News Summary
Generated by OK AI. Editorially reviewed.- एप्पलले आगामी जुनमा आयोजना हुने वर्ल्डवाइड डेभलपर्स कन्फरेन्समा सिरीको परिमार्जित संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ।
- नयाँ सिरी एप गुगलको जेमिनीद्वारा संचालित हुनेछ र प्रयोगकर्तालाई च्याटजीपीटी जस्तै च्याटबोट अनुभव प्रदान गर्नेछ।
- एप्पलले प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्न ३० दिन वा १ वर्षपछि च्याटहरू अटो-डिलिट गर्ने सुविधा राख्नेछ।
४ जेठ, काठमाडौं । एप्पलले आगामी जुनमा आयोजना हुने आफ्नो ‘वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स’ मा सिरीको परिमार्जित संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ। यस पटक एप्पलको मुख्य ध्यान प्रयोगकर्ताको गोपनीयतालाई सुरक्षित राख्ने कुरामा केन्द्रित हुनेछ।
आर्टिफिसियल इन्टेलिजेन्सको दौडमा आफूलाई बलियो गरी उभ्याउन एप्पलले अन्य एआई कम्पनीहरूको तुलनामा आफ्नो प्रविधि बढी सुरक्षित र गोपनीयतामैत्री भएको दाबी गर्ने रणनीति बनाएको छ।
एप्पलले पहिलो पटक सिरीका लागि एउटा छुट्टै र स्वतन्त्र एप्लिकेसन सार्वजनिक गर्दैछ। यो नयाँ एप गुगलको जेमिनीद्वारा संचालित हुनेछ । र, यसले प्रयोगकर्तालाई च्याटजीपीटी जस्तै ‘च्याटबोट’ को पूर्ण अनुभव प्रदान गर्नेछ। यस एपमा प्रयोगकर्ताले नयाँ च्याट सुरु गर्न, आवाजमार्फत कुराकानी गर्न र फाइलहरू अपलोड गर्न समेत सक्नेछन्।
बजारमा रहेका अन्य च्याटबोटहरूले प्रयोगकर्ताका पुराना कुराकानीहरू लामो समयसम्म भण्डारण गरेर राख्ने र एआई ट्रेनिङका लागि प्रयोग गर्ने भए तापनि एप्पलले यसमा कडा प्रतिबन्ध लगाउनेछ। एप्पलको म्यासेज एप जस्तै यसमा पनि प्रयोगकर्ताले आफ्ना पुराना च्याटहरू ३० दिन वा १ वर्षपछि अटो – डिलिट गरी सेट गर्न सक्नेछन्। साथै, सधैँका लागि राख्न चाहनेका लागि ‘इन्डेफिनेट’ को विकल्प पनि उपलब्ध हुनेछ।
गुगलको जेमिनी मोडल प्रयोग गरे तापनि एप्पलले आफ्ना प्रयोगकर्ताको डाटा सिधै गुगलको हातमा सुम्पिने छैन। एप्पलले यो प्रणालीलाई आफ्नै ‘प्राइभेट क्लाउड कम्प्युट’ सर्भरहरूमा चलाउनेछ, जसले गर्दा प्रयोगकर्ताका गोप्य कुराकानीहरू गुगलले आफ्नो मोडल ट्रेनिङका लागि प्रयोग गर्न पाउने छैनन्।
रिपोर्टका अनुसार, यो नयाँ एआई सिरी आगामी एन्ड्रोइड र आईओएस २७ सँगै सार्वजनिक हुँदा सुरुमा ‘बीटा’ को ट्यागसहित आउनेछ। एआईमा देखिन सक्ने ‘हलुसिनेसन’ (गलत सूचना दिने समस्या) र प्रोसेसिंग ल्याग जस्ता प्राविधिक कमजोरीहरूका कारण कम्पनीले आफ्नो साख जोगाउन यसलाई सुरुमा परीक्षणकै रूपमा राख्ने योजना बनाएको हो। प्रयोगकर्ताले चाहेको खण्डमा यो एड्भान्स एआई सिरीलाई बन्द गरेर पुरानै कमान्ड-आधारित सिरीमा फर्किन सक्ने ‘इमर्जेन्सी एस्केप ह्याच’ को व्यवस्था पनि सेटिङमा उपलब्ध हुनेछ।
प्रतिक्रिया 4