+
+
Shares

कांग्रेस संस्थापन इतर समूहले खोल्यो सम्पर्क कार्यालय

सम्पर्क कार्यालया चारतारे झण्डासँगै बीपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा र खुमबहादुर खड्काको तस्वीर लहरै झुण्ड्याइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेको छ।
  • सम्पर्क कार्यालय स्थापना गर्ने उद्देश्य १५औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने तयारी गर्नु हो।
  • नेता गुरु बरालले भने, 'पार्टी एकताका लागि दबाब सिर्जना गर्न र १५ औँ महाधिवेशनको तयारी गर्न सम्पर्क कार्यालय खोलेका हौं।'

५ जेठ, काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेको छ । काठमाडौंको अनामनगरमा पार्टीको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सम्पर्क कार्यालय खोलेको हो ।

नेताहरू गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले, केदार कार्कीलगायतको सक्रियतामा सम्पर्क कार्यालय खुलेको बताइएको छ ।

बराल, बस्नेत र काफ्ले निवर्तमान केन्द्रीय सदस्य हुन् । त्यस्तै शेरचन बागलुङका सभापति तथा गण्डकी प्रदेश सरकारको अर्थमन्त्री हुन् । कार्की कोशी प्रदेश सरकारको पूर्वमुख्यमन्त्री हुन् ।

उक्त समूहका नेता तथा नेपाल लोकतन्त्रवादी आदीवासी जनजाति महासंघका महामन्त्री  मनहरि श्रेष्ठले पार्टीको १५औं महाधिवेशनलाई एकता महाधिवेशन बनाउने तयारीका लागि सम्पर्क कार्यालय स्थापना भएको बताउँछन् ।

उनले भने, ‘यो नयाँ पार्टी बनाउनका लागि सम्पर्क कार्यालय खोलेका होइनौं । १५ औँलाई महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन पर्छ । हामीले महाधिवेशनको तयारीका लागि सम्पर्क कार्यालय खोलेका हौँ ।’

उनले वैशाखदेखि नै सम्पर्क कार्यालय स्थापना गरी कामकारबाही अघि बढाइएको बताए ।

नेता गुरु बराल पार्टी एकताको लागि दबाब सिर्जना गर्न र महाधिवेशनको तयारी गर्न कार्यालय स्थापना गरिएको बताउँछन् ।

‘पार्टी एकताका लागि दबाब सिर्जना गर्न र १५ औँ महाधिवेशनको तयारी गर्न सम्पर्क कार्यालय खोलेका हौं,’ उनले भने ।

अनामनगरस्थित सम्पर्क कार्यालयमा अनलाइनखबरकर्मी पुग्दा निवर्तमान केन्द्रीय सदस्य विद्या तिमिल्सिना, नेपाल महिला संघकी निवर्तमान अध्यक्ष उषा राउत मिश्र, मनहरि श्रेष्ठ, नेविसंघ नेता मनिषजंग थापा, दुर्गाबहादुर खड्कालगायत भेटिए ।

सम्पर्क कार्यालया चारतारे झण्डासँगै बीपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा र खुमबहादुर खड्काको तस्वीर लहरै झुण्ड्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?