News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा आयोजक नेपालले साविक विजेता इरानको सामना गर्ने तय भएको छ ।
- अर्को सेमिफाइनल खेलमा समूह 'ए' को विजेता भारतले समूह 'बी' को उपविजेता कजाखस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
- प्रतियोगितामा लगातार दुई जित दर्ता गरेसँगै घरेलु टोली नेपाल एफआईभीबी विश्व वरियताको ५४औं स्थानमा उक्लिएको छ ।
१२ जेठ, काठमाडौं । काठमाडौंमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिपमा समूह चरणको खेलहरु पूरा भएपछि सेमिफाइनल समिकरण पूरा भइसकेको छ ।
सेन्ट्रल एसियाको ८ टिम समावेश यस प्रतियोगितामा समूह ‘ए’ बाट भारत समूह विजेता र नेपाल उपविजेता तथा समूह ‘बी’ बाट इरान समूह विजेता र काजखस्तान समूह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका छन् ।
मंगलबार भएको समूह चरणको खेलमा भारतले कीर्गिस्तानलाई तथा इरानले कजाखस्तानलाई सोझो सेटमा पराजित गरेपछि सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको हो ।
अब सेमिफाइनलमा समूह ‘ए’ को विजेता भारतले समूह बी को उपविजेता कजाखस्तानसँग खेल्नेछ भने समूह ‘ए’ को उपविजेता बनेको घरेलु टोली नेपालले समूह ‘बी’ को विजेता इरानको सामना गर्नेछ ।
समूह ए मा भारतले तीनै खेल जित्दै ८ अंक जोड्यो । भारतले नेपाल विरुद्धको खेल पाँच सेटमा जित्दा अंक बाँड्नुपरेको थियो । नेपाल दुई जित र १ हारसहित ७ अंक जोडेर दोस्रो स्थानमा रह्यो । यस्तै कीर्गिस्तानले १ जितबाट ३ अंक जोड्दै तेस्रो र तीनै खेल हारेको माल्दिभ्स अंकविहीन हुँदै चौथोमा रह्यो ।
यस्तै समूह ‘बी’ मा इरानले कजाखस्तान, श्रीलंका र बंगलादेशलाई समान ३-० को सेटमा पराजित गर्दै ९ अंक जोडेर पहिलो स्थानमा रह्यो । कजाखस्तानले २ जितबाट ६ अंक जोडेर दोस्रो भयो । श्रीलंकाले एक खेल जित्दा २ खेलमा पराजित भयो र ३ अंक जोड्यो । सबै खेल हारेको बंगलादेश अंकविहीन रह्यो ।
दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्दा बटमका दुई टिमले भने प्रतियोगिताको वरियता निर्धारणका कारण प्लेअफ खेलहरु खेल्नेछन् । जहाँ समूह ‘ए’ मा तेस्रो भएको कीर्गिस्तानले समूह ‘बी’ को चौथो टिम बंगलादेश तथा समूह ‘बी’ को तेस्रो भएको श्रीलंकाले समूह ‘ए’ को चौथो टिम माल्दिभ्ससँग मंगलबार खेल्नेछ ।
यी दुई खेलको विजेताले पाँचौं स्थानको प्लेअफको तथा पराजित हुने टोलीले सातौं स्थानको प्लेअफका लागि बुधबार खेल्नेछ । यी खेलहरू सकिएपछि बिहीबार सेमिफाइनल खेल हुनेछ ।

पहिलो सेमिफाइनल भारत र कजाखस्तानबीच बिहीबार दिउँसो साढे २ बजे सुरु हुनेछ । यस्तै दोस्रो सेमिफाइनल इरान र नेपालबीच बिहीबार साँझ ५ बजे सुरु हुनेछ ।
इरान यस प्रतियोगिताको साविक विजेता समेत हो । सन् २०२४ मा काभा महिला च्यालेन्ज कपको नामबाट काठमाडौंबाटै सुरु भएको यस प्रतियोगिताको यो तेस्रो संस्करण हो भने नाममा पनि केही परिमार्जन गरिएको छ । त्यसबेला पाँच टिम सहभागी हुँदा भारत च्याम्पियन बनेको थियो भने नेपाल दोस्रो र इरान तेस्रो भएको थियो ।
सन् २०२५ मा दोस्रो संस्करण काठमाडौंमै हुने तय भएपनि जेनजी आन्दोलनको कारणले नेपालमा हुन सकेन र २०२५ अक्टोबरमा उज्वेकिस्तानमा आयोजना भयो । चार टिममात्र सहभागी भएको त्यस प्रतियोगितामा इरानले फाइनलमा घरेलु टोली उज्वेकिस्तानलाई हराएर उपाधि जितेको थियो ।
यस पटक दुई पूर्व विजेता भारत र इरान सँगै एक पटक उपविजेता बनेको नेपाल अनि हाल एफआईभीबीको वरियतामा सबैभन्दा माथि रहेको कजाखस्तान छन् ।
चारै टोली च्याम्पियन बन्दै उपाधि उचाल्ने लक्ष्यका साथ सेमिफाइनलको तयारी गरिरहेका छन् । नेपालका मुख्य प्रशिक्षक जगदिश भट्टले समूह चरणमा सबै खेलाडीलाई अवसर दिएको र अब त्यही अनुसार सेमिफाइनलमा रणनीति बनाउने बताएका छन् । उनले इरानको टिम राम्रो रहेको र डिफेन्स पनि राम्रो रहेको बताएका छन् ।
सोमबार कजखस्तानलाई हराएर समूह ‘बी’ को विजेता बनेपछि इरानको टिम उत्साहित छ । घरेलु टोली नेपाललाई दर्शकको साथ हुने भएकोले केही कठिन हुने इरानकी सेफिनुड दास्तबार्जनले बताएकी छिन् ।
उनले काभा महिला भलिबल च्याम्पियनसिपलाई एभीसी कपको तयारीको रुपमा लिएको र अबको लक्ष्य बाँकी दुई खेल जितेर उपाधि जित्नु रहेको बताइन् ।
यस्तै कजखस्तानकी क्रिस्टिना बेलोभाले आफ्नै गल्तीका कारण इरानसँग हार बेहोर्नुपरेको र सेमिफाइनलका लागि गल्ती सच्याएर भारत विरुद्ध खेल्ने बताइन् ।
सेमिफाइनल पुगेका चार टिम मध्ये एफआईभीबी वरियतामा काजखस्तान सबैभन्दा माथि छ भने भारत सबैभन्दा तल छ । कजाखस्थान ३६औं स्थानमा रहँदा इरान ४४औं, नेपाल ५४औं र भारत ६२औं स्थानमा छ ।
काभा महिला भलिबल च्याम्पियन एफआईभीबी विश्व वरियता प्राप्त प्रतियोगिता भएकोले नेपालले यो प्रतियोगितको पहिलो खेलपछि नै वरियतामा स्थान बनाएको थियो । भारतसँगको खेलपछि ६२औं स्थानमा रहेको नेपाल त्यसपछि दुई खेल जित्दै ५४औं स्थानमा उक्लेको हो ।
प्रतिक्रिया 4