६ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई पलायनको बाटो छोडेर स्वदेश फर्कन आह्वान गरेका छन् ।
बुधबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै संरक्षक ठाकुरले मुलुकमा नयाँ राजनीतिक परिस्थितिको विकास भइरहेकाले अब बाहिर बस्नुपर्ने अवस्था नरहेको बताए ।
बैठकमा आफ्नो धारणा राख्दै नेता ठाकुरले तीन प्रमुख राजनीतिक दलहरूबीच सहकार्यको वातावरण बनेको चर्चा गर्दै अब सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
नेता ठाकुरले विगतमा आफूहरूले भोगेको राजनीतिक दमन र कारागार जीवनको स्मरण गर्दै वर्तमान राजनीतिक नेतृत्वलाई चेतावनीपूर्ण शैलीमा सचेत पनि गराए ।
‘अब बाहिर रहने अवस्था छैन, पलायन छोडेर आफ्नो भूमिमा आउनुहोस्, हामी स्वागत गर्छौं,’ उनले भने, ‘हामीले जनताका लागि राजनीति गरेका हौँ भने व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्छ । पहिले समूह र जनताको हित हेर्नुस्, त्यसपछि मात्र व्यक्तिगत लाभका कुरा आउँछन् ।’
राजनीतिक नैतिकताको चर्चा गर्दै ठाकुरले राजनीति विशुद्ध रूपमा जनताको सेवाका लागि हुनुपर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया 4