News Summary
Generated by OK AI. Editorially reviewed.- चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको शिखर बैठकमा चीन-अमेरिका सम्बन्धलाई 'साझेदारीभन्दा सह-विकास' भन्नु बढी उपयुक्त भएको उल्लेख गर्नुभयो।
- सीले ट्रम्पलाई औपचारिक बैठकमा भने, 'हामीसँग मिलेर जाने कि लड्ने, तिमीहरू नै फैसला गर' भनी चीन र अमेरिकाबीच द्वन्द्व वा सहकार्यको विकल्प प्रस्तुत गर्नुभयो।
- ट्रम्पको चीन भ्रमणलाई अमेरिकी साम्राज्यको ओरालो यात्रा र चीनको विश्व शक्तिको शीर्ष स्थानमा उक्लने घोषणाको रूपमा चिनियाँ पक्षले व्याख्या गरेको छ।
‘आफ्नो क्षमता लुकाऊ र उचित समय पर्ख। चीनले नेतृत्वको दाबी गर्नुहुँदैन, झन्डा हल्लाउँदै हिंड्नुहुँदैन र प्रभुत्वको खोजी गर्नुहुँदैन।’
चार दशकअगाडि ७० करोड गरिब जनताले बसोबास गर्ने आर्थिक रूपले कमजोर चीनको नेतृत्व गर्दै गरेका बेला चिनियाँ नेता तङ सियाओ पिङले आफ्ना उत्तराधिकारीहरूलाई यस्तो सल्लाह दिएका थिए।
समय बदलिएको छ र चीन विश्व रङ्गमञ्चमा आफ्नो शक्ति, सभ्यता, विचारधाराको श्रेष्ठता अरूले स्वीकार गरून् भनेर आग्रह गर्ने ठाउँमा पुगेको छ। कमसेकम यसपालि अमेरिका र चीनका शीर्ष नेताहरूको शिखर बैठकमा व्यक्त चिनियाँ धारणाले यसलाई पुष्टि गर्छ।
चिनियाँ राष्ट्रपति सीले सन् २०१२ मा पार्टी महासचिव चुनिएको केही समयपछि नै कम्युनिस्ट पार्टीले चीनको भविष्य कता लैजानेछ भन्ने सन्देश दिने महत्त्वपूर्ण वाक्य बोलेका थिए,’महान् पुनरुत्थानलाई प्राप्त गर्नु नै आधुनिक समयको चीनको महान् सपना हो।’
उपनिवेशवादको चपेटामा परेर थिलोथिलो भएको पुरानो सभ्यता, अर्थतन्त्र र गौरवको पुनर्प्राप्तिलाई पुनरुत्थानका रूपमा व्याख्या गर्दै थालिएको यस्तो भाष्य डा. सन यात सेनले बीसौं शताब्दीको पहिलो दशकतिर अघि सारेका थिए। झण्डै १०० वर्षपछि चिनियाँ नेता चियाङ चमिनले यसलाई आधुनिक चीनको एउटा लक्ष्यका रूपमा स्थापित गर्ने प्रयास गरेका थिए। वर्तमान नेता सी जिनपिङले यसैमा ‘चिनियाँ सपना’ का कुरा थपेर चिनियाँ जनतामा एउटा आत्मगौरवको भावना भर्ने प्रयास गरे।
यही नारामा अर्को पक्ष पनि अन्तर्निहित छ अफिम युद्धबाट बेलायत र पछि सबैजसो साम्राज्यवादी शक्तिको आक्रमण र शोषणमा परेको चीनको अवस्था बदलिएको छ र अब ऊ विश्वको नेतृत्व दाबी गर्दैछ ।
वास्तवमा यो ‘चिनियाँ सपना’ भन्ने भाष्यको प्रयोग जनसेनाका एक जना पूर्व कर्णेल लिउ मिङ्फुले २०१० मा प्रकाशित आफ्नो पुस्तक ‘चाइना ड्रिम: ग्रेट पावर थिङ्किङ एन्ड स्ट्राटेजिक पोस्चर इन द पोस्ट अमेरिकन इरा’ मार्फत पहिलो पटक गरेका थिए।
‘विश्वको नेतृत्वदायी राष्ट्र बन्ने चीनको एक शताब्दीदेखिको सपना रहेको’ भन्ने उनको मतको सार थियो: चीन विश्वको नम्बर एक शक्ति बन्नुपर्छ। आर्थिक शक्ति मात्र वृद्धि गरेर हुँदैन, सामरिक शक्तिमा पनि नम्बर एक बन्नुपर्छ र परिआउँदा अमेरिकालाई परास्त गरेर अघि बढ्नुपर्छ।
चीनले तङकै पालादेखि प्रभावकारी रूपमा अघि बढाएको शान्त कूटनीतिकै जमानामा उक्त पुस्तकले यस्तो दाबी गरेको थियो। धेरै गम्भीर लेखकका रूपमा नलिइने भए पनि फुको दाबीलाई आधार दिने गरी हासिल गरिएका सामरिक, आर्थिक र प्राविधिक उपलब्धिले कम्युनिस्ट पार्टीको आकाङ्क्षालाई मात्र होइन, चिनियाँ समाजलाई नै प्रभावित गरिरहेको छ।
उक्त पुस्तकको प्रभाव कति हो भन्न नसकिए पनि त्यसपछि चिनियाँ कूटनीतिज्ञ र राजदूतहरूले ‘वुल्फ वारियर’ कूटनीतिज्ञहरूको छवि बनाएका थिए। नेपालमा पनि कतिपय बेला यस्तो अनुभव गरिएको थियो। आक्रामक रूपमा आफ्ना कुराहरू राख्ने उनीहरूको तरिकालाई चीनको एउटा सिनेमा ‘वुल्फ वारियर’ को पात्रका रूपमा चित्रण गर्दै यस्तो नाम दिइएको थियो। सिनेमा त सन् २०१५ मा आयो, तर यस्तो शैली उनीहरूले २०१० मा फुको पुस्तक प्रकाशित भएसँगै अपनाउन थालेका थिए।
चिनियाँहरू विश्वको शक्ति सन्तुलनमा प्रायः ‘सयौं वर्षमा एकपटक आउने हलचलको समय आएको’ भनेर रङ्गमञ्च ओगटेर बसेकाहरूलाई त्यहाँबाट ओर्लेर आफूलाई ठाउँ दिन जनाउ घण्टी बजाइरहेका देखिन्छन्। यस्तो उथलपुथल पहिलो विश्वयुद्धपछि अहिले देखिन थालेको छ। उतिबेला विश्व महाशक्ति रहेको बेलायतलाई विस्थापित गर्दै अमेरिका विश्वको आर्थिक, सांस्कृतिक तथा सामरिक शक्ति मात्र होइन, विचारधारात्मक क्षेत्रमा पनि उसको वर्चस्व स्थापित भएको थियो।
झन्डै एक शताब्दी उसको अह्रन-खटनमा विश्व व्यवस्थालाई आकार दिइयो। ‘अब अमेरिकाको स्थान चीनले लिएपछि नै यस्तो हलचलको चक्र पूरा हुन्छ’ भन्ने दाबी चिनियाँहरूको छ। यसपटक अमेरिकाका टेक्नो-धनाढ्यहरूको हुल लिएर चीन पुगेका राष्ट्रपति ट्रम्पको भ्रमणले चीनको दाबीलाई वैधानिकता दिएको जस्तो देखिएको छ। यो भ्रमणको अन्तर्य पनि यसमै निहित छ।
यसपटक चीन जानुअघि अमेरिकी राष्ट्रपति ट्रम्प र सिङ्गो अमेरिका आफ्नै निर्णयहरूको चङ्गुलमा फसेको थियो। युरोप, नेटो सदस्य राष्ट्रहरू र क्यानडा ट्रम्पका नीतिहरूबाट आक्रोशित थिए। क्यानडा, फ्रान्स, जर्मनी, बेलायत र स्पेनका नेताहरूले चीनको भ्रमण गरेर उससँग व्यापारिक लाभ लिन प्रयास गरिसकेका थिए। जापानबाहेक अरू देशसँग चीनको सम्बन्ध सुधारिंदै थियो, जो पहिले अमेरिकी छातामुनि बसेर चीनसँग दूरीमा बस्थे।
इरान युद्धले अमेरिकाको शक्ति परीक्षण गरिदिएको थियो। एकातिर उसले ‘इन्डो-प्यासिफिक’ क्षेत्रबाट आफ्नो हतियार र शक्ति खाडी क्षेत्रमा स्थानान्तरण गरेकाले शक्ति सन्तुलन चीनको पक्षमा ढल्किंदै थियो; अर्कोतिर नेटो देशहरू इरान युद्ध र खासगरी होर्मुज जलमार्ग खोल्न ट्रम्पले मागेको सहयोग दिनबाट तर्केका थिए। तुलनात्मक रूपमा सानो र कमजोर हैसियतको इरानलाई ठेगान लगाउन नसकेपछि अमेरिकाको शक्तिको सीमा देखिन थालेको थियो।
यसैबीच सन् २०१२ मा ओबामाका समयदेखि चीन केन्द्रित भएर विकास गरिएको इन्डो-प्यासिफिक रणनीति र चीनको घेराउका लागि गरिएका व्यापारिक तथा प्राविधिक प्रतिबन्धहरूले चीनलाई कमजोर बनाउनुको साटो थप शक्तिशाली बनाउन मद्दत गरे। प्रविधिमाथिको प्रतिबन्ध सामना गरेर चीन प्रविधिमा अमेरिकाको समानान्तर हुने गरी अघि आइरहेको छ। आर्थिक तथा सामरिक शक्तिको अभूतपूर्व विकास गरेको छ।
यसलाई लिएर चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ट्रम्पलाई अनेक उपनाम दिएर हास्यको पात्र बनाउन भ्याएका थिए। यस्तै एउटा व्यङ्ग्यात्मक फ्रेज प्रयोग भएको थियो: च्वान यानगुओ अर्थात् ‘चीनका निर्माता’। ट्रम्पलाई ‘चीनको निर्माता’ भन्नुको अर्थ ‘उनका नीतिहरूकै कारण चीन आफूलाई विकास गर्न सक्षम भयो र विश्वको शक्ति सन्तुलन चीनको पक्षमा आयो’ भनेर चिनियाँहरूले बुझेका छन् भन्ने लाग्छ। ‘कमरेड ट्रम्प’, ‘चीनका देशभक्त छोरा’ जस्ता उपमा दिएर उनको तेजोबध गर्ने प्रयासहरू भएका थिए।
यसले चिनियाँहरूमा रहेको ‘अब अमेरिका होइन चीन मुख्य शक्तिका रूपमा विश्वमा उदाउँदैछ’ भन्ने आम विश्वासको प्रतिनिधित्व गर्छ। ट्रम्पको भ्रमणलगत्तै हुन लागेको पुटिनको भ्रमणले त्यसलाई थप बल पुर्याउँछ। यस्तो देखिन्छ कि समग्र चीनको अहिलेको लक्ष्य (अवश्य पनि चीनमा सबैले उस्तै सोच्दैनन्, फरक मत र विचारहरू, विरोध र समर्थनको चक्कर त्यहाँ पनि छ) विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र बन्नु र चीनलाई ‘विश्वको केन्द्र’ का रूपमा बुझ्ने परम्परागत विश्वासलाई प्रमाणित गर्नु हो।
सीको खुला चुनौती

‘चीन–अमेरिका सम्बन्धलाई साझेदारीभन्दा सह-विकास (को–इभोल्युसन) भन्नु बढी उपयुक्त हुन्छ। दुवै देशले आफ्ना आन्तरिक आवश्यकता र प्राथमिकतालाई पछ्याउँछन्, सम्भव भएसम्म सहकार्य गर्छन् द्वन्द्व न्यून बनाउन आपसी सम्बन्धलाई समयअनुसार समायोजन गर्दै जान्छन्।’
बीसौं शताब्दीको सातौं दशकमा चीन र अमेरिकाको सम्बन्धलाई आकार दिएका विश्वकै चतुर र कुटिल मानिने कूटनीतिज्ञ तथा अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरले आफ्नो चीन सम्बन्धी दृष्टिकोण र चीन-अमेरिका सम्बन्धका धारणाहरूको निष्कर्षमा लेखेका थिए- ‘चीन र अमेरिकाले कमसेकम आफ्ना आन्तरिक दबाबहरूको व्यवस्थापन गर्दै आपसमा हुनसक्ने द्वन्द्वलाई न्यूनीकरण गर्ने बाटो लिनु उनीहरूको हितमा हुनेछ।’
चीन र अमेरिकाको भविष्यको सम्बन्धका सन्दर्भमा उनको यो धारणा केवल शुभेच्छा बन्नेछ या वास्तविकता भन्ने थाहा पाउन अरू केही दशक कुर्नुपर्ने हुन सक्छ।
चीनले शान्तिपूर्ण विकासका माध्यमबाट विश्वको एक नम्बर शक्तिको उचाइ हासिल गर्छ कि अमेरिकासँग भिडन्त अनिवार्य बन्न जान्छ भन्ने कुरा अझै अनिश्चित छ। गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको पहिलो औपचारिक वार्तामा स्वागत मन्तव्य राख्ने क्रममा चिनियाँ नेता सी जिनपिङले जुन शब्दको चयन गरे, त्यसले गहिरो अर्थ राख्छ। र, यी दुई शक्तिशाली देशहरूको अनिवार्य नियतितिर यसले सङ्केत गर्छ।
केही वर्षयता चीन र अमेरिका सम्बन्ध अनेक तनावको बाटो भएर हिंडेको छ। एकआपसमा अन्तरनिर्भरता पनि पन्छाउन नसकिने तहमा छ र तनाव पनि। उच्च प्रविधिको निर्यातमा प्रतिबन्ध, टिकटकको स्वामित्व हस्तान्तरण, चिनियाँ अनुसन्धानकर्ता र एकेडेमिकहरूको गिरफ्तारी र निगरानी, चिनियाँ कम्पनी हुवावे लगायतमाथिको प्रतिबन्ध- कति हो कति प्रश्न छन्।
कतिसम्म तन्केको छ भने अर्जेन्टिनासँग मिलेर चीनले स्थापना गरेको अन्तरिक्ष अनुसन्धानमा सहयोग हुने केन्द्र हटाउन समेत अमेरिका दबाब दिइरहेको छ। दक्षिण चीन र इन्डो-प्यासिफिक क्षेत्रको तनाव त कायमै छ। इरानलाई हतियार सहयोग गरेको, इरानी तेल किनेको र भेनेजुएलालाई सहयोग गरेको आरोप पनि चीनमाथि लगाइन्छ। र, ताइवानलाई हतियार दिएर चीनका विरुद्ध उक्साइरहेको आरोप चीनले अमेरिकामाथि लगाउँदै आएको छ। चीनलाई अप्ठ्यारोमा पार्ने ताइवान एक्ट, तिब्बत एक्ट लगायत अनेक उल्झन पनि जारी छन्।
यस्तो तनाव बढ्दै जाने र अमेरिकाले चीनका चासोलाई सम्बोधन नगर्ने हो भने- ‘हामी तिमीहरूसँग लड्न तयार छौं। हामीसँग मिलेर जाने कि लड्ने, तिमीहरू नै फैसला गर।’ सीले ट्रम्पलाई यही भनेर एउटा चुनौती खडा गरे, त्यो पनि औपचारिक बैठकमा, दुवै देशका उच्च अधिकारीहरू साक्षी राखेर।
उनका भनाइहरू यस्ता थिए: ‘के चीन र अमेरिका ‘थुसिडाइड्स ट्रयाप’ छल्न र महान् शक्तिहरूको सम्बन्धलाई नयाँ मानक दिन सक्छन् ? ताइवानको प्रश्न चीन-अमेरिका सम्बन्धको महत्त्वपूर्ण मुद्दा हो। यसलाई राम्ररी ह्यान्डल गर्न सकिएन भने सम्पूर्ण चीन-अमेरिका सम्बन्धलाई खतरनाक मोडमा लैजान या द्वन्द्वको अवस्थामा लैजान सक्छ… अमेरिकालाई फेरि महान् बनाउने तपाईंको चाहना र चीनको महान् पुनरुत्थानको हाम्रो चाहना सँगसँगै जान सक्छन् भन्ने हाम्रो विश्वास छ।’
अरू कुरा त सामान्य छन्, तर थुसिडाइड्स पासो भन्ने शब्दको प्रयोग अर्थपूर्ण छ। यस मार्फत सीले सन्देश दिन चाहेका छन्- हामी उदाउँदो महाशक्ति हौं, तिमीहरू खस्कँदो शक्ति हौ। विश्वमा यस्ता दुई शक्ति बीच युद्ध भएर मात्रै नयाँ शक्तिको विजय र पुरानोको अवसान निश्चित हुने गरेको छ। तिमीहरू हामीसँग लडाइँ चाहन्छौं कि मिलेर जान चाहन्छौ, तिमीहरूको इच्छाको कुरा हो।
यसको थप विश्लेषण आवश्यक पर्दैन। यो नै चीनको विजय र अमेरिकाको हारको चिनियाँ घोषणा थियो। यसलाई स्वीकार गर्न अमेरिका र विश्वलाई केही वर्ष अरू लाग्नेछ। के थाहा, यस क्रममा विश्वमा कति प्रोक्सी वार हुने हुन्, कति क्षेत्रीय युद्ध हुने हुन्, अनि विश्वलाई नै आकर्षित गर्ने ठूलो स्केलको युद्ध पनि ! अहिलेलाई हामी दुवै शान्तिपूर्ण रूपमा शक्ति विस्तारको समानान्तर अभ्यास गर्नेछन् भन्ने आशा मात्र गर्न सक्छौं।
अन्त्यमा, इतिहास कहिलेकाहीं नियमित आकस्मिकता जस्तो लाग्छ। नियमित यस अर्थमा कि कुनै पनि घटनाहरू कार्यकारण सम्बन्ध सहितका हुन्छन्, आकस्मिक हुँदैनन्। र, आकस्मिकता यस अर्थमा कि कहिलेकाहीं अनुमान नै नगरिएको समयमा अचानक जस्तो यस्ता घटनाहरूले मूर्तरूप ग्रहण गर्छन्।
यो साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको चीन भ्रमणको घटना इतिहासको पानीढलो बन्ने गरी एउटा शक्तिको रूपमा अमेरिकी साम्राज्यको ओरालो यात्रा र विश्व शक्तिको शीर्ष स्थानमा उक्लने चीनको घोषणाका रूपमा घटित भएको छ।
निकै व्यवस्थित रूपमा इन्जिनियरिङ गरिएको उनको भ्रमणको व्यवस्थापन र चिनियाँ राष्ट्रपति सीको उद्घोषले इतिहासमा घटिरहेको यसप्रकारको शताब्दीलाई प्रभावित गर्ने घटनालाई उत्सवको रूपमा परिणत गरिदिएको छ। केही अनुदारवादी शक्ति र व्यक्तिलाई यो पचाउन गाह्रो त भएको छ, तर चीन र अमेरिका दुवैतर्फका जनताले मात्र होइन, विश्वले यसलाई उत्सुकतापूर्वक स्वागत गरेको छ। ‘यस्ता घटनाहरू बाजा बजाएर आउँदैनन्’ भन्ने हाम्रो मान्यतालाई खण्डित गर्दै यो काम बाजा बजाएर सम्पन्न भएको छ ।
प्रतिक्रिया 4