+
+
Shares

सिमरा सेजको बस्ती हटाउने तयारी, उद्योगमन्त्री फिल्डमा

सिमरा सेजको क्षेत्राधिकारमा पर्ने जग्गामा बसोबास तथा खेतीपाती गरिरहेका स्थानीयवासीले मन्त्री यादवलाई ज्ञापनपत्र बुझाउँदै आफूहरूको पुनर्स्थापना गरेर मात्र अघि बढ्न सरकारसँग माग गरेका छन् ।

सुनिल गाउँले सुनिल गाउँले
२०८३ जेठ १० गते १६:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योगमन्त्री गौरीकुमारी यादवले बारास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को अतिक्रमित जग्गाको आइतबार स्थलगत अनुगमन गरेकी छन् ।
  • सिमरा सेजको जग्गामा बसोबास गरिरहेका ९३ परिवारले आफ्नो पुनर्स्थापनाको माग गर्दै उद्योगमन्त्री यादवलाई ज्ञापनपत्र बुझाएका छन् ।
  • जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले अतिक्रमित क्षेत्र खाली गर्दा विगतको इतिहासलाई विचार गर्न मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

१० जेठ, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा पर्ने विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को अतिक्रमित क्षेत्र खाली गर्ने तयारी भइरहेका बेला आइतबार उद्योग मन्त्री गौरीकुमारी यादवले स्थलगत अनुगमन गरेकी छन् ।

शनिबार नै बारा आएर बसेकी उद्योग मन्त्री यादव आइतबार बिहानै सिमरा सेजअन्तर्गत पर्ने जीतपुरसिमरा उपमहानगरपालिका–४, १४ र १५ नम्बर वडामा रहेको जग्गा अनुगमनमा गएकी हुन् ।

उद्योग सचिव कृष्णबहादुर राउतसहित बारा आएकी मन्त्री यादवले बाराका सुरक्षा निकाय तथा स्थानीय तहका प्रतिनिधीहरूसँग करिब आधा घण्टा छलफलसमेत गरेकी थिइन् ।

सञ्चारकर्मीलाई बाहिर राखेर गरिएको छलफलबारे मन्त्री यादवले कुनै प्रतिक्रिया दिइनन् । छलफल सकेर निस्कने क्रममा सञ्चारकर्मीले प्रश्न गर्न खोज्दा मन्त्री यादवले अहिले केही नबोल्ने बताइन् ।

उद्योग सचिव राउतले मन्त्रीको अनुगमन र सेजको अतिक्रमित जग्गा खाली गराउने विषयमा मन्त्रालयमा थप छलफल हुने र कसरी अघि बढ्ने भन्ने विषय तय हुने जानकारी दिए ।

‘आज मन्त्रीज्यूको अनुगमन र सरोकारवालाबीच भएको छलफलका सन्दर्भमा मन्त्रालय पुगेर धेरै विषय टुंग्याउन पर्ने देखिएको छ,’ उद्योग सचिव राउतले भने ।

सिमरा सेजका उद्योगद्वारा उत्पादन सुरु – Online Khabar

९३ परिवारले मागे पुनर्स्थापना

सिमरा सेजको क्षेत्राधिकारमा पर्ने जग्गामा बसोबास तथा खेतीपाती गरिरहेका स्थानीयवासीले मन्त्री यादवलाई ज्ञापनपत्र बुझाउँदै आफूहरूको पुनर्स्थापना गरेर मात्र अघि बढ्न सरकारसँग माग गरेका छन् ।

विगतमा वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको उक्त जग्गामा चिनी कारखानाका मजदुरलाई कारखानाले उपलब्ध गराएको जग्गाको सट्टा सरकारले अन्यत्र पुनर्स्थापना गरिदिनुपर्ने उनीहरूको माग छ ।

वीरगञ्ज चिनी कारखानामा काम गर्ने मजदुर तथा तिनका परिवारलाई तत्कालीन कारखाना व्यवस्थापनले खेतीपाती र बसोबासका लागि उपलब्ध गराएको जग्गामा आफूहरू अहिले पनि बसिरहेको र व्यवस्थापनको दायित्व सरकारको रहेको स्थानीय लक्ष्मी नेपालीले बताइन् । ‘९३ घरपरिवारका तर्फबाट हामीले मन्त्रीज्यूलाई ज्ञापनपत्र पनि दिएका छौं,’ नेपालीले भनिन् ।

सरकारले आफूहरूको व्यवस्थापन गरिदिए सेजको जग्गा छाड्न कुनै आपत्ति नरहेको स्थानीयले बताएका छन् ।

६०० घरधुरीको अव्यवस्थित बसोबास

सिमरा सेजले २०७७/०७८ मा निकालेको तथ्यांकमा यहाँ ६०६ घरपरिवार सेजको जग्गामा बसोबास गरिरहेका छन् ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक मेघराज शंकरले मन्त्री यादवलाई यहाँको अतिक्रमणबारे जानकारी गराउँदै हाल अतिक्रमण बढेको हुनसक्ने बताए ।

‘हामीले २०७७/०७८ मा तयार पारेको तथ्यांकले ६०६ घर अतिक्रमण गरी बनेको देखिन्छ । अहिले यो संख्या बढेको हुन सक्छ’ उनले भने ।

‘सबैलाई एउटै तराजुमा नहालियोस्’

जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले सेजको जग्गा अतिक्रमण भएको भन्ने विषयमा सबैलाई एउटै तराजुमा हाल्न नहुने भन्दै मन्त्री यादवको ध्यानाकर्षण गराए ।

‘सिमरा सेजको जग्गा खाली हुनुपर्छ, उद्योग बन्नुपर्छ तर अतिक्रमित क्षेत्र खाली गर्ने नाममा विगतको इतिहासलाई बिर्सेर मन्त्रालय र प्राधिकरण अघि नबढोस्,’ नगर प्रमुख पौडेलले भने ।

सिमरा सेजको जग्गा व्यवस्थापन र उद्योग सञ्चालनका सम्बन्धमा आवश्यक सहजीकरणका लागि उपमहानगरपालिकाले विगतमा पनि सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने नगर प्रमुख पौडेलले बताए ।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र सहितका सुरक्षा निकायका प्रमुखहरू पनि उपस्थित थिए । मन्त्री यादवले सुरक्षा निकाय र स्थानीय तहका प्रतिनिधिसँग छलफल गर्नुअघि सिमरा सेजका अन्य सरोकारवालासँग अन्तर्क्रियासमेत गरेकी थिइन् ।

मन्त्री यादवले शनिबार बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मधेश प्रदेश डिपो र रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको अनुगमन तथा निरीक्षण गरेकी थिइन् ।

लेखक
सुनिल गाउँले

दुई दशकदेखि पत्रकारिता गरिरहेका गाउँले अनलाइनखबरका बारास्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?