वैज्ञानिकहरूले मानिसको आन्द्रामा पाइने सूक्ष्म कणहरूले बढ्दो उमेरसँगै शरीरमा इन्फ्लामेसन र विभिन्न दीर्घकालीन रोगहरू निम्त्याउन सक्रिय भूमिका खेल्ने नयाँ तथ्य पत्ता लगाएका छन् । ‘मार्सल युनिभर्सिटी जोन सी. एड्वर्ड्स स्कुल अफ मेडिसिन’ मा गरिएको अध्ययनले मानिसको पाचन स्वास्थ्य, मेटाबोलिजम, रोग प्रतिरोधात्मक क्षमता र बढ्दो उमेरबीचको सम्बन्धलाई थप प्रष्ट पारेको छ ।
अनुसन्धानमा आन्द्राभित्र पाइने ‘ल्युमिनल एक्जोसोम्स’ भनिने सूक्ष्म कणहरू थिए । यी यस्ता सूक्ष्म कण हुन् जसलाई कोषहरूले प्रोटिन र आनुवंशिक सामग्री ओसारपसार गर्दै शरीरका अन्य भागहरूसँग सञ्चार गर्न प्रयोग गर्छन् ।
‘एजिङ सेल’ जर्नलमा प्रकाशित यस प्रतिवेदनका अनुसार उमेर पुगेका वा वृद्ध जीवहरूको आन्द्राबाट लिइएका एक्जोसोम्सहरूमा इन्सुलिन प्रतिरोधात्मक क्षमता, इन्फ्लामेसन र आन्द्राको सुरक्षात्मक तह (गट ब्यारेयर) लाई क्षति पुर्याउने सङ्केतहरू पाइएका थिए ।
वैज्ञानिकहरूले परीक्षणका क्रममा जब वृद्ध जीवहरूको आन्द्राबाट निकालिएका यी एक्जोसोम्सहरूलाई युवा जीवहरूमा सारे, तब ती युवा जीवहरूमा पनि वृद्ध उमेरमा देखिने जस्तै मेटाबोलिक र इन्फ्लामेसन सम्बन्धी समस्याहरू देखा परे ।
तर, यस अनुसन्धानको सबैभन्दा सुखद र आश्चर्यजनक पक्ष भने अर्को परीक्षणमा देखियो । जब युवा जीवहरूबाट संकलन गरिएका एक्जोसोम्सहरूलाई उमेर पुगेका वृद्ध जीवहरूमा सारियो, तब ती वृद्ध जीवहरूमा बढ्दो उमेरका कारण देखिएका धेरै मेटाबोलिक समस्याहरू कम भएको पाइयो ।
यसले आन्द्राको आन्तरिक वातावरण स्वस्थ राख्न सके उमेरसँगै लाग्ने रोगहरूबाट बच्न वा त्यसको असरलाई कम गर्न सकिने बलियो सम्भावना देखाएको छ ।
अध्ययनले आन्द्राको सुरक्षात्मक पर्खाल कमजोर हुँदा त्यहाँका हानिकारक तत्वहरू सजिलै रगतमा मिसिन पुग्ने देखाएको छ । यसले गर्दा शरीरमा लामो समयसम्म क्रोनिक इन्फ्लामेसन भइरहन्छ, जसले अन्तत: मुटुको रोग र कलेजो तथा मधुमेह जस्ता मेटाबोलिक समस्याहरूको जोखिमलाई अत्यधिक बढाउँछ ।
यस अनुसन्धानका मुख्य लेखक प्राध्यापक अब्देलनाबी खलिफाका अनुसार बढ्दो जैविक उमेरसँग जोडिएका शारीरिक तनावहरूले कसरी रोग लाग्ने प्रक्रियालाई तीव्र बनाउँछन् भन्ने कुरा यस अध्ययनले प्रष्ट पारेको छ ।
यो संयन्त्र बुझ्न सकेमा भविष्यमा उमेर बढेसँगै लाग्ने रोगहरूको नयाँ र प्रभावकारी उपचार विधि विकास गर्न सजिलो हुनेछ । यो खोजले विशेष गरी जैविक उमेर बढ्ने प्रक्रियालाई सुस्त बनाउन र मानिसको आयुसँगै स्वस्थ जीवनकाल बढाउने अनुसन्धानमा एउटा ठूलो क्रान्ति ल्याउने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4