+
+
Shares

हिमालयन लिटरेचर फेस्टिभल शुक्रबारदेखि सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा जेठ १५ देखि २२ गतेसम्म ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कप’ आयोजना हुने भएको छ ।
  • नेपाली साहित्यकार गुरुप्रसाद मैनालीको योगदानको सम्मानमा समर्पित यस महोत्सव एनसेल फाउन्डेसनको सहकार्यमा हुन लागेको हो ।
  • महोत्सवमा पुलित्जर पुरस्कार विजेता ट्रेसी के. स्मिथ र पल मल्डुनसहित नेपाल तथा विभिन्न देशका विशिष्ट साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

११ जेठ, काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कप’ आगामी शुक्रबार (जेठ १५) देखि हुने भएको छ ।

दक्षिण एसियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटमध्येको एक संस्करण जेठ २२ गतेसम्म काठमाडौंमा आयोजना हुने छ ।

महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकको सहभागिता रहनेछ ।

एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करणको आठ दिने अन्तर्राष्ट्रिय कार्यक्रम नेपाली साहित्यमा गुरु प्रसाद मैनालीले पुर्‍याएको दीर्घकालीन योगदानको सम्मानमा समर्पित छ । यस वर्षको महोत्सव हिलिङ, चेतना, सिर्जनशीलता, स्मृति तथा तीव्र परिवर्तनशील विश्वमा सांस्कृतिक संवादका विषयमा केन्द्रित रहनेछ ।

साताव्यापी कार्यक्रममा मास्टर क्लास, कार्यशाला, मुख्य वक्तव्य, कविता वाचन, साहित्यिक संवाद, चलचित्र प्रदर्शन, सांस्कृतिक भ्रमण तथा साहित्य र कलाको रूपान्तरणकारी शक्तिमाथि केन्द्रित अन्तरविषयक छलफल समावेश गरिएका छन् ।

यस महोत्सवमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के. स्मिथ र पल मल्डुन, चर्चित उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज, कवि तथा अनुवादक टोनी बार्नस्टोन, विश्वप्रसिद्ध हिमालयन कवि युयुत्सु शर्मा, आइरिस साहित्यिक सम्पादक मार्टिन डोयल, ब्रुकलिन ‘पोएट लौरिएट’ टिना चाङ लगायतको उपस्थिति रहनेछ ।

नेपाल, भारत, आयरल्यान्ड, अस्ट्रिया, पोल्यान्ड, संयुक्त राज्य अमेरिका तथा अन्य देशका विशिष्ट साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

महोत्सवभरि कविता, संस्मरण, जादुई यथार्थवाद, कृत्रिम बुद्धिमत्ता (एआई) र सिर्जनात्मक लेखन, महिला साहित्य, आदिवासी आख्यान, आघात र हिलिङ, ध्यान र सिर्जना, अनुवाद, प्रस्तुति कला तथा डिजिटल युगमा साहित्यको भविष्यजस्ता विविध विषयमा सत्रहरू सञ्चालन गरिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?