News Summary
Generated by OK AI. Editorially reviewed.- कवि एवं लेखक लालमणि पौडेलको कविता संग्रह 'भाव तरङ्ग' काठमाडौंमा सार्वजनिक भएको छ।
- समीक्षक गोविन्द पौडेलले कवितामा विषयगत, भावगत र शिल्पगत विविधता रहेको बताए।
- समीक्षक केशव सुवेदीले कवितामा आध्यात्मिक भाव र प्रगतिशिल धार एकसाथ देखिने निष्कर्ष निकाले।
२ जेठ, काठमाडौं । कवि एवं लेखक लालमणि पौडेलको कविता एवं रचनाहरुको संग्रह ‘भाव तरङ्ग’ सार्वजनिक भएको छ ।
कवि पौडेल एवं समीक्षकहरुले राजधानीमा आयोजित एक कार्यक्रममा कविता संग्रह सार्वजनिक गरेका हुन् । नेपाल संस्कृत विश्वविद्यालयमा अवकाशप्राप्त उपप्रशासक समेत रहेका पौडेलले विभिन्न कालखण्डमा आफूले रचना गरेका २८ वटा कविताहरुको संग्रहको रुपमा प्रकाशित भएको हो ।
लेखक एवं समीक्षक गोविन्द पौडेलले कवितासंग्रहमा रहेका कविताहरुमा विषयगत, भावगत र शिल्पगत विविधताहरु रहेको बताए ।
कवि पौडेलको कविताहरुमा जीवनको अनुभूति भेटिनेगरेको औल्याउदै उनले कविताहरुमा सामाजिक र समसामयिक विषयवस्तुप्रतिको दृष्टिकोण भेटिने बताए । ‘उहाँका कविताहरु सरल देखिएपनि जीवनका गहिरो अनुभुती भेटिने रहेछ’ उनले कवितासंग्रह सार्वजनिक कार्यक्रममा भने, ‘विम्वात्मक प्रयोगले कविताहरुलाई रोचक बनाएको छ ।’
कथाकार भागिरथी श्रेष्ठले जागिरयात्राका शिलशिलामा धार्मिक थलो मानिने रुरुक्षेत्रमा बसेका कवि पौडेलका कविताहरुमा पूर्विय दर्शन र आध्यात्मिक भाव पोखिने गरेको बताइन् ।
समीक्षक केशव सुवेदीले कवि पौडेलका कविताहरुमा आध्यात्मिक भावका साथ प्रगतिशिल धार एकसाथ देखिने गरेको निष्कर्ष निकाले । सुवेदीका अनुसार, कविताहरुमा संस्कृत साहित्यका साथै पूर्विय दर्शन र आदर्शवाद मिसिएको छ । सुवेदीले भने, ‘समाजको गतिशिलताको अपेक्षा सहित कतिपय कविताहरु कोरिएका रहेछन् ।’
कवि पौडेलले विभिन्न समयमा आफूले सिर्जना गरेका कविताहरुलाई संग्रहित गरेर कविता संग्रह प्रकाशित गरेको बताए । ‘तत्कालिन समयका अनुभूतिहरुलाई मैले कविताको रुप दिएको थिए’ उनले भने, ‘यी कविताहरुले त्यतिबेलाको समयको बहाव र अनुभूतिहरुलाई प्रतिनिधित्व गरेका छन् ।’
उपप्राध्यापक एवं समीक्षक ज्ञाननिष्ठ ज्ञवालीले कवि पौडेलको आध्यात्मिक चेत र कर्तव्यबोधभित्र योग, ध्यान, व्यवहारिक ज्ञान र शान्तिको कामना मिसिएको भेटिने बताए ।
‘कतिपय कविताहरु सूत्रात्मक छन् । कतै विकृति विसंगतिप्रति व्यंग्य प्रहार गरिएको छ’ आफूले लेखेको भूमिका उदृत गर्दै उनले भने, ‘कतैकतै विभिन्न लयमा गीतका मधुर झङकार झङ्कृत भएका छन् ।’
बाल्मिकी विद्यापीठमा आयोजित कार्यक्रममा कवि पौडेलको संग्रहमा रहेका विभिन्न कविताहरुको वाचन समेत गरिएको थियो ।
प्रतिक्रिया 4