News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र दक्षिण कोरियाली राजदूत पार्क ते–योङबीच द्विपक्षीय सहकार्य सुदृढ बनाउने सहमति भएको छ ।
- कोरियाली सहयोगमा वितरित उन्नत गाईको दूध उत्पादन दोब्बर भएपछि सिन्धुली क्षेत्रमा पशुपन्छी क्लस्टर हब विकास गरिने भएको छ ।
- मन्त्री चौधरीले डिजिटल कृषि र जलवायु स्मार्ट खेतीका लागि कोरियासँग थप प्राविधिक सहयोगको अपेक्षा गरेकी छिन्।
११ जेठ, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ते–योङबीच मन्त्रालयमा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको छ ।
भेटमा नेपाल र कोरियाबीच कृषि, पशुपन्छी, वन तथा वातावरण क्षेत्रमा हुँदै आएका कामलाई थप सुदृढ र प्रभावकारी बनाउने सहमति भएको छ ।
भेटमा राजदूत पार्कले कोरियाको सहयोगमा नेपालमा वितरण गरिएका १ सय ८ वटा उन्नत जातका गाई (हिफर) बाट उत्साहजनक नतिजा प्राप्त भएको जानकारी दिए ।
स्थानीय जातको तुलनामा दूध उत्पादन दोब्बर भएको र तेस्रो पुस्तासम्मका बाछाबाछी जन्मिसकेको बताउँदै उनले अब सिन्धुली क्षेत्रमा ‘पशुपन्छी क्लस्टर हब’ विकास गर्ने योजना रहेको सुनाए ।
राजदूत पार्कले नेपाल कृषि अनुसन्धान परिषद्सँगको सहकार्यमा गत वर्ष स्थापना गरिएको ‘कोपिया सेन्टर’ ले हाल प्रारम्भिक चरणमा आलु र तरकारीको उन्नत अनुसन्धानमा विशेष काम गरिरहेको जानकारी दिए ।
कोरियाले कोइका मार्फत तराईमा ‘जलवायु अनुकूलित धान उत्पादन आयोजना’ र तरकारीको मूल्य शृङ्खला विकास सम्बन्धी कार्यक्रम अगाडि बढाएको छ । साथै, रसुवामा निर्माणाधीन त्रिशूली जलविद्युत् आयोजना र वातावरण संरक्षणका क्षेत्रमा पनि कोरियाले सक्रियता देखाएको छ ।
कोरियामा रोजगारी गरेर फर्केका नेपाली युवाले त्यहाँ सिकेको सिपलाई नेपालमा उद्यमशीलतामा प्रयोग गरिरहेको भन्दै राजदूत पार्कले प्रशंसा गरे । यद्यपि, ‘कोरिया प्रोग्राम अन इन्टरनेसनल एग्रिकल्चर’ (कोपिया) का प्रतिनिधिले अनुसन्धानकर्ताहरूको छोटो अवधिको भिसा समस्याले काममा चुनौती थपेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराए ।
भेटका क्रममा मन्त्री चौधरीले कोरियाली सहयोगप्रति आभार व्यक्त गर्दै वर्तमान सरकारले दुग्ध विकास संस्थान (डीडीसी) को सुदृढीकरण र आधुनिक दुग्ध प्रविधि विस्तारलाई प्राथमिकता दिएको बताइन् । उनले कोपियासँग सम्बन्धित भिसा र अन्य प्रशासनिक समस्या समाधान गर्न समन्वय भइरहेको जानकारी दिइन् ।
‘नेपालले अब डिजिटल कृषि, जलवायु स्मार्ट खेती र युवा स्टार्टअपमा जोड दिएको छ,’ उनले भनिन्, ‘कोरियाबाट उन्नत जातका स्याउ, ओखरका बिरुवा, कम लागतको स्मार्ट सिँचाइ र जैविक मल उत्पादनमा थप प्राविधिक सहयोगको अपेक्षा गरेका छौं ।’
भेटवार्तामा दुवै पक्षले नेपाल र कोरियाबीचको दीर्घकालीन सम्बन्ध परिणाममुखी बनाउन र ‘लर्न एन्ड अर्न’ जस्ता कार्यक्रम थप विस्तार गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
प्रतिक्रिया 4