News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा जडान गरिएको सीटी स्क्यान मेसिन जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको छैन।
- अस्पतालमा सीटी स्क्यान सेवा सञ्चालन गर्न रेडियोलोजिस्ट, रेडियो प्राविधिक र सहयोगी कर्मचारी आवश्यक पर्ने अस्पताल प्रशासनले जनाएको छ।
- अस्पताल प्रमुख डा. वर्षा प्रकाशले आवश्यक जनशक्ति व्यवस्थापनका लागि प्रदेश मन्त्रालयसँग समन्वय भइरहेको बताउनुभयो।
३१ वैशाख, सिरहा । सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा जडान गरिएको सीटी स्क्यान मेसिन जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको छैन ।
२१ वैशाखमा हतार–हतार सीटी स्क्यान सेवा उद्घाटन गरिएको थियो । तर मेसिन चलाउने दक्ष प्राविधिक नहुँदा सेवा पूर्ण रूपमा ठप्प छ । करोडौँ रुपैयाँ लागतमा जडान गरिएको सीटी स्क्यान मेसिन प्रयोगविहीन हुँदा बिरामीलाई मर्का परेको छ ।
तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रञ्जित झाले आफ्नो सरुवा हुनुअघि जनशक्ति व्यवस्थापन नै नगरी हतारमा सीटी स्क्यान सेवा उद्घाटन गरेको आरोप कर्मचारीहरूको छ । उद्घाटन भएको हप्तौँ बितिसक्दा पनि बिरामीले सेवा पाउन नसकेपछि अस्पताल प्रशासनमाथि प्रश्न उठ्न थालेको छ ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताले मेसिन भएर पनि सेवा दिन नसक्नु दुःखद भएको बताए । उनले भने, ‘पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको यस प्रादेशिक अस्पतालमा बिरामीको चाप अत्यधिक छ ।
सर्वसाधारणलाई सस्तो र सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउन ठूलो प्रयासपछि मेसिन ल्याइयो । तर सञ्चालन गर्ने प्राविधिक नहुँदा अहिले अप्ठ्यारो स्थिति बनेको छ ।’
अस्पताल प्रशासनका अनुसार सीटी स्क्यान सेवा सञ्चालन गर्न कम्तीमा एक जना रेडियोलोजिस्ट, एक जना रेडियो प्राविधिक र एक जना सहयोगी कर्मचारी आवश्यक पर्छ ।
हालै कार्यभार सम्हालेकी अस्पताल प्रमुख (मेसु) डा. वर्षा प्रकाशले आवश्यक जनशक्ति व्यवस्थापनका लागि प्रदेश मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिइन् ।

उनका अनुसार मधेश प्रदेशभर नै दक्ष रेडियोलोजिस्टको अभाव रहेकाले तत्काल कर्मचारी उपलब्ध हुने निश्चित छैन । ‘हामीले मन्त्रालयसँग निरन्तर ताकेता गरिरहेका छौँ । तर प्रदेशमै विशेषज्ञ जनशक्ति अभाव भएकाले कहिलेसम्म कर्मचारी पठाइन्छ भन्ने टुंगो छैन,’ उनले भनिन् ।
मन्त्रालयबाट जनशक्ति पठाउने अनिश्चित बन्दै जाँदा सेवा कहिलेदेखि सञ्चालनमा आउँछ भन्नेमा अस्पताल प्रशासन आफैँ अन्योलमा परेको छ ।
मधेश प्रदेशमा कर्मचारी समायोजनमार्फत वरिष्ठ रेडियोलोजिस्ट डा. बृजेन्द्रकुमार साहलाई यो अस्पतालमा आएका थिए । उनी लहानकै स्थानीयसमेत हुन् । यसअघि निमित्त मेसुका रूपमा कार्यरत रहेका साहलाई गत माघ २ गते प्रदेश मन्त्रालयले डा सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालमा सरुवा गर्यो ।
आफ्नो विशेषज्ञता अनुसारको जिम्मेवारी नपाएको भन्दै उनी हाल घर बिदामा बसेको स्रोत बताउँछ । यता, अस्पतालमा भने विशेषज्ञ अभावकै कारण सीटी स्क्यान सेवा सुरु हुन सकेको छैन ।
तत्कालीन मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहको कार्यकालमा आर्थिक वर्ष २०८१/८२ मा करिब १२ करोड रुपैयाँ लागतमा दुई वटा सिटी स्क्यान मेसिन खरिद गरिएको थियो । तीमध्ये एउटा जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र अर्को लहान अस्पतालमा जडान गरिएको तत्कालीन प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक डा. सुनिलप्रसाद कुशवाहाले जानकारी दिए ।
लामो प्रयास र ठूलो लगानीपछि ल्याइएको मेसिन जनशक्ति व्यवस्थापनमा देखिएको कमजोरीका कारण प्रयोगविहीन भएको हो । राजमार्ग क्षेत्रमा हुने दुर्घटना तथा जटिल रोगका बिरामी अहिले पनि महँगो शुल्क तिरेर निजी अस्पताल वा विराटनगर तथा काठमाडौं धाउन बाध्य छन् ।
प्रतिक्रिया 4