News Summary
Generated by OK AI. Editorially reviewed.- संस्कृति, प्रकृति र समुदायसँग सहकार्यलाई प्राथमिकतामा राख्दै नेपाललाई विश्वस्तरीय वेलनेस पर्यटन गन्तव्य बनाउन जोड दिइएको छ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सरकारले वेलनेस पर्यटन रणनीति कार्यान्वयन गरिरहेको बताए।
- हङकङ पोलिटेक्निक विश्वविद्यालयका प्रा. डा. डेनिज क्युचकुस्ताले नेपाल वेलनेस पर्यटनमा नेतृत्व गर्न प्राकृतिक रूपमा सक्षम रहेको बताइन्।
३१ वैशाख, काठमाडौं । नेपाललाई विश्वस्तरीय ‘वेलनेस पर्यटन’ गन्तव्यका रूपमा स्थापित गर्न मौलिकता, संस्कृति, प्रकृति र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।
नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित ‘वेलनेस पर्यटन’ विषयक अन्तर्क्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सरकारले वेलनेस पर्यटन रणनीति कार्यान्वयन गरिरहेको बताए ।
उनले २०२७ लाई वेलनेस पर्यटन वर्षका रूपमा घोषणा गरिसकिएको उल्लेख गर्दै त्यसको पूर्वसन्ध्यामा भएको यस अन्तर्क्रियाले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
‘आजको प्रस्तुति र अन्तर्क्रियाबाट प्राप्त हुने मूल्यवान सुझावहरूले आगामी योजना निर्माणमा सहयोग पुर्याउने विश्वास लिएको छु,’ उनले भने ।
त्यसैगरी पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले नेपाल विश्वव्यापी वेलनेस यात्राका लागि प्राकृतिक रूपमा अनुपम गन्तव्य भएको बताए ।
उनले वेलनेस केवल सेवा नभई जीवनशैली भएको उल्लेख गर्दै नेपाली संस्कृति, परम्परा र प्राकृतिक वातावरणले विश्वलाई प्रेरित गर्ने बताए ।
‘नेपालले प्रकृति, संस्कृति र साहसिक अनुभव मार्फत विश्वलाई प्रेरणा दिन सक्छ, नेपालको संस्कृति र प्रकृति नै आरोग्य पर्यटनका लागि उत्कृष्ट स्रोतहरू हुन्,’ उनले भने ।
कार्यक्रमका मुख्य वक्ता हङकङ पोलिटेक्निक विश्वविद्यालय अन्तर्गतको स्कुल अफ होटल एन्ड टुरिज्म म्यानेजमेन्टका सहायक डिन प्रा. डा. डेनिज क्युचकुस्ताले ‘नेपाल : सेक्रेड ल्यान्ड टु वेलनेस डेस्टिनेसन’ विषयमा प्रस्तुति दिइन् ।
उनले विश्वभरिका पर्यटक अहिले उपचार, आत्मिक सन्तुलन र अर्थपूर्ण अनुभव खोजीमा यात्रा गरिरहेको उल्लेख गर्दै नेपाल वेलनेस पर्यटनको नेतृत्व गर्न प्राकृतिक रूपमा सक्षम रहेको बताइन् ।
प्रा. डा. डेनिजले वेलनेस पर्यटनका प्रमुख विश्वव्यापी प्रवृत्तिमा आध्यात्मिक तथा रूपान्तरणकारी यात्रा, प्रकृतिमा आधारित वेलनेस, फरेस्ट थेरापी र डिजिटल डिटक्स रहेको उल्लेख गरिन् ।
‘नेपालले वेलनेस आविष्कार गर्न आवश्यक छैन, यसलाई व्यवस्थित मात्र गर्नुपर्ने छ,’ उनले भनिन् । उनले वेलनेस पर्यटनमा नेपालको मौलिकता जोगाउनु अत्यन्त आवश्यक रहेको र स्थानीय समुदायसँगको सहकार्यले मात्र दिगो विकास सम्भव हुने धारणा व्यक्त गरिन् ।
त्यसैगरी योग गुरु डा. प्रकाश आचार्यले योग र प्राणायामको महत्त्वबारे चर्चा गर्दै आधुनिक जीवनशैलीका कारण मौलिक योग अभ्यास हराउँदै गएको स्मरण गराए ।
‘योग केवल व्यायाम होइन, समग्र जीवनशैली हो,’ उनले भने । उनले स्वस्थ जीवनका लागि नियमित प्राणायाम अभ्यास आवश्यक रहेकोमा जोड दिए ।
वेलनेस अभियन्ता प्रेणा शाहले वेलनेस अहिले विश्वकै सबैभन्दा ठूलो उद्योगमध्ये एक बनिरहेको बताइन् । उनले नेपाललाई केवल ट्रेकिङ गन्तव्यका रूपमा मात्र नभई वेलनेस गन्तव्यका रूपमा पनि विश्वसामु प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
त्यसैगरी बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले नेपाल सरकारले प्राथमिकतामा राखेको र अहिलेको अशान्त विश्वले शान्ति र आरोग्य खोजिरहेको समयमा नेपाल वेलनेस पर्यटनका लागि उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गराउन बोर्ड सक्रिय रहेको उल्लेख गरे ।
कार्यक्रममा पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन महाशाखा प्रमुख सहसचिव इन्दु घिमिरे, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने सहित पर्यटन व्यवसायी, योग तथा वेलनेस विज्ञ, बोर्डका पदाधिकारी तथा सरोकारवालाको सहभागिता थियो ।
प्रतिक्रिया 4