+

शिशुमा एसिड रिफ्लक्स भएको कसरी थाहा पाउने ? कारण र सामाधानका उपाय

२०८३ जेठ  १ गते ११:३३ २०८३ जेठ १ गते ११:३३
Shares
शिशुमा एसिड रिफ्लक्स भएको कसरी थाहा पाउने ? कारण र सामाधानका उपाय

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिशुहरूमा एसिड रिफ्लक्सले बारम्बार बान्ता, खोकी, दूध नपिउने र सास फेर्दा घरघराहट जस्ता लक्षण देखाउँछ, जसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।

शिशु रोइरहन्छ, दूध खान मानेको छैन, बारम्बार बान्ता गरिरहन्छ र सास फेर्दा पनि घरघराहट सुनिन्छ भने अभिभावकहरूलाई निकै चिन्ताको विषय हुने गर्छ ।

यी लक्षणहरू कहिलेकाहीँ एसिड रिफ्लक्सको संकेत हुन सक्छन्, जसलाई शिशु आफैंले भन्न सक्दैनन् ।

ठूला मानिसलाई त जलन भएको महसुस गर्न गाह्रो हुन्छ भने, सानो शिशुलाई कति पीडा होला ? जुन समस्या उनीहरूले व्यक्त गर्न पनि सक्दैनन् । शिशुहरूमा एसिड रिफ्लक्स ‘ग्यास्ट्रोइसोफेगल रिफ्लक्स’ सामान्य जस्तो देखिए पनि, यदि समयमा ध्यान नदिइएमा यसले बच्चाको स्वास्थ्य र विकासमा गम्भीर असर पार्न सक्छ।

शिशुहरूमा एसिड रिफ्लक्सका मुख्य लक्षण, कारण, निदान, उपचार र प्रभावकारी घरेलु उपायहरूबारे विस्तृतमा बुझौँ :

शिशुहरूमा हुने एसिड रिफ्लक्स के हो ?

ठूला मानिसमा हुने एसिड रिफ्लक्स होस् वा शिशुहरूमा हुने एसिड रिफ्लक्स, दुवैलाई ग्यास्ट्रोइसोफेगल रिफ्लक्स डिजिज भनिन्छ । बच्चाहरूमा एसिड रिफ्लक्स हुँदा पेटमा रहेको पदार्थ खाना नलीको सहायताले माथितर्फ आउन थाल्छ ।

यस्तो अवस्थामा पोल्ने, बान्ता हुने समस्याले पनि शिशुहरूलाई सताउन थाल्छ, जसलाई ग्यास्ट्रोइसोफेगल रिफ्लक्स डिजिज भनिन्छ । यसले शिशुको शारीरिक स्वास्थ्य बिगार्न सक्छ र अभिभावकको चिन्ता बढाउन पर्याप्त हुन्छ । तर यदि अभिभावकले लक्षणहरूमा ध्यान दिए भने, शिशुहरूमा एसिड रिफ्लक्स सजिलै बुझ्न सकिन्छ ।

शिशुहरूमा एसिड रिफ्लक्सका लक्षण के हुन् ?

-शिशुलाई बारम्बार खोकी लाग्नु

-खाना राम्रोसँग निल्न नसक्नु

-छाती पोल्नु

-खाना नलीमा पोल्नु

-बच्चा चिडचिडा हुनु

-बारम्बार बान्ता हुनु

-दूध नपिउनु

-सास फेर्दा घरघराहट सुन्निनु

-शिशुको तौल कम हुनु

-खानेपिउने समयमा बच्चाले ढाड मोड्नु

-शिशु अत्यधिक रुनु

यी लक्षणले शिशुमा एसिड रिफ्लक्सतर्फ संकेत गर्छन् । यदि शिशुमा यीमध्ये कुनै पनि समस्या छ भने बेवास्ता गर्नु हुँदैन र अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ । बच्चाहरूमा एसिड रिफ्लक्स हुने धेरै कारण पनि हुन सक्छन्, जसलाई जान्नु आवश्यक छ ।

शिशुहरूमा एसिड रिफ्लक्सका कारण के हुन्  ?

-बच्चाको तौल आवश्यकताभन्दा बढी हुनु

-शिशुलाई जन्मजात मुटु रोग हुनु

-पाचन प्रणालीसँग सम्बन्धित समस्या हुनु

-शिशुलाई जन्मजात डायाफ्रामसम्बन्धी समस्या हुनु

-बच्चा बढी सुत्नु वा बस्नु

-बच्चालाई अमिलो खाना खुवाउनु

-बच्चालाई धेरै तेलयुक्त खाना दिनु

-बच्चालाई क्याफिनयुक्त पेय पदार्थ धेरै दिनु

यी कारणले पनि बच्चाहरूमा एसिड रिफ्लक्स हुन सक्छ । तर यसको उपचार सम्भव छ । यदि लक्षण देखिएमा चिकित्सकले परीक्षण गर्न सल्लाह दिन्छन् र बच्चाको स्वास्थ्य अवस्थाअनुसार उपचार सुरु गर्छन् ।

शिशुहरूमा एसिड रिफ्लक्सको निदान कसरी गरिन्छ ?

बच्चाहरूमा ग्यास्ट्रोइसोफेगल रिफ्लक्स डिजिज फहिचान गर्न चिकित्सकले सबैभन्दा पहिले बच्चाको स्वास्थ्य अवस्था, मेडिकल इतिहास र लक्षणबारे अभिभावकसँग कुरा गर्छन् । यस क्रममा खानपान, सुत्ने तरिका र गतिविधिबारे जानकारी लिन्छन् र समस्या कम गर्ने सल्लाह दिन्छन् । आवश्यक परेमा यी परीक्षण गर्न सकिन्छ ।

अपर जीआई सिरिज

बच्चालाई केही खुवाइन्छ, जसमा तरल रूपमा बेरियम दिइन्छ । एक्स–रेको सहायताले त्यसलाई ट्र्याक गरिन्छ ।

इसोफेगल पीएच र इम्पिडेन्स मोनिटरिङ

पेटमा बन्ने एसिडको जाँच गरिन्छ । यसका लागि लचिलो ट्युब नाकबाट खाना नलीमा राखिन्छ ।

अपर ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपी र बायोप्सी

एन्डोस्कोपीको सहायताले गरिने परीक्षण हो । ट्युबको एक छेउमा टर्च र क्यामेरा हुन्छ, जसले खाना नली, पेट र सानो आन्द्राको अवस्था हेर्छ । आवश्यक परे बायोप्सी पनि गरिन्छ ।

 

शिशुहरूमा एसिड रिफ्लक्सको उपचार कसरी गरिन्छ ?

एच२ ब्लकर्स : पेटमा धेरै एसिड बन्न थालेमा दिइने औषधि ।

प्रोटोन पम्प इन्हिबिटर : पेटमा एसिड धेरै बन्ने अवस्थामा दिइने औषधि ।

यी औषधिबारे जानकारी बुझाउनका लागि मात्र दिइएको हो । आफ्नै इच्छाले शिशुलाई औषधि दिनु हुँदैन । यसले साइड इफेक्ट हुन सक्छ । डाक्टरले लेखिदिएअनुसार मात्र औषधि दिनुपर्छ ।

बच्चाहरूमा एसिड रिफ्लक्स नहोस् भनेर अपनाउन सकिने घरेलु उपाय

–दूध खुवापछि बच्चालाई सीधा उठाएर राख्नुपर्छ ।

–आवश्यकताभन्दा बढी स्तनपान वा फर्मुला फिडिङ गराउनु हुँदैन ।

–एकैचोटि धेरै दूध नदिई थोरै–थोरै समयमा दिनुपर्छ ।

–दूध खुवाउँदा बच्चाको टाउको शरीरभन्दा अलि माथि राख्नुपर्छ ।

–दूध खुवाएपछि डकार निकाल्ने प्रयास गर्नुपर्छ ।

यी उपायले बच्चालाई एसिडिटीबाट जोगाउन मद्दत गर्छन् ।

कुन–कुन खानेकुराले बच्चामा एसिड रिफ्लक्स गराउन सक्छ ?

-पुदिना, सस र टमाटर

-धेरै लसुन र प्याज

-पिरो र तेलयुक्त खाना

-क्याफिनयुक्त पेय वा खाना

-चकलेट

-धेरै अमिलो फलफूल

शिशुहरूमा एसिड रिफ्लक्स कम गर्न घरेलु उपायसँगै यी खानेकुरा पनि नदिनु राम्रो हुन्छ ।

डाक्टरसँग कहिले परामर्श गर्ने ?

-शिशुले बारम्बार बान्ता गरेमा

-बच्चा अत्यधिक रोएमा

बच्चाले खाना वा दूध नखाएमा

बच्चा धेरै चिडचिडा भएमा

बच्चाहरूमा एसिड रिफ्लक्सका कारण अन्य के समस्या हुन सक्छन् ?

-खाना नली सुन्निनु

-खाना नली साँघुरिनु

-निमोनिया वा फोक्सो संक्रमण

बच्चाहरूमा यदि ग्यास्ट्रोइसोफेगल रिफ्लक्स डिजिजको उपचार समयमा नगरेमा यी रोगको जोखिम बढ्न सक्छ ।

एसिड रिफ्लक्स बालबालिका
डा. बाबुराम पाण्डे
लेखक
डा. बाबुराम पाण्डे
बालरोग विशेषज्ञ

डा. पाण्डे हाल राप्ती एकेडेमी अफ हेल्थ साइन्सेसमा कार्यरत छन् । बालरोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२७७९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय