News Summary
Generated by OK AI. Editorially reviewed.- इन्डियन प्रिमियर लिग २०२६ का ५७ खेल सकिएपछि १३ खेल बाँकी छन् र प्लेअफमा स्थान बनाउने टोली टुंगो लागेको छैन।
- मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स प्रतियोगिताबाट बाहिरिएका छन् भने बाँकी आठ टोली प्लेअफमा पुग्न प्रतिस्पर्धामा छन्।
- रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सले आफ्नो प्लेअफ सम्भावना बलियो बनाएका छन् र बाँकी खेल निर्णायक हुनेछन्।
३१ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का ५७ खेल सकिइसकेका छन् । अब लिग चरणमा १३ खेल मात्र बाँकी छन् । हालसम्म पनि प्लेअफमा स्थान बनाउने कुनै पनि टोलीको टुंगो लागेको छैन ।
दुई टोली मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स भने प्रतियोगिताबाट बाहिरिइसकेका छन् । बाँकी आठ टोली अन्तिम चारमा पुग्न कडा प्रतिस्पर्धामा छन् ।
पछिल्ला दुई खेलपछि साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्सले आफ्नो सम्भावना बलियो बनाएका छन् ।
पन्जाब किङ्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स पछिल्ला खेलमा लय धर्मराइरहेका छन् भने चेन्नई सुपर किङ्स उकालो लाग्दै छ ।
कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स दबाबमा छन् । अब हेरौं, कुन टोलीको सम्भावना कति छ ।
रोयल च्यालेन्जर्स बेंगलुरु (१६ अंक)
बाँकी खेल: पञ्जाब किङ्स (अवे), सनराइजर्स हैदराबाद (अवे)
डिफेन्डिङ च्याम्पियन आरसीबी अहिले शीर्षस्थानमा छ । बाँकी दुईमध्ये एक खेल जिते मात्र पनि आरसीबीको प्लेअफमा स्थान पक्का हुनेछ ।
यदि दुवै खेल हार्यो भने पनि अन्य नतिजा अनुकूल भए प्लेअफ पुग्न सक्छ, तर शीर्ष दुईमा रहने सम्भावना कमजोर हुनेछ ।
गुजरात टाइटन्स (१५ अंक)
बाँकी खेल: कोलकाता नाइट राइडर्स (अवे), चेन्नई सुपर किंग्स (होम)
लगातार पाँच जितसहित गुजरात उत्कृष्ट लयमा छ । बाँकी दुई खेल जिते शीर्ष दुईमा स्थान निश्चित हुनेछ । एक जितले पनि प्लेअफको सम्भावना लगभग सुनिश्चित गर्नेछ ।
सनराइजर्स हैदराबाद (१४ अंक)
बाँकी खेल: चेन्नई सुपर किंग्स (अवे), रोयल च्यालेन्जर्स बेंगलुरु (होम)
हैदराबादलाई अब दुई कठिन खेल खेल्न बाँकी छ । दुवै खेल जिते प्लेअफ मात्र होइन, शीर्ष दुईमा पुग्ने सम्भावना पनि बलियो हुनेछ । एक जितले पनि आशा जीवित राख्नेछ ।
पन्जाब किङ्स (१३ अंक)
बाँकी खेल: मुम्बई इन्डियन्स (होम), रोयल च्यालेन्जर्स बेंगलुरु (होम), लखनउ सुपर जायन्ट्स (अवे)
सिजनको सुरुवात राम्रो गरे पनि पञ्जाब लगातार चार हारपछि दबाबमा छ । तीनै खेल जिते १९ अंक पुगेर शीर्ष दुईमा स्थान पक्का हुनेछ । तर एक हारले समीकरण जटिल बन्न सक्छ ।
चेन्नई सुपर किंग्स (१२ अंक)
बाँकी खेल: लखनउ सुपर जायन्ट्स (अवे), सनराइजर्स हैदराबाद (होम), गुजरात टाइटन्स (अवे)
चेन्नई अहिले शीर्ष चारभन्दा बाहिर छ । बाँकी तीनै खेल जिते १८ अंक पुग्नेछ, तर त्यति हुँदा पनि प्लेअफ निश्चित हुने ग्यारेन्टी भने हुने छैन । अन्य टोलीको नतिजाले पनि ठूलो भूमिका खेल्नेछ ।
राजस्थान रोयल्स (११ अंक)
बाँकी खेल: दिल्ली क्यापिटल्स (अवे), लखनउ सुपर जायन्ट्स (होम), मुम्बई इन्डियन्स (अवे)
राजस्थान हाल शीर्ष चारमा छैन । राजस्थानले बाँकी तीन खेल तालिकाको तल्लो स्थानका टोलीसँग भएकाले अवसर राम्रो छ । तर सबै खेल जिते पनि अन्य नतिजाले असर पार्न सक्छ ।
दिल्ली क्यापिटल्स (१० अंक)
बाँकी खेल: राजस्थान रोयल्स (होम), कोलकाता नाइट राइडर्स (अवे)
दिल्लीका लागि अब प्रत्येक खेल ‘डु अर डाइ’ जस्तै बनेको छ । दुई खेल जिते १४ अंक पुग्नेछ, तर कमजोर नेट रनरेटका कारण अन्य टोलीको हारमा पनि निर्भर रहनुपर्नेछ ।
कोलकाता नाइट राइडर्स (९ अंक)
बाँकी खेल: गुजरात टाइटन्स (होम), मुम्बई इन्डियन्स (होम), दिल्ली क्यापिटल्स (होम)
आरसीबीसँगको हारपछि केकेआरको अवस्था कठिन बनेको छ। अब अधिकतम १५ अंक मात्र पुग्न सक्छ। प्लेअफ पुग्न तीनै खेल जित्नुपर्ने दबाब छ, त्यसपछि पनि अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ।
आईपीएलको लिग चरण अन्तिम मोडमा पुग्दा अब हरेक खेल प्लेअफको हिसाबले निर्णायक बनेको छ। अन्तिम केही दिनमा अंक तालिका धेरै पटक फेरिन सक्नेछ।
प्रतिक्रिया 4