News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अद्यावधिकको काममा असहयोग गर्ने ५० जना वडा सभापतिको ठाउँमा नयाँ व्यक्तिलाई जिम्मेवारी दिएका छन् ।
- नेपाली कांग्रेसमा जेठ २१ गतेसम्म सदस्यता अद्यावधिक गर्ने समय तोकिएकोमा हालसम्म १ लाख ७२ हजारभन्दा बढीको विवरण सूचीकृत भइसकेको छ ।
- पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्ष १५औं महाधिवेशनका लागि पुराना नवीकरण नै यथावत् राख्नुपर्ने पक्षमा अडिग छन् ।
१० जेठ, काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता टुंगो लगाएसँगै तहगत अधिवेशनको प्रक्रिया सुरु हुन्छ । तर क्रियाशील सदस्यता टुंगो लगाउने विषय नै कांग्रेसभित्र विवादित मुद्दा बन्दै आएको छ ।
संस्थापन पक्षले आफू अनुकूल हुने गरी सदस्यता वितरण गर्ने र महाधिवेशन प्रतिनिधि छनोटमा चलखेल गर्ने गरेको इतर पक्षको आरोप परम्परा जस्तै छ । पार्टीभित्र यही विषयले सधैं किचलो भए पनि क्रियाशील सदस्यको संख्या भने बढिरहेको विगतमा सार्वजनिक भएको तथ्यांकले देखाउँछ । १४औं महाधिवेशनअघि सार्वजनिक गरिएको क्रियाशील सदस्यको संख्या ८ लाख ५२ हजार ७११ जना थियो ।
गत असारमा तत्कालीन महामन्त्री एवं सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाले पार्टी बैठकमा ८ लाख ७० हजार क्रियाशील सदस्य रहेको आँकडा प्रस्तुत गरेका थिए । नेताहरूले सार्वजनिक रूपमा बोल्ने क्रममा कांग्रेसको १० लाख क्रियाशील सदस्य रहेको दाबी गर्दै आएका पनि थिए । नियमित महाधिवेशन हुन नसकेसँगै १४औं महाधिवेशनका आधारमा चयन भएका प्रतिनिधिको बलमा विशेष महाधिवेशन भयो ।
कांग्रेसको महाधिवेशनअघि सार्वजनिक हुने सदस्य संख्या हरेक पटक बढ्दै गएको देखिन्छ । तर राष्ट्रिय चुनावमा कांग्रेसले प्राप्त गर्ने मत भने घट्छ । त्यसपछि, आफ्नै पार्टीलाई मत नदिने देखावटी सदस्या किन राख्ने भन्ने बहस सुरु हुन्छ । चुनाव लगत्तै नेता-कार्यकर्ताले क्रियाशील सदस्यको ‘अवास्तविक संख्या’ बारे चर्चा गर्छन् । कुनै वडामा क्रियाशील सदस्य संख्या बराबर पनि आफ्नो दलको उम्मेदवारलाई मत नआएपछि सदस्यता वितरण प्रणालीमाथि प्रश्न उठ्छ ।
कुनै एउटा क्रियाशील सदस्यले आफू बाहेक थप दुई जनाको मत पनि बढाउन सक्दैन भने सदस्यता संख्या थपिएको देखाउनुको औचित्य नहुने टिप्पणी पनि पार्टी भित्र छ । यदि चुनावअघि कांग्रेसका ८ लाख ७० हजार क्रियाशील सदस्य थिए भने उनीहरू हरेकले थप दुई जनाको मत थप्न सकेको भए समानुपातिकमा कांग्रेसले २६ लाख १० हजार मत प्राप्त गर्न सक्थ्यो । कांग्रेसले समानुपातिक मत १७ लाख ५९ हजार १७२ मत प्राप्त गर्यो ।
कांग्रेसको क्रियाशील सदस्य हुँ भन्ने तर कांग्रेसकै पक्षमा मत नहालेको बुझाइ कांग्रेस नेतृत्वमा छ । अर्कोतर्फ, अनुशासन समितिमा आफ्नै उम्मेदवार हराउन पार्टीकै क्रियाशील सदस्य सक्रिय रहेको उजुरीहरू पनि परेका छन् ।
चुनावमा पराजित भएसँगै विशेष महाधिवेशन पक्षधर कतिपय नेता-कार्यकताले हालसम्म जारी भएका सबै क्रियाशील सदस्यता खारेज गर्नुपर्ने तर्क राखे । पार्टीले क्रियाशील सदस्यता ‘खारेज’ गर्ने निर्णय त गरेन । तर अद्यावधिक गर्नुपर्ने निर्णय लियो ।

२०८३ सालको नयाँ वर्षको पहिलो दिनदेखि सदस्यता अद्यावधिकको प्रक्रिया सुरु भयो । नेता-कार्यकर्ता सबै आफ्नै वडामा गएर अद्यावधिक गर्नुपर्ने पार्टीले बनाएको विधिअनुसार सभापति गगन थापाले वैशाख १ गते अद्यावधिक गरे ।
विशेष महाधिवेशनको विपक्षमा रहेको एउटा पक्षले सदस्यता अद्यावधिक गर्ने निर्णयप्रति तीव्र विमति राखिरहेको छ । पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्ष १५औं महाधिवेशनका लागि गरिएका नवीकरण नै यथावत् हुनुपर्नेमा अडिग छन् ।
सभापति थापा अद्यावधिक गराउने कार्यमा कठोर रहेको नेताहरूले जानकारी गराएका छन् । त्यसको संकेत थापाले दुई दिनअघि इटहरीमा भएको प्रदेशस्तरीय पार्टी कार्यक्रममा गरिसकेका छन् । सभापति थापाले सदस्यता अद्यावधिकको काममा असहयोग गर्ने झण्डै ५० जना वडा सभापतिको ठाउँमा नयाँ व्यक्तिलाई जिम्मेवारी दिएका छन् ।
सभापति थापाले भने, ‘हिजो मैले करिब ५० जना वडा सभापतिको ठाउँमा नयाँ साथीलाई क्रियाशीलसम्बन्धी काम गर्न जिम्मेवारी दिएको छु ।’ ती ५० वडामा असहयोग गर्ने वडा सभापतिहरू कोको हुन् भन्ने खुलाइएको भने छैन ।
पार्टी स्रोतका अनुसार असहयोग गर्ने थप वडा सभापतिहरूको पनि जिम्मेवारी अर्को व्यक्तिलाई दिन लागिएको छ । एक जना शीर्ष तहका नेताले भने, ‘अद्यावधिक नगर्ने वडा सभापतिहरूको जानकारी महामन्त्रीसँग सभापतिले लिनुभएको छ । पार्टी निर्णय नमान्नेहरूले बाटो खाली गरिदिनुपर्छ ।’
महामन्त्री प्रदीप पौडेल क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजक छन् । ती नेताका अनुसार विशेष महाधिवेशनबाट आएको नेतृत्वले गरेको निर्णयअनुसार सदस्यता अद्यावधिकका लागि अटेरी गर्ने अरू वडा सभापतिको अधिकार पनि अर्को व्यक्तिलाई प्रत्यायोजन गरिने छ ।
अद्यावधिकलाई प्रभावकारी बनाउन भौतिक रूपमा वडा कार्यालयमा उपस्थित हुनु नपर्ने विधि बनाइएको छ । मोबाइल एप, क्युआर वा पार्टी कार्यालयले उपलब्ध गराएको नम्बरमा सम्पर्क गरेर अद्यावधिक गराउन सकिने छ ।
कुनै व्यक्तिको अद्यावधिकको रुजु भने वडा सभापतिले गर्नुपर्ने हुन्छ । अद्यावधिक गर्ने क्रममा कुनै जिज्ञासा भए केन्द्रीय कार्यालयमा सम्पर्क गरेर सहयोग लिन सकिने व्यवस्था गरिएको छ ।
कांग्रेस सदस्यको अद्यावधिकको कार्य गर्ने गरी केन्द्रीय कार्यालयमा दर्जन बढी व्यक्ति खटिएको सदस्यता व्यवस्थापन समितिले जानकारी गराएको छ । सदस्यता अद्यावधिक गर्न सहजता बनाउन भिडियो सामग्री बनाइएको छ । सदस्यता व्यवस्थापन समितिका अनुसार एआईको सहयोग लिएर पनि अद्यावधिकको प्रक्रिया पूरा गर्न सकिने छ ।
सदस्यता अद्यावधिक गर्ने प्रक्रिया बुझ्न र वडा सभापतिले गरेको असहयोगका बारेमा जानकारी गराउन दैनिक ५०० बढी फोन कल आउने गरेको केन्द्रीय कार्यालयका एक कर्मचारीले बताए ।
अनलाइनबाट अद्यावधिक गर्न इन्टरनेटले समस्या हुने स्थानमा भने फर्म भर्ने व्यवस्था गरिएको छ । इन्टरनेटका कारणले अद्यावधिकमा समस्या पर्न सक्ने कुरामा मध्यनजर गर्दै पहाडी र हिमाली ३० जिल्लामा फर्मसमेत पठाइएको छ ।
मधेस र सुदूरपश्चिमबाट तुलनात्मक रूपमा कम अद्यावधिक भएको बताइएको छ । सदस्यता व्यवस्थापन समितिका संयोजक महामन्त्री पौडेलका अनुसार रुजु भई सूचीकृत हुनेको संख्या हालसम्म १ लाख ७२ कटेको छ । उनका अनुसार वडा सभापतिहरूले रुजु नगरेको र फर्ममार्फत आएका आवेदनको संख्या यो तथ्यांकमा समावेश गरिएको छैन ।
जेठ २१ गतेसम्म अद्यावधिक गर्ने समयावधि तोकिएको छ । त्यसपछि १५औं महाधिवेशनका लागि चुनावअघि नवीकरण गरेका तर अद्यावधिक हुन नसकेका क्रियाशील सदस्यको सूचीकृत गर्ने सदस्यता व्यवस्थापन समितिले जानकारी गराएको छ ।
पार्टीले सदस्यता अद्यावधिक गर्दा परिचय खुल्ने कागजात, फोन नम्बर, फोटो लगायतलाई अनिवार्य गरिएको छ । फोन नम्बर आवश्यक पर्नुको उद्देश्य पार्टी पङ्तिमा एकै साथ प्रवाह हुने गरी ठूलो संख्यामा आधिकारिक धारणा पुर्याउनु रहेको सभापति थापा बताउँछन् ।
‘विश्वव्यापी रूपमै प्रचारको तरिका परिवर्तन भइसक्यो । डिजिटल प्रविधिले गर्दा एकैपटक पाँच लाखको बीचमा बोल्न सक्छु,’ सभापति थापा भन्छन्, ‘यस्तो बेलामा पार्टीसँग क्रियाशील सदस्यसँग सिधै सम्पर्क गर्ने डेटा छैन । त्यो डेटा बनाऔं । त्यो डेटा ल्याकत हो भन्दा बुझिनसक्नुको कुरा भयो ।’
महामन्त्री पौडेलका अनुसार सदस्यता अद्यावधिक अभियानकै कारण पार्टी चलायमान हुनुको साथै उत्साह थपेको छ । उनी भन्छन्, ‘वडा वडामा कार्यक्रमहरू भइरहेको छ । पार्टीका साथीहरूले धमाधम अद्यावधिक गरेका छन् । यस्तो पारदर्शी भएको कामलाई देखेका साथीहरूले शंका गरेर भेला-बैठक गरेका छन् ।’
प्रतिक्रिया 4