+

गोरखाका दुई स्वास्थ्य केन्द्रमा प्रयोगशालाका लागि ८० लाखको सामग्री प्रदान

२०८३ वैशाख  ३१ गते ११:०३ २०८३ वैशाख ३१ गते ११:०३
गोरखाका दुई स्वास्थ्य केन्द्रमा प्रयोगशालाका लागि ८० लाखको सामग्री प्रदान

३१ वैशाख, काठमाडौं । गोरखाका दुई स्वास्थ्य केन्द्रमा सुविधासम्पन्न प्रयोगशालाका लागि आवश्यक सामाग्री प्राप्त भएको छ । सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेमकुमार खत्रीको पहलमा गोरखा नगरपालिका–२ को कोखेआहाले शहरी स्वास्थ्य केन्द्र र भिमसेन थापा गाउँपालिका–६ अश्राङ स्थित शहिदस्मृति आधारभूत अस्पतालमा प्रयोगशालाका लागि सामाग्री प्रदान गरिएको हो ।

दुई स्वास्थ्य केन्द्रमा गरी करिब ८० लाख रुपैयाँ बराबरका आधुनिक स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरिएको कार्यक्रम व्यवस्थापक उत्तम अधिकारीले जानकारी दिए । नागरिकलाई गाउँघरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सामाग्री उपलब्ध गराइएको उनले बताए ।

श्राङस्थित शहिदस्मृति आधारभूत अस्पताललाई अत्याधुनिक डिजिटल प्रविधिको एक्स–रे, भिडिओ एक्स–रे मेसिन, ईसीजी मेसिन र फ्रिज लगायतका सामग्रीहरू प्रदान गरिएको छ । यसैगरी, गोरखा नगरपालिका–२, ताप्लेस्थित कोखेआहाले शहरी स्वास्थ्य केन्द्रमा व्यवस्थित प्रयोगशाला स्थापनाका लागि आइएलआर मेसिन, यूएसजी मेसिन, इलेक्ट्रिक एनालाइजर र माइक्रोस्कोप लगायतका उपकरणहरू उपलब्ध गराइएको छ।

यी उपकरणसँगै अब त्यस क्षेत्रका बासिन्दाले सामान्य स्वास्थ्य परीक्षण र रिपोर्टका लागि सदरमुकाम वा चितवन–काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने विश्वास रहेको सम्भव नेपालका संस्थापक अध्यक्ष खत्रीले बताए ।

खत्रीले बुधबार सो सामाग्री स्थानीय तह र स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छन् । जसमा कोखेआहालेको कार्यक्रमा गोरखा नगरपालिका मेयर कृष्णबहादुर राना, उपमेयर सपना पुन, वडाध्यक्ष रहमतुल्ला मियाँ लगायतको सहभागिता रहेको थियो । त्यस्तै अश्राङमा भिमसेनथापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद वञ्जारा, उपाध्यक्ष अमृता वस्ती लगायतको उपस्थिती रहेको बताइएको छ ।

प्रयोगशाला स्थापनाका लागि उपकरण, औचारहरूको सदुपयोग गरी छिट्टै सेवा सञ्चालन गरिने पालिका प्रमुखहरूले प्रतिवद्धता जनाएका छन् । साथै उनीहरूले सम्भव नेपाललाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्य जारी राख्न आग्रह गरे ।

खत्रीकै पहलमा यसअघि गोरखाका ११ स्थानीय तहले १३ वटा एम्बुलेन्स प्राप्त गरेका थिए भने आरुघाट आधाभूत अस्पतालमा झण्डै डेढ करोड लगानीमा अत्याधुनिक प्रयोगशाला स्थापना भई सञ्चालन रहेको छ ।

गोरखा सामग्री
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय