+
+
Shares

काठमाडौं बाल अस्पताल : अन्तर्राष्ट्रिय स्तरको सेवा, सरकारी सरह शुल्क

सरकारी सेवाबाट अवकाश पाएसँगै डा. भगवान कोइरालाले एउटा गोरेटो खने– बालबालिकाको सम्पूर्ण स्वास्थ्य सेवा एउटै छानामुनि उपलब्ध गराउने । अहिले गन्तव्यनजिक पुगेका छन् ।

पुष्पराज चौलागाईं शंकर गिरी पुष्पराज चौलागाईं, शंकर गिरी
२०८३ वैशाख ३० गते १६:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. भगवान कोइरालाले बालबालिकाको सम्पूर्ण स्वास्थ्य सेवा एउटै छानामुनि उपलब्ध गराउने लक्ष्यसहित काठमाडौं बाल अस्पताल स्थापना गरेका छन् ।
  • काठमाडौं बाल अस्पतालले सरकारी अस्पताल सरह सेवा शुल्क राख्दै विपन्न बालबालिकालाई निःशुल्क उपचार दिने नीति अपनाएको छ।
  • अस्पतालमा मुटुरोग, मिर्गौला, क्यान्सर लगायतका बालविशेषज्ञ सेवाहरू एकै ठाउँमा उपलब्ध छन् र सातै प्रदेशमा स्याटेलाइट सेन्टर स्थापना गर्ने योजना छ।

२९ वैशाख, काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले तीन दशक बढी समय बालबालिकाको मुटु उपचारमा बिताए । लाखौं मुटु छामे, हजारौं कलिला मुटु चिरे ।

धेरैजसो अवस्थामा ती अप्रेसन सफल हुन्थे, बच्चाहरू नयाँ जीवन लिएर अस्पतालबाट घर फर्किन्थे । आमाबाबुको मुहारमा खुसी देखिन्थ्यो, डाक्टरको मनमा सन्तोष हुन्थ्यो । उपचारको दौडमा उनले यस्ता पीडादायी क्षणको अनुभूति पनि गरे– मुटुको जटिल शल्यक्रिया गरेका बच्चाको सामान्य संक्रमणका कारण ज्यानै जान्थ्यो ।

शरीरमा केही समस्या देखिए दौडाएर अर्को अस्पताल लैजानुपर्ने बाध्यता थियो । पेटको समस्या, पिसाबको संक्रमण, मस्तिष्कसम्बन्धी समस्या वा अन्य साधारण जस्तो देखिने रोगको उपचार समयमै हुन नसक्दा अबोध बालबालिकाले प्राण त्याग गर्थे ।

कलिला बालबालिकाको मृत्युको कारण डाक्टरको असफलता मात्रै थिएन, प्रणालीगत कमजोरी पनि थियो । यही पीडाले डा. कोइरालाको मनमा एउटा गहिरो प्रश्न जन्मायो– यदि सबै सेवा एउटै ठाउँमा उपलब्ध हुन्थ्यो भने यी बच्चाहरू बच्न सक्दैनथे ?

समयसँगै त्यो प्रश्न संकल्पमा बदलियो । सरकारी सेवाबाट अवकाश पाएसँगै डा. कोइरालाले एक गोरेटो खने– बालबालिकाको सम्पूर्ण स्वास्थ्य सेवा एउटै छानामुनि उपलब्ध गराउने । मुटु, पेट, मिर्गौला, स्नायु, क्यान्सर वा अन्य जुनसुकै समस्या भए पनि बाल विशेषज्ञ टोलीले संयुक्त रूपमा उपचार गर्ने र कुनै पनि बालबालिका उपचार नपाएर मर्नुपर्ने अवस्था अन्त्य गर्ने ।

उपचारको पहुँच, विशेषज्ञ सेवाको अभाव र आर्थिक क्षमताको कमीका कारण बालबालिकाले ज्यान गुमाउनु पर्ने अवस्थालाई अन्त्य गर्ने डा. कोइरालाको संकल्पले अहिले विस्तारै आकार लिन थालेको छ ।

डा. कोइरालाको जीवनको आधा उकालोमा तय भएको सपनालाई मूर्त रूप दिन काठमाडौं इन्स्टिच्युट अफ चालइन्ड हेल्थ (किओच) अन्तर्गत काठमाडौं बाल अस्पताल सञ्चालनमा आएको छ ।

गैरनाफामूलक संस्थामार्फत ‘पब्लिक सर्भिस मोडल’ मा सञ्चालन गरिएको यस अस्पतालले संरचना, प्रविधि र सेवाको हिसाबले विशिष्टीकृत बालस्वास्थ्य सेवाको नयाँ अवधारणा लिएर आएको छ ।

१०० रुपैयाँमै विशेषज्ञ सेवा

नेपालमा सरकारी स्तरमा बालबालिकाको उपचारका लागि प्रमुख अस्पताल कान्ति बाल अस्पताल हो । त्यसबाहेक दुई–तीन वटा निजी अस्पताल र केही मेडिकल कलेजमा विभाग छन् ।

तर, सबै प्रकारका विशिष्टीकृत सेवा उपलब्ध छैनन् । विकसित देशमा युवा र बालबालिकाको लागि छुट्टै अस्पताल हुनुपर्ने मान्यता विकसित भइसकेको छ । नेपालको कूल जनसंख्यामा ४० प्रतिशत अर्थात् करिब १ करोड २० लाख जना १८ वर्षभन्दा मुनिका छन् ।

जन्मिएको पाँच वर्ष नपुग्दै उपचार अभावमा प्रतिहजार ३० जना शिशुको ज्यान जान्छ । ठिकसँग उपचार दिन सके अधिकांश बालबालिकालाई जोगाउन सकिन्छ ।

यही कमीलाई ध्यानमा राख्दै किओचका अध्यक्षसमेत रहेका डा. कोइरालाले ‘एक छानामुनि सम्पूर्ण बाल स्वास्थ्य सेवा’ दिने लक्ष्यसहित काठमाडौंमा केन्द्रीय अस्पताल र सातै प्रदेशमा स्याटेलाइट सेन्टर स्थापना गर्ने दीर्घकालीन योजना अघि सारे । भर्खरै सञ्चालनमा आएको काठमाडौं बाल अस्पताल यस योजनाको महत्वपूर्ण खुट्किलो हो ।

स्याटेलाइट सेन्टरको रूपमा कोशी प्रदेशको दमक नगरपालिकामा नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको भवनबाट ५० बेड सहितको सेवा तीन वर्षअघि नै सुरु भइसकेको छ ।

काठमाडौं बाल अस्पताल औपचारिक रूपमा उद्घाटन हुन बाँकी रहे पनि करिब तीन महिनादेखि आधारभूत सेवा सञ्चालनमा आइसकेको छ । बुढानीलकण्ठ नगरपालिका–७ मा ओपीडी, आकस्मिक सेवा तथा सर्जरी सेवा सुचारु छन् ।

अहिले एक भवनबाट सेवा सुरु भएको छ । थप दुई भवनको काम तीव्र रूपमा बढिरहेको छ ।अस्पतालको संरचना अत्याधुनिक छ । बालमैत्री हिसाबले भवनको निर्माण गरिएको छ । बालबालिकालाई खेल्ने सामग्री र मनोरञ्जनका लागि टिभी हेर्ने व्यवस्थासमेत गरिएको छ । विधागत ओपीडी कक्ष बाहिर पर्याप्त कुर्सीको व्यवस्था गरिएको छ ।

अस्पतालले सम्पूर्ण सेवा भने सरकारी सरह नै दिने कोसिस गरेको छ । विपन्न वर्गलार्ई निःशुल्क उपचार सेवा दिने अवधारणा अगाडि सारिएको छ ।

बाल मुटुरोग विशेषज्ञ डा. सौरभ श्रेष्ठका अनुसार ओपीडीको टिकट शुल्क सरकारी अस्पताल सरह मात्र १०० रुपैयाँ राखिएको छ । उक्त टिकटबाट आवश्यक परे विभिन्न विशेषज्ञ डाक्टरलाई देखाउन सकिन्छ । मुटु, मिर्गौला वा फोक्सोसम्बन्धी समस्या भए पनि पुनः नयाँ टिकट काट्नु पर्दैन ।

तेस्रो तलामा ओपीडी सेवा सुरु भएको छ । जहाँ जनरल विभागका छुट्टाछुट्टै कक्ष छन् । नेफ्रोलोजी, हेमाटो–अन्कोलोजी, अर्थोपेडिक्स, डेन्टल, बाल मनोचिकित्सा, कार्डियोलोजी तथा कार्डियाक सर्जरी जस्ता सेवाहरू उपलब्ध छन् । बालबालिकाको नियमित खोपको कक्ष छुट्टै बनाइएको छ ।

कार्डियोलोजी विभागमा इको, ईसीजी तथा मुटुको भिडियो परीक्षण गर्ने अत्याधुनिक उपकरणहरू राखिएका छन् । ओपीडीमा बालरोगसम्बन्धी विभिन्न विभाग क्रमशः विस्तार हुँदै छन् ।

‘नेपालमा उपलब्ध सबै बाल विशेषज्ञ सेवा यहीँबाट उपलब्ध गराउने लक्ष्य हो,’ श्रेष्ठ भन्छन्, ‘यहाँ आएका बिरामी उपचार नपाएर फर्किनु पर्दैन ।’  अस्पतालमा स्तनपान कक्ष पनि छुट्टै बनाइएको छ । उक्त कोठामा आमाहरूले गोपनीयता कायम गर्दै शिशुलाई स्तनपान गराउन सक्छन् । डाइपर फेर्ने लगायतका सुविधासमेत छ ।

अस्पतालमा आधुनिक प्याथोलोजी विभाग छ । विशेषगरी आनुवांशिक रोग र क्यान्सरसँग सम्बन्धित परीक्षण नेपालमै गर्ने योजना छ ।अस्पतालले हालै ‘न्युबोर्न स्क्रिनिङ’ सेवा पनि सुरु गरेको छ । जन्मेको ४८ देखि ७२ घण्टाभित्र गरिने उक्त परीक्षणले केही गम्भीर रोग प्रारम्भिक चरणमै पत्ता लगाउन मद्दत गर्छ ।

‘अत्याधुनिक उपकरण अस्पतालमा छन् । कुनै पनि परीक्षण गर्न भारत लगायतका देशमा जानुपर्ने छैन । सस्तो दरमा यहींबाट उपलब्ध गराउने छौं,’ डा. श्रेष्ठ भन्छन् ।

आकस्मिक कक्षमा क्याबिन

आकस्मिक कक्ष बाहिर बिरामीका आफन्तलाई बस्न छुट्टै कक्ष छ । आकस्मिक कक्षमा बालबालिका आएपछि दर्ता गरिन्छ । त्यसपछि आधुनिक ट्रायज प्रणालीमा आधारित उपचार सुरु हुन्छ । बिरामीको अवस्था अनुसार ‘रेड’, ‘येलो’ र ‘ग्रिन’ एरियामा पठाइन्छ ।

त्यसमध्ये कतिपय अति गम्भीर खालका बिरामी आउँछन् । उनीहरूलाई तत्काल नै ज्यान बचाउनका लागि सीपीआर लगायतका अन्य उपचार सुरु गर्नुपर्ने हुन्छ । त्यसको लागि छुट्टै भेन्टिलेटर सहितको चार बेड व्यवस्था गरिएको छ ।

कतिपयलाई आकस्मिक रूपमा शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । त्यसका लागि आकस्मिक कक्ष भित्र दुई वटा छुट्टै मोड्युलर अप्रेसन थियटर छन् । त्यसैगरी, चौथो तलामा चार वटा थप अत्याधुनिक अप्रेसन थियटर छन् ।

हेपा फिल्टर, सक्सन सिस्टम र उच्चस्तरीय संक्रमण नियन्त्रण प्रविधिसहितका अप्रेसन थियटरबाट सर्जरी प्रत्यक्ष भिडियोमार्फत शिक्षण प्रयोजनका लागि पनि हेर्न सकिने व्यवस्था गरिएको छ । आकस्मिक कक्षमा रेड, येलो र ग्रिन एरियामा २० बेड छन् । रोचक कुरा, अस्पतालले थप पैसा लिएर आकस्मिक कक्षमा तीन वटा क्याबिनको समेत व्यवस्था गरेको छ ।

त्यसैगरी, पाँचौ तलामा गम्भीर अवस्थामा रहेका शिशु तथा बालबालिकाको उपचारका लागि एनआईसीयू र पीआईसीयू कक्ष छन् । हालको योजनाअनुसार पीआईसीयूमा २५ बेड रहने छन् । संक्रमण रोकथामका लागि कडाइका साथ प्रोटोकल लागु गरिने छ । संक्रमित र अन्य बिरामीलाई छुट्टाछुट्टै राख्ने, भेन्टिलेटरमा रहेका बिरामीलाई एक–एक जना नर्सले निगरानी गर्ने व्यवस्था गर्ने डा. श्रेष्ठले बताए ।

छैटौं तलामा ३५ जनरल बेड छन् । सिंगल, डब्बल र स्विट गरी हालका लागि तीन बेडको क्याबिन छ । सातौं तलामा बैठक हल र प्रशासन शाखा राखिएको छ । संरचना आधुनिक भए पनि सेवा शुल्क सरकारी अस्पताल सरह राख्ने नीति अस्पतालले लिएको छ ।

ओपीडी टिकट १०० रुपैयाँ, आकस्मिक टिकट ५०० रुपैयाँ र सामान्य बेड शुल्क ३०० रुपैयाँ तोकिएको छ । आकस्मिक क्याबिनमा बस्न चाहेमा एक हजार शुल्क लाग्छ । प्रतिदिन एनआईसीयू ३ हजार र भेन्टिलेटरमा राखेको ६ हजार शुल्क तोकिएको छ ।

‘कसैले तिर्न नै सक्नुभएन भने सबै सेवा निःशुल्क नै हुन्छ,’ डा. श्रेष्ठ भन्छन्, ‘यस अस्पतालमा आएपछि पैसा नपाएर उपचार नपाउने भन्ने हुँदैन । जनरल बेड वा क्याबिनमा बसे पनि समान हिसाबकै सेवा हुन्छ ।’

हाल अस्पतालमा करिब डेढ सय स्वास्थ्यकर्मी कार्यरत छन्, जसमा करिब ३० जना बाल विशेषज्ञ डाक्टर छन् । सबै डाक्टर पूर्णकालीन रूपमा कार्यरत छन् ।

व्यक्तिगत अनुभवबाट जन्मिएको अभियान

बाल अस्पताल सातै प्रदेशमा बनाउने डा. कोइरालाको अभियान व्यक्तिगत अनुभव र पेसागत यात्राले तय गरेको थियो ।

बाल स्वास्थ्यमा काम गर्ने सपना सन् १९९३ देखिकै भएको भन्दै आफ्नो जीवनकालमा आधाभन्दा बढी मुटुको शल्यक्रिया बालबालिकाकै गरेको उनी बताउँछन् । उनले त्यस बेला अमेरिकामा चिल्ड्रेन हार्ट सर्जरी गर्ने मौका पाएका थिए । पछि टोरन्टोमा संसारका प्रमुख तीनमध्येको बच्चाको मुटुसम्बन्धी अस्पतालमा एक वर्ष फेलोसिप गरे । त्यस बेलादेखि नै उनले बाल स्वास्थ्यमा चासो राख्दै आएका थिए ।

अमेरिकामै अध्ययन र काम गर्ने क्रममा डा. कोइरालाले विकसित देशहरूमा बाल अस्पतालहरूको संरचना र सेवा प्रणाली नजिकबाट देखेका थिए ।

बालबालिकाका लागि छुट्टै अस्पताल हुन्छन्,  विभिन्न बाल विशेषज्ञहरू एउटै संस्थामा काम गर्छन् । यही प्रणालीले उपचारको गुणस्तरलाई निकै प्रभावकारी बनाएको उनले देखेका थिए ।

नेपाल फर्किएपछि उनले हजारौँ बालबालिकाको मुटु शल्यक्रिया गरे । तीमध्ये धेरै बालबालिका अहिले स्वस्थ भएर पढिरहेका छन्, काम गरिरहेका छन् र समाजमा योगदान दिइरहेका छन् ।

‘बालबालिकामा सानैमा लागेको रोग ठिक गरिदिँदा एक जीवन मात्रै बाँच्दैन,’ डा. कोइराला भन्छन्, ‘ती बच्चाले भविष्यमा ७०–८० वर्ष समाजलाई योगदान दिन्छन् ।’

उनका अनुसार बालबालिकामा गरिएको उपचार समाजको भविष्यमा गरिएको लगानी हो । बालबालिका लागि किन छुट्टै अस्पताल बनाउनुपर्‍यो भन्ने प्रश्नमा डा. कोइराला भन्छन्, ‘बालबालिको उपचार युवालाई गर्ने तरिकाले हुँदैन । युवाको उपचार गर्ने चिकित्सकले कतिपय प्राविधिक कुरा गर्न सक्लान् । तर समष्टिगत कुरामा बालबालिकाको केयर लागि ‘डेडिकेटेड’ टिम नै चाहिन्छ ।’

नेपालमा हरेक वर्ष करिब पाँचदेखि सात लाख बच्चा जन्मिने अनुमान छ । तीमध्ये करिब प्रतिवर्ष तीन प्रतिशत बच्चा जन्मजात कुनै समस्या लिएर जन्मिन्छन् । जसमा मुटुको रोग, अंगको विकृति, स्नायुसम्बन्धी समस्या लगायतका अवस्था समावेश हुन्छन् ।

त्यसबाहेक बालबालिकामा फोक्सोका रोग, दम, क्यान्सर, न्युरोडेभलपमेन्ट समस्या, अटिजम लगायतका जटिल स्वास्थ्य समस्याहरू पनि बढ्दै गएका छन् ।

‘पहिलेका दशकमा सरुवा रोग बालमृत्युको मुख्य कारण थिए,’ डा. कोइराला भन्छन्, ‘तर अहिले परिस्थितिमा परिवर्तन आएको छ । अब नसर्ने रोग र जटिल अवस्थाहरू पनि बढिरहेका छन् ।’ त्यसैले पहिले जस्तो प्राथमिक उपचार र रोकथाममा मात्रै केन्द्रित भएर अहिलेको चुनौती समाधान गर्न नसकिने उनको निष्कर्ष छ ।

एउटै छानामुनि सम्पूर्ण सेवा, विपन्नलाई निःशुल्क

काठमाडौँ बाल अस्पतालको मुख्य अवधारणा ‘एक छानामुनि सम्पूर्ण सेवा’ हो । अहिले अस्तपालमा बालरोगका विभिन्न विधामा डीएम गरेका विशेषज्ञ छन् । बाल मुटुरोग, बाल स्नायुरोग, बाल मिर्गौला रोग, बाल क्यान्सर, बाल सर्जरी, क्रिटिकल केयर लगायतका सेवा विस्तार भइसकेका छन् ।

जसले गर्दा बालबालिकाको उपचारमा विभिन्न क्षेत्रका चिकित्सकले संयुक्त रूपमा निर्णय लिन सक्ने वातावरण तयार गर्छ । डा. कोइरालाका अनुसार यही प्रणालीले उपचारको गुणस्तरलाई उल्लेखनीय सुधार गर्छ ।

‘एकै छानामुनि सबै उपचार दिँदा सेवा गुणस्तर बढी हुन्छ । धेरै बच्चालाई बचाउन सकिन्छ र समाजलाई योगदान दिन सक्ने बनाउन सकिन्छ,’ डा. कोइराला भन्छन्, ‘वैज्ञानिक हिसाब सही र अनुभतिको हिसाबले सबै सेवा एउटै ठाउँमा आवश्यक छ ।’

सर्वसुलभ सेवा दिने प्रतिबद्धता

बाल अस्पताल गैरनाफामूलक संस्थामार्फत सञ्चालनमा भइरहेको छ । अस्पतालको मुख्य उद्देश्य व्यापारिक नाफा कमाउनु होइन, सार्वजनिक सेवा प्रदान गर्नु हो ।

अस्पतालको सञ्चालक समिति स्वयंसेवी स्वरूपको छ । उनीहरूले कुनै पारिश्रमिक लिँदैनन् । अस्पतालमा कार्यरत कर्मचारी र चिकित्सकले मात्रै आफ्नो सेवाअनुसार तलब पाउँछन् । सेवा शुल्कको विषयमा पनि अस्पतालले सरकारी अस्पतालसँग मिल्दोजुल्दो दर कायम गर्ने नीति अपनाएको छ । सरकारद्वारा तोकिएका निःशुल्क सेवाहरू उपलब्ध छन् ।

डा. सौरभ श्रेष्ठ

त्यसबाहेक आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई आवश्यक उपचारबाट वञ्चित नगरिने प्रतिबद्धता पनि अस्पतालले गरेको छ ।

‘पैसा नभएर बच्चालाई फर्काउने हाम्रो नीति छैन,’ डा. कोइराला स्पष्ट पार्छन्, ‘गरिब बिरामीले खल्तीबाट पैसा तिर्नु नपरोस् वा अस्पतालबाट बिना उपचार फर्काउनु नपरोस् भन्ने संस्थाको वाचा हो ।’

सरकारी अस्पताल सरह शुल्क

हाल अस्पतालको पहिलो भवनबाट सेवा सुरु गरिएको छ । यही भवनमा १०० भन्दा बढी शय्याको क्षमता रहेको छ । प्रारम्भिक चरणमा करिब ५० शय्याको अनुमति लिएर सेवा सुरु गरिएको छ । अबको ९ महिना भित्रमा २०० बेडबाट सेवा दिने अस्पतालको लक्ष्य छ ।

किओचको काठमाडौँमा मात्र केन्द्रित भएर बस्ने योजना भने छैन । बालस्वास्थ्य सेवाको पहुँच देशभर पुर्‍याउने दीर्घकालीन लक्ष्यसहित संस्थाले चरणबद्ध विस्तारको रणनीति बनाएको छ ।

‘झट्ट हेर्दा काठमाडौं बाहिरबाट काम सुरु भएको भए आकर्षक पनि देखिन्थ्यो होला, ‘डा. कोइराला भन्छन्, ‘यस कार्यक्रमको जग बसाल्न र दक्ष जनशक्तिको विस्तार गर्न काठमाडौं नै उपयुक्त देखियो ।’

काठमाडौंमा बाल अस्पतालको आधारशीला बनेपछि आगामी चरणमा कर्णाली प्रदेशमा बनाउने योजना रहेको डा. भगवानले बताए ।

‘उपचार शुल्क तिर्न नसक्ने बिरामीलाई सेवा निःशुल्क दिने र तिर्न सक्नेसँग लिने हो । शुल्क तिर्दा पनि सरकारी अस्पतालभन्दा महँगो हुँदैन’, डा. कोइराला थप्छन्, ‘धेरैजसो बाल समस्या तल्लो स्तरमै हल गर्छौं । जटिल केसलाई काठमाडौं रेफर गर्ने अवधारणा हो ।’

काठमाडौँको बाल परियोजनाको भवन निर्माणका लागि मात्रै करिब १ अर्ब १९ करोड खर्च भएको अनुमान छ । उपकरण, पूर्वाधार र अन्य व्यवस्थापन जोड्दा यो परियोजनाको कूल लागत करिब २ अर्ब पुग्ने आकलन गरिएको छ । यो रकमको ठूलो हिस्सा नेपाल भित्रैबाट जुटाइएको हो । सामाजिक सहयोग, दातृ संस्था र विभिन्न क्षेत्रको समर्थनबाट पाइएको हो । अझै १५ प्रतिशत हाराहारीमा रकम जुट्न बाँकी छ ।

डा. कोइरालाका अनुसार बाल अस्पताल कुनै व्यक्तिको निजी सम्पत्ति बन्ने छैन । उनको विश्वास छ– समयसँगै अस्पताल नेपालको सार्वजनिक स्वास्थ्य प्रणालीको एउटा महत्वपूर्ण सम्पत्ति बन्नेछ ।

‘यो कुनै प्रतिस्पर्धा गर्न बनेको संस्था होइन,’ उनी भन्छन्, ‘सरकारी अस्पताललाई सहयोग गर्ने र बालस्वास्थ्य सेवाको स्तर उकास्ने उद्देश्य मात्रै हो ।’ डा. भगवानको प्रतिबद्धता छ– नेपालमा बालस्वास्थ्य सेवा कस्तो हुनुपर्छ भन्ने उदाहरणका रूपमा काठमाडौं बाल अस्पताललाई हेरिने छ ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?