+
+
Shares

ठमेलमा विदेशी महिलाको यौनधन्दा, प्रहरीले ४ अपरेशन चलाएर ४१ जनालाई समात्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले काठमाडौंको ठमेलबाट यौनधन्दामा संलग्न आरोपमा ४ युगाण्डाली र १ केन्याली गरी ५ विदेशी महिलालाई पक्राउ गरेको छ ।
  • काठमाडौं प्रहरीले सुरक्षित काठमाडौं अभियानअन्तर्गत विगत २ महिनामा चलाएका ४ अपरेशनबाट ४१ विदेशी महिलालाई पक्राउ गरेको छ ।
  • भिजिट भिसामा नेपाल आएर ठमेल क्षेत्रमा यौनधन्दा गर्ने विदेशी महिलाहरू २३ देखि ४५ वर्ष उमेर समूहका रहेको प्रहरीले जनाएको छ ।

११ जेठ, काठमाडौं । नेपालको प्रमुख पर्यटकीय क्षेत्रमध्येको एक ठमेल क्षेत्रबाट प्रहरीले आज सोमबार पाँच विदेशी महिलालाई पक्राउ गर्‍यो ।

जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त सोह्रखुट्टे समेतको टोलीले पाँच विदेशी महिलालाई पक्राउ गरेको छ ।

परिसर काठमाडौंका प्रमुख तथा एसएसपी रमेश थापाकाअनुसार पक्राउ पर्नेहरूमा चार जना युगाण्डाका महिला छन् भने एक जना केन्याकी महिला छन् ।

उनीहरू पक्राउ पर्नुको मुख्य कारण नै यौनधन्दा रहेको पाइएको छ ।

प्रहरीका अनुसार विदेशबाट काठमाडौं आउने र ठमेल क्षेत्रलाई अखडा बनाएर यौनकर्मीको रुपमा काम गर्ने, यौनधन्दाका लागि मोलमोलाई गर्ने पाइएपछि उनीहरू पक्राउ परेका हुन् ।

स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने ठमेलमा रात्रीकालिन व्यवसाय लक्षित गर्दै उनीहरूले रातको समयमा यौनकर्मीको काम गर्ने गरेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी बताउँछन् ।

उनीहरूविरुद्ध म्याद लिएर अनुसन्धान अघि बढाइने प्रहरीले बताएको छ ।

यसको तीन दिनअघि ८ जेठमा मात्रै ठमेलबाटै प्रहरीले ७ विदेशी महिला पक्राउ गरेको थियो । उनीहरू पनि युगाण्डाकै रहेको प्रहरीले बताएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अनावश्यक हैरानी दिने, बाटो छेक्दै यौनधन्दाको मोलमोलाई गर्ने गरेको पाइएपछि उनीहरू पक्राउ परेका थिए ।

उनीहरूविरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । अनुसन्धानको क्रममा उनीहरूको मुख्य उदेश्य नै काठमाडौं आएर यौनभन्दामा सक्रिय हुनु देखिएको एक अनुसन्धान अघिकृत बताउँछन् ।

यसभन्दा अघि ११ चैत २०८२ मा प्रहरीले २० विदेशी महिलालाई पक्राउ गरेको थियो । त्यतिबेला प्रहरीले सार्वजनिक रुपमै पैसाको बार्गेनिङ गर्दै यौन धन्दा चलाएको बताएको थियो । ठमेलको फायरचोकस्थित सडकबाटै २० जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरूलाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई जनही १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । प्रशासनको आदेशपछि छुटेका उनीहरूलाई अध्यागन विभाग बुझाइएको थियो । अध्यागमनले एक वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट गरेको हो ।

यसभन्दा अघि २ वर्ष पहिले पनि ठमेलबाट ८ युगाण्डा १ केन्याका महिला गरी ९ जना पक्राउ परेका थिए । त्यसपछि लामो समयसम्म प्रहरीले अपरशेन चलाएको थिएन । अहिले भने सुरक्षित काठमाडौं अभियान अन्तर्गत काठमाडौं प्रहरीले अवैध र अनैतिक गतिविधि गर्नेविरुद्ध निगरानी गर्दै २ महिनाको अवधिमा चार वटा अपरेशन चलाएर ४१ विदेशी महिला पक्राउ परेको छ ।

जेनजी आन्दोलनपछि चोरी, लुटपाट जस्ता गतिविधि बढ्न सक्ने भन्दै काठमाडौं प्रहरीले रात्री गस्तीलाई पनि ब्यापक बनाएको बताएको छ । त्यस्तै पर्यटकीय क्षेत्र ठमेलमा झनै यस्ता गतिविधि बढ्न सक्ने सुरक्षा बढाएर गस्ती गरिएको काठमाडौंका एसएसपी थापा बताउँछन् ।

२३ देखि ४५ वर्ष उमेर समूहका

यसरी काठमाडौं आएर ठमेलमा यौन क्रियाकलापमा सक्रिय हुने विदेशी महिलाहरूको उमेर समूह भने २३ देखि ४५ बीचको उमेर समूह रहेको प्रहरीले बताएको छ । सबैभन्दा बढी भने ३० वर्ष आसापासका महिलाहरू रहेको प्रहरीले बताएको छ ।

भिजिट भिसामा नेपाल आउने र ठमेलका सडकमा खुल्लमखुल्ला यौनधन्दाको मोलमोलाइ गर्दै ग्राहक खोज्दै उनीहरूले यौन पेसा चलाएको प्रहरीकाले बुझाइ छ । भिसाको म्याद सकिदासम्म काठमाडौं बसेर यौनधन्दामा सक्रिय हुने गरेको देखिएको छ ।

यौनधन्दाबाट केही रकम आर्जन गरेपछि उनीहरूले स्वदेश फर्कने गरेको देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?