News Summary
Generated by OK AI. Editorially reviewed.- तनहुँको बन्दीपुर क्याम्पसले १५ वर्षका लागि आफ्नो भवनसहितको ४ रोपनी जग्गा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीलाई भाडामा दिएको छ।
- सम्झौता गोप्य राखिएको र सार्वजनिक सूचना वा टेण्डर बिना सोझै वार्ता गरी सिद्धार्थ ग्रुपलाई जग्गा दिइएको क्याम्पस प्रमुखले बताए।
- क्याम्पसको आर्थिक समस्या र भवन जीर्ण अवस्थामा पुगेपछि व्यवस्थापन समितिले होटल सञ्चालनका लागि जग्गा भाडामा दिने निर्णय गरेको अध्यक्ष जीवन श्रेष्ठले खुलाए।
५ जेठ, पोखरा । तनहुँको पहिलो सामुदायिक क्याम्पस बन्दीपुर क्याम्पसको जग्गा १५ वर्षका लागि सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीलाई भाडामा दिएको पाइएको छ । तनहुँको बन्दीपुर बजारमै रहेको भवनसहित करिब ४ रोपनी जग्गा विनाप्रतिस्पर्धा १५ वर्षका लागि सिद्धार्थ बिजनेस ग्रुपलाई दिइएको हो ।
व्यवस्थापन समितिबाट निर्णय गरेर क्याम्पसको जग्गा सिद्धार्थलाई दिएको अध्यक्ष जीवन श्रेष्ठले बताए ।
क्याम्पसको जग्गामा ‘सिद्धार्थ बन्दीपुर भिलेज’ नामको होटल चलाइएको छ ।
स्थानीयले दिएको जग्गामा २०३७ सालमा क्याम्पस स्थापना गरिएको थियो । कक्षा ११ र १२ सहित ब्याचलरसम्म पढाइ हुने क्याम्पसमा करिब ७५ जनामात्रै विद्यार्थी छन् । ती विद्यार्थीहरुलाई अर्को नयाँ भवनमा सारेर मासिक ५५ हजार रुपैयाँ भाडा लिने गरी पुरानो भवन होटललाई दिइएको हो ।
गोप्य राखियो सम्झौता
क्याम्पस र सिद्धार्थ ग्रुपबीच भएको सम्झौता गोप्य राखिएको छ । सम्झौताबारे बुझ्दा क्याम्पस प्रमुख भोला भट्टराई र व्यवस्थापन समिति अध्यक्षले एकअर्कालाई देखाउँदै तर्किए ।
ग्रुपसँग सम्झौता गर्ने बेलाका प्रधानाध्यापक विक्रम पियाले राजीनामा दिइसकेका छन् । सम्झौतामाथि प्रश्न उठेपछि लामो समयदेखि क्याम्पसमा रहेका पियाले अब ‘युवालाई पालो दिने’ भन्दै राजीनामा दिएका थिए ।
बन्दीपुर क्याम्पसको घरजग्गा सम्झौताबारे प्रश्न गर्दा पूर्व क्याम्पस प्रमुख पियाले कुनै जवाफ दिएनन् । आफूले क्याम्पस छाडिसकेको भन्दै उनी तर्किइरहे ।
क्याम्पसको गुणस्तरमाथि प्रश्न
क्याम्पसको गुणस्तरमाथि प्रश्न उठ्दै आइरहेको थियो भने विद्यार्थी संख्या पनि कम हुँदै गएको थियो । क्याम्पस आर्थिक हिसाबले चल्ने नसक्ने अवस्था आएपछि जग्गादाता व्यवसायी ज्ञानेन्द्र प्रधानकै समन्वयमा सिद्धार्थ ग्रुपलाई होटल चलाउन १५ वर्षका लागि दिइएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
पहिले विज्ञापन निकालेको व्यवस्थापन समिति अध्यक्षले दाबी गरे पनि होटललाई बोलाएरै चलाउन भनेको सिद्धार्थ ग्रुपका प्रबन्ध निर्देशक कृष्ण न्यौपानेले बताए । १५ वर्षसम्मका लागि सम्झौता गरिएको र ५ वर्ष थप हुन सक्ने सर्त रहेको न्यौपानेले जानकारी दिए ।
स्रोतका अनुसार होटलले मासिक ५५ हजार रुपैयाँ भाडा दिने छ भने कुल व्यापारको ३ प्रतिशत पनि क्याम्पसलाई दिने सम्झौता पत्रमा छ ।
तर कुन आधारमा भाडा तय गरिएको हो, कुन ऐन र विधिमा टेकेर भाडामा दिइएको हो भन्ने कुनै जानकारी नभएको क्याम्पस प्रमुख भोला भट्टराईले बताए । ‘म क्याम्पस प्रमुख भएर आएको भर्खरै हो । मैले पनि बल्ल सम्झौता हेर्न पाएँ । सम्झौतामा कसरी, किन दिइयो भन्ने कुरा छैन,’ प्रमुख भट्टराईले भने ।
भवन पनि जीर्ण अवस्थामा पुगिसकेको र त्यो मर्मतसमेत उसैले गरिदिने भएपछि सम्झौता गरिएको हुनसक्ने भट्टराईले बताए ।
क्याम्पस व्यवस्थापनको निर्णयअनुसार वार्षिक साधारण सभामा पेश गरेर निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
तलब खुवाउन समस्या भएपछि भाडामा दिएको दाबी
६० को दशकमै क्याम्पस बन्द हुने अवस्थामा पुगिसकेको र फेरि सञ्चालन गर्न स्थानीयले नै अगुवाइ गरेका थिए । नयाँ पुस्तालाई क्याम्पस हाँक्न दिनुपर्छ भनेर विक्रम पियाले राजीनामा दिएपछि भट्टराई आएका थिए ।
व्यवस्थापन समिति अध्यक्ष जीवन श्रेष्ठले तलब खुवाउनै समस्या परेपछि भाडामा दिइएको बताए । पैसा उठाएरै तलब खुवाउनुपर्ने, क्याम्पस नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएपछि सिद्धार्थ होटलकै प्रस्तावमा सम्झौता गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । व्यवस्थापन समितिको बैठकले निर्णय गरेर सिद्धार्थ होटललाई दिने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
क्याम्पसको भवन ढल्ने अवस्था भएपछि मर्मतसमेत गर्ने गरी भाडामा दिइएको अध्यक्ष श्रेष्ठको भनाइ छ । यसअघि विज्ञापन निकालिएको भए पनि कोही नआएको दाबी अध्यक्ष श्रेष्ठको छ ।
त्यसपछि जग्गादाता ज्ञानेन्द्र प्रधानकै आग्रहमा बन्दीपुरमा सिद्धार्थ होटलको ब्राण्ड लैजानुपर्यो भन्ने प्रस्ताव गरेपछि भवन भाडामा लिएर होटल सन्चालन गरेको सिद्धार्थ ग्रुपका प्रबन्ध निर्देशक न्यौपानेले बताए । त्यहाँ होटल सञ्चालनका लागि भवन मर्मत गर्न करिब साढे २ करोड खर्च भएको उनको भनाइ छ ।
‘क्याम्पसका लागि पैसा पनि हुने, विद्यार्थीले पढ्न पनि पाउने, बन्दीपुर देशव्यापी रुपमा नेटवर्क भएको होटल पनि जाने हुन्छ भनेपछि लौ न त गरौं भनेर गएका हौं,’ निर्देशक न्यौपानेले भने, ‘भवन हामीले पूरै मर्मत गरेका हौं ।’
चिन्ता
क्याम्पस रहेको बन्दीपुर–२ का वडाध्यक्ष तिलबहादुर कुँवरले एक्कासी साधारण सभामा होटल चलाउन दिने कुरा आएपछि आफूले यो विधिसम्मत हुँदैन भनेर प्रश्न उठाएको सुनाए । २०८१ सालतिर होटललाई दिने निर्णय गरिएको उनको भनाइ थियो ।
क्याम्पसलाई नै घाटा पर्ने गरी सम्झौता गरेको आवाज उठाएपछि कारोबारको ३ प्रतिशत होटलले दिने सहमति भएको वडाध्यक्ष कुँवरले बताए ।
सिद्धार्थ समूहले उक्त हेरिटेज भवनलाई परिमार्जन गरी सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीलाई ‘सिद्धार्थ बन्दीपुर भिलेज’ नामक होटलका रूपमा सञ्चालनमा ल्याइसकेको छ ।
२०३७ सालमा स्थापना भई बन्दीपुरको पुनर्जागरण र शैक्षिक विकासमा ऐतिहासिक योगदान पुर्याएको यस क्याम्पस अहिले दयनीय अवस्थामा पुगेको छ । घरजग्गा पनि होटललाई दिइएपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
न्यून भाडा र लामो अवधि सार्वजनिक सम्पत्तिको व्यावसायिक प्रयोग गर्दा अधिकतम राज्य वा संस्थालाई फाइदा पुग्ने गरी पारदर्शी प्रक्रिया अपनाउनुपर्नेमा सरकारी/सामुदायिक सम्पत्ति सोझै १५ वर्षका लागि मासिक मात्र ५५ हजार रुपैयाँ तिर्ने गरी सिद्धार्थ ग्रुपलाई सुम्पिएको भन्दै कतिपयले प्रश्न उठाइरहेका छन् । सदरमुकाम दमौली सरेपछि बन्दीपुरलाई बचाउन स्थानीय नागरिककै योगदान र चन्दाबाट ठडिएको पहिलो सामुदायिक क्याम्पसको अस्तित्व संकटमा पारेर होटल बनाइएको भन्दै नागरिक स्तरबाटसमेत विरोध भइरहेको छ ।
खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार सार्वजनिक निकाय वा सार्वजनिक लगानी/अनुदान प्राप्त संस्था (सामुदायिक क्याम्पस) को स्वामित्वमा रहेको चल–अचल सम्पत्ति भाडामा दिँदा वा व्यावसायिक प्रयोग गर्न दिँदा अनिवार्य रूपमा बोलपत्र (टेण्डर) आह्वान गरी खुला प्रतिस्पर्धा गराउनुपर्छ ।
ऐनले सार्वजनिक सम्पत्तिको भाडा प्रक्रियामा सबै इच्छुक पक्षहरूबीच खुला र स्वस्थ प्रतिस्पर्धा गराउनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । तर, बन्दीपुर क्याम्पसको हकमा कुनै सार्वजनिक सूचना वा टेण्डर आह्वान नगरी ‘डाइरेक्ट नेगोसिएसन’ (सोझै वार्ता) का आधारमा सिद्धार्थ ग्रुपलाई मात्र छनोट गरिएको स्रोतको भनाइ छ । बोलपत्र प्रक्रिया बिना गरिएको यो सम्झौताले पारदर्शिता र जवाफदेहिता’ लाई वेवास्ता गरेको छ ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी (सिद्धार्थ ग्रुप) नेपालको पर्यटन तथा सेवा क्षेत्रमा तीव्र गतिमा विस्तार भइरहेको संस्था हो । विसं २०५४ मा कैलालीको टीकापुरमा खाजा पसलबाट सुरु भएको यस ग्रुपले हाल देशभरि २५ भन्दा बढी होटल, रिसोर्ट, रेस्टुरेन्ट र कफी सपका आउटलेटहरू सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया 4