News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल र श्रीलंकाबीच क्रस–बोर्डर मोबाइल भुक्तानी सेवा सुरु भएको छ जसले अन्तरदेशीय डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउनेछ।
- श्रीलंका भ्रमण गर्ने नेपालीले कनेक्ट आईपीएस वा अन्य मोबाइल बैंकिङ एपबाट ४ लाखभन्दा बढी लंका क्यूआर मर्चेन्टमा भुक्तानी गर्न सक्नेछन्।
- लक्ष्मी सनराइज बैंकले डलर कार्ड र कनेक्ट आईपीएस एपमार्फत यो सेवा सुरु गरेको छ र आगामी दिनमा अन्य एपमा पनि सुविधा थपिनेछ।
३० वैशाख, काठमाडौं । नेपाल र श्रीलंकाबीच क्रस–बोर्डर मोबाइल भुक्तानी सेवा सुरु भएको छ । अन्तरदेशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित गर्ने उद्देश्यले श्रीलंकाको लंकापे र नेपालको नेपाल क्लियरिङ हाउसले क्रस–बोर्डर क्यूआर भुक्तानीको थालनी गरेका हुन् ।
श्रीलंकाको कोलाम्बोमा आयोजित एक विशेष कार्यक्रममा क्रस–बोर्डर भुक्तानी सुरुवातको घोषणा गरिएको छ। उक्त व्यवस्थापछि श्रीलंका भ्रमण गर्ने नेपाली यात्रुले कनेक्ट आईपीएस वा अन्य मोबाइल बैंकिङ एप मार्फत श्रीलंकामा रहेका ४ लाखभन्दा बढी लंका क्यूआर मर्चेन्टमा स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन् ।
दक्षिण एसियाली देशबीचको डिजिटल भुक्तानीमा क्षेत्रीय अन्तरआबद्धताको लागि यो एक महत्त्वपूर्ण कोशेढुंगा हुने नेपाल क्लियरिङ हाउसले जनाएको छ । ‘यसले सुरक्षित, रियल टाइम तथा अन्तरआबद्ध माध्यमहरू प्रदान गर्दै दुई देशबीच भुक्तानी इकोसिस्टमलाई थप सुदृढ बनाउने छ’ जारी विज्ञप्तिमा भनिएको छ ।
हाल थालनी गरिएको यस क्रस बोर्डर भुक्तानीको व्यवस्थाले पर्यटक र व्यापारिक भ्रमणको अनुभवलाई सहज, सुरक्षित र नगदरहित भुक्तानीको विकल्प प्रदान गरेर थप सहयोग पुर्याउने क्लियरिङ हाउसको भनाइ छ ।
अब नेपाली प्रयोगकर्ताले नेपालका हाल सहभागी डिजिटल भुक्तानी एपमार्फत श्रीलंकामा लंका क्यूआर स्क्यान गरी रियल टाइम भुक्तानी गर्न सक्ने छन् । यस्ता भुक्तानी राष्ट्रियस्तरका सुरक्षित प्रणाली मार्फत हुने भएकाले सुरक्षितका साथै सहज हुने छ ।
यो सेवा प्रारम्भिक चरणमा लक्ष्मी सनराइज बैंकले सुरू गरेको छ, जस अनुसार लक्ष्मी सनराइज बैंकद्वारा जारी गरिएका डलर कार्ड तथा उपकरण कनेक्ट आईपीएस एपसँग लिंक गरी श्रीलंकामा क्यूआर भुक्तानी गर्न सकिनेछ । आगामी दिनमा अन्य मोबाइल बैंकिङ एपमा पनि यो सुविधा थप हुनेछ । जसले श्रीलंका यात्राका क्रममा आवश्यक भुक्तानीलाई सहजीकरण गर्ने छ ।
प्रतिक्रिया 4