्‌मा सांसदहरूले प्रश्न र वा नियमापत्ति उठाउन सक्दछन् ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?