News Summary
Generated by OK AI. Editorially reviewed.- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले २०८१ असारमा ९ लाख ५० हजारमा खरिद गरेको घुम्ती शौचालय दुई वर्षदेखि प्रयोगविहीन अवस्थामा छ।
- नगर प्रमुख जनचन्द्र रोकायले उपयुक्त ठाउँ नपाएर शौचालय पालिकामा थन्किएको र अब बजार क्षेत्रमा राख्ने तयारी भइरहेको बताए।
- अख्तियारले लामो समय सञ्चालनमा नआएपछि अनुसन्धान गरिरहेको र प्रमुख प्रशासकीय अधिकृत राजु कुँवरले अब सञ्चालनमा ल्याउने तयारीमा रहेको जानकारी दिए।
३१ वैशाख, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले खरिद गरेर ल्याएको घुम्ती शौचालय लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ ।
नगरपालिकाले गत २०८१ असार अन्तिममा ९ लाख ५० हजार लागतमा ल्याएको घुम्ती शौचालय झन्डै दुई वर्षदेखि त्यत्तिकै थन्किएको हो ।
पालिकाको मुकामसमेत रहेको त्रिपुराकोट बगर बजार जिल्लाको सदरमुकाम दुनैपछिको प्रमुख बजार क्षेत्र हो । यहाँ दैनिक ठूलो संख्यामा मानिस तथा सवारी आवतजावत हुने गरेको छ ।
भेरी करिडोर सडक खण्ड भित्र उक्त बजार क्षेत्र हुँदै सवारी आवतजावतको मुख्य केन्द्रसमेत रहेको प्रमुख बजार क्षेत्रमा नै सार्वजनिक शौचालय नहुँदा समस्या हुने गरेको मजबुत यातायात प्रालिका इन्चार्ज रवीन्द्र सार्कीले बताए ।
‘मुख्य बजार क्षेत्रमा सार्वजनिक शौचालय छैन । स्थानीय पालिकाले घुम्ती सौचालय खरिद गरेको भन्ने सुनेको थिएँ,’ उनले भने, ‘पालिकाले लाखौं रुपैयाँ खरिद गरेर ल्याएको शौचालय यहीं राखेको भए यात्रुदेखि बजारमा आउने धेरैलाई सहज हुने थियो ।’
घुम्ती शौचालय प्रयोगको विषयमा त्रिपुरासुन्दरीका नगर प्रमुख जनचन्द्र रोकायले सम्भावित ठाउँ हेरेर प्रयोगमा ल्याउने तयारी गरिरहेको बताए । ‘खरिद गरेर त ल्यायौं तर राख्ने उपयुक्त ठाउँ नपाएर पालिकामै राख्नु परेको हो,’ उनले भने, ‘थन्किएको वर्षौं । भयो अब भने मुकामकै बजार क्षेत्रको प्रमुख ठाउँमा राख्ने तयारीमा छौं ।’
घुम्ती शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले ठाउँ नपाउँदा पालिकाको मुख्य प्रवेशद्वारमै थन्किएको उनको भनाइ छ ।
खरिद गरेको वर्षौं हुँदासम्म सञ्चालनमा नआएपछि अख्तियारले समेत अनुसन्धान गरिरहेको त्रिपुरासुन्दरीका प्रमुख प्रशासकीय अधिकृत राजु कुँवरले जानकारी दिए ।
‘म भर्खर मात्रै पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आएँ । केही वर्ष अगाडि मात्रै खरिद भएको रहेछ,’ उनले भने, ‘धेरै समयसम्म सञ्चालनमा नआएपछि अख्तियारले समेत छानबिन गरिरहेको रहेछ । अब भने सञ्चालनमा ल्याउने तयारीमा छौं ।’
लामो समयसम्म प्रयोगविहीन अवस्थामा घुम्ती शौचालय थन्किएपछि त्रिपुरासुन्दरीका स्थानीयले प्रयोगमा नल्याउने भए किन खरिद गरेको भन्दै प्रश्नसमेत उठाउन थालेका छन् ।
प्रतिक्रिया 4