+
+
Shares

माइकल ज्याक्सनको फिल्मले विश्वभर कमायो ७० करोड डलर

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १४:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पप संगीतका सम्राट माइकल ज्याक्सनमाथि बनेको बायोपिक फिल्म ‘माइकल’ले विश्व बक्सअफिसमा ७० करोड डलरभन्दा बढी कमाइ गरेको छ।
  • ‘माइकल’ले सप्ताहन्तमा ८३ अन्तर्राष्ट्रिय बजारबाट ५ करोड ७७ लाख डलर कमाउँदै अन्तर्राष्ट्रिय बक्सअफिसमा पहिलो स्थान कब्जा गरेको हो।
  • डिज्नीको सिक्वेल फिल्म ‘द डेभिल वेयर्स प्राडा २’ले विश्व बक्सअफिसमा ५४ करोड ६२ लाख डलर कमाइसकेको छ।

पप संगीतका सम्राट मानिने माइकल ज्याक्सनमाथि बनेको बायोपिक फिल्म ‘माइकल’ले विश्व बक्सअफिसमा ७० करोड डलरभन्दा बढी कमाइ गर्दै नयाँ उपलब्धि हासिल गरेको छ । फिल्मले सप्ताहन्तमा ८३ अन्तर्राष्ट्रिय बजारबाट ५ करोड ७७ लाख डलर कमाउँदै अन्तर्राष्ट्रिय बक्सअफिसमा पुनः पहिलो स्थान कब्जा गरेको हो ।

युनिभर्सलले अन्तर्राष्ट्रिय बजारमा र लायन्सगेटले अमेरिकी बजारमा वितरण गरेको यो फिल्म रिलिजको चौथो सातासम्म पनि दर्शकमाझ मजबुत रूपमा टिकिरहेको छ ।

हालसम्म ‘माइकल’ले विश्वभरबाट ७० करोड ३० लाख डलर कमाइसकेको छ । यसमध्ये ४२ करोड १० लाख डलर अन्तर्राष्ट्रिय बजारबाट र २८ करोड २० लाख डलर अमेरिकी बजारबाट आएको हो । जापानमा अझै प्रदर्शन हुन बाँकी रहेकाले यो फिल्मले सन् २०१८ को चर्चित सांगीतिक बायोपिक ‘बोहेमियन र्‍याप्सोडी’को ९१ करोड १० लाख डलरको कीर्तिमान पनि तोड्न सक्ने अनुमान गरिएको छ ।

यता डिज्नीको चर्चित सिक्वेल फिल्म ‘द डेभिल वेयर्स प्राडा २’ पनि विश्व बक्सअफिसमा ५५ करोड डलर नजिक पुगेको छ । मेरिल स्ट्रिप, एनी हेथवे, एमिली ब्लन्ट र स्ट्यान्ली टुची अभिनित यो कमेडी फिल्मले हालसम्म ५४ करोड ६२ लाख डलर कमाइसकेको छ । रिलिजको तेस्रो सातामा फिल्मले विदेशी बजारबाट मात्र ५ करोड ६ लाख डलर थप कमाइ गरेको हो ।

उत्तर अमेरिकामा १७ करोड ५९ लाख डलर कमाएको यो फिल्मले अन्तर्राष्ट्रिय बजारमा भने अझ ठूलो सफलता पाएको छ । विदेशी बजारबाट मात्रै फिल्मले ३७ करोड ३ लाख डलर कमाइसकेको छ । सबैभन्दा धेरै कमाइ गर्ने बजारमा बेलायत, इटाली, ब्राजिल र मेक्सिको रहेका छन् । डिज्नीले यो सिक्वेल निर्माणमा १० करोड डलर खर्चिएको थियो ।

यसैबीच, वार्नर ब्रदर्सको सिक्वेल फिल्म ‘मोर्टल कम्ब्याट २’ले दोस्रो सप्ताहन्तमा ७९ अन्तर्राष्ट्रिय क्षेत्रमा १ करोड डलर मात्र कमाएको छ । यो यसको ओपनिङ सप्ताहन्तको तुलनामा ५३ प्रतिशतले कम हो । दुई सातासम्ममा फिल्मले अन्तर्राष्ट्रिय बजारबाट ३ करोड ९० लाख डलर र विश्वभरबाट १० करोड १० लाख डलर कमाएको छ । फिल्म निर्माणमा ८ करोड डलर खर्च गरिएको थियो ।

अर्कोतर्फ, अमेजन एमजीएमको रहस्यमय कमेडी फिल्म ‘शीप डिटेक्टिभ’ले दोस्रो सप्ताहन्तमा ८८ क्षेत्रमा १ करोड ४० लाख डलर कमाएको छ । ह्यु ज्याकम्यान अभिनित यो फिल्मले हालसम्म विदेशी बजारबाट २ करोड ९० लाख डलर र विश्वभरबाट ५ करोड ८७ लाख डलर कमाइसकेको छ ।

निर्माणमा ७ करोड ५० लाख डलर खर्च भएको यो फिल्मले लगानी सुरक्षित गर्न अझै केही समय हलमा टिकिरहनुपर्ने देखिएको छ । राम्रो समीक्षासँगै सकारात्मक दर्शक प्रतिक्रियाले भने यसको व्यापारलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?