१ जेठ, सप्तरी । सप्तरीमा ट्राफिक प्रहरीको निगरानी फितलो हुँदा सडकमै जथाभावी सवारी साधन पार्किङ गर्ने प्रवृत्ति बढेको छ । जसले सडक क्षेत्रको सवारी अस्तव्यस्त हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको छ ।
हुलाकी राजमार्गअन्तर्गत राजविराजदेखि बलान नदीसम्मको करिब ४५ किलोमिटर सडक खण्डमा एक दर्जनभन्दा बढी चोक–बजार पर्छन् । ती अधिकांश बजार क्षेत्रमा सवारीसाधन राजमार्गमै पार्किङ हुने गरेको छ ।
कतिपय स्थानमा सडकको दायाँ–बायाँ नै गाडी पार्किङ हुनेगरेकाले पैदल यात्रुलाई समेत कठिनाइ हुने गरेको स्थानीयवासी बताउँछन् ।
सदरमुकाम राजविराजको ट्राफिक व्यवस्तापनको अवस्था झन् अस्तव्यस्त छ । यहाँ निर्माण सम्पन्न भएको बसपार्क सञ्चालनमा नल्याएर सडकमै पार्किङ गराउने गरिएको छ ।
राजविराज नगरपालिका–२ मा बसपार्क २०८२ जेठ १५ गते नेपाल सरकारको सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीमार्फत १५ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको थियो । बसपार्क सोही बेला तामझामका साथ उद्घाटन गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । तर, सो बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन ।
स्थानीयवासीका अनुसार बसपार्क सञ्चालनमा नआउँदा बजार क्षेत्रमा जथाभावी पार्किङ बढेको छ । यसले दुर्घटनाको जोखिम बढाउनुका साथै बजारको सौन्दर्यसमेत बिग्रिएको छ ।
स्थानीय व्यवसायी दिनेश यादव सडकमा अव्यवस्थित राखिएका सवारीसाधन र तीव्र गतिमा गुड्ने मोटरसाइकलका कारण जुनसुकै बेला दुर्घटना हुन सक्ने त्रास रहेको बताउँछन् । उनले नगरपालिकाले प्रभावकारी यातायात व्यवस्थापनमा चासो नदिएको आरोप लगाए ।
हुलाकी सडक खण्डअन्तर्गत रहेका खुरुहरीया, मलेकपुर, पथरगडा, अर्नाहा, बनौली, बोदेबरसाइन, कुसमहार र चन्हीलगायतका बजार क्षेत्रमा सडकमै सवारी साधन पार्किङ हुन्छन् । स्थानीयका अनुसार यसले दैनिक रूपमा दुर्घटनाको जोखिम निम्त्याइरहेको छ ।
सडक अतिक्रमण र अव्यवस्थित पार्किङ नियन्त्रणमा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी र सडक डिभिजन कार्यालयले कसैले पनि ध्यान नदिएको स्थानीयको गुनासो छ ।
प्रतिक्रिया 4