News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशका होटल तथा पर्यटन व्यवसायीले ‘घुमौं मधेश, बुझौं प्रदेश’ अभियान अन्तर्गत गण्डकी प्रदेशको भ्रमण सम्पन्न गरेका छन् ।
- आगामी जेठ २८ देखि ३१ गतेसम्म आयोजना हुने ‘मधेश टुरिजम मार्ट’ मा गण्डकीका व्यवसायीलाई आमन्त्रण गर्न यो यात्रा गरिएको हो ।
- भ्रमण टोलीले बन्दीपुर, पोखरा र सौराहाका स्थानीय व्यवसायीहरूसँग मधेशका पर्यटकीय क्षेत्र प्रवर्द्धन गर्नेबारे छलफल गरेको छ ।
१२ जेठ, बारा । मधेश प्रदेशका होटल तथा पर्यटन व्यवसायीले ‘घुमौं मधेश, बुझौं प्रदेश’ भन्ने नाराका साथ गण्डकी यात्रा सम्पन्न गरेका छन् । जेठ ८ गतेबाट शुरु भएको यात्रा सोमबार सम्पन्न भएको हो ।
जेठ २८ देखि ३१ गतेसम्म मधेशमा आयोजना हुन लागेको ‘मधेश टुरीजम मार्ट’ मा पर्यटकीय नगरी पोखरासहित गण्डकी प्रदेशका विभिन्न पर्यटन व्यवसायीलाई समेट्ने लक्ष्यसहित गण्डकी यात्रा सम्पन्न गरिएको नेपाल एशोसियन अफ टुर्स एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा) मधेश प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको नेतृत्वमा मधेशका ३५ जना व्यवसायी गण्डकी यात्रामा सहभागी थिए । महासंघका अध्यक्ष हिरा गौतमका अनुसार बन्दिपुर, पोखरा र सौराहामा स्थानीय व्यवसायीहरुसँग मधेशका पर्यटकीय क्षेत्र प्रवर्द्धनका लागि अन्तरक्रिया समेत गरिएको थियो ।
भ्रमणका क्रममा गण्डकीका पर्यटन व्यवसायीहरुसँगको सहकार्यमा गण्डकी पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई मधेशका पर्यटकीय गन्तव्यसम्म ल्याउने सम्भावनाबारे छलफल गरिएको महासंघका अध्यक्ष गौतमले बताए ।
भ्रमण टोलीले बन्दीपुरमा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा सहितका स्थानीय व्यवसायीहरुसँग अन्तरक्रिया गरेको थियो । पोखरामा पोखरा भ्रमण वर्ष २०२५/२६ का संयोजक गोपीबहादुर भट्टराई र सौराहामा क्षेत्रीय होटल संघका उपाध्यक्ष गुणराज थपलियाको नेतृत्वमा स्थानीय व्यवसायीहरुसँग अन्तर–प्रदेश पर्यटन प्रवर्द्धनका सम्बन्धमा छलफल गरेको थियो ।
सप्तरीदेखि पर्सासम्म मधेशका विभिन्न पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि हुन लागेको मधेश टुरिजम मार्ट बाराको पर्सा राष्ट्रिय निकुञ्ज, धनुषाको जनकपुरधाम र सप्तरीको सखडा भगवती लगायतका पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा केन्द्रित रहने जनाइएको छ । मार्टमा नेपालसहित भारतका विभिन्न शहरहरुबाट होटल व्यवसायी, टुर्स अपरेटर र डिजिटल कन्टेन्ट क्रियटरहरुलाई सहभागि गराउने उद्देश्य राखिएको छ ।
नेपाल पर्यटन बोर्डको आयोजना, नाट्टा मधेश प्रदेशको संयोजन र विभिन्न स्थानीय तह तथा संघसंस्थाको सहकार्यमा हुन लागेको मधेश टुरिजम मार्टले मधेश प्रदेशको पर्यटकीय गन्तव्य प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्ने नाट्टा मधेशका अध्यक्ष शर्माको भनाइ छ ।
प्रतिक्रिया 4