News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगारीमा गएका तथा फर्किएका नेपाली श्रमिकहरूमा डिप्रेसन, एन्जाइटी र आत्महत्याको सोच जस्ता मानसिक स्वास्थ्य समस्या तीव्र रूपमा बढ्दै गएको छ ।
- ऋणको बोझ, पारिवारिक दबाब, एक्लोपन र असुरक्षित कार्य वातावरणका कारण वैदेशिक रोजगारीमा गएका युवाहरू मानसिक रूपमा अस्वस्थ हुने गरेका छन् ।
- श्रमिकहरूको मानसिक स्वास्थ्य समस्या समाधान गर्न विदेश जानुअघि मानसिक स्वास्थ्य अभिमुखीकरण र नेपाली दूतावासहरूबाट मनोसामाजिक परामर्श सेवा दिनु आवश्यक देखिन्छ ।
पछिल्ला केही वर्षयता मानसिक अस्पताल, ललितपुरको ओपीडीमा एउटा दृश्य लगातार बढ्दै गएको छ, वैदेशिक रोजगारीसँग जोडिएका मानसिक समस्याका बिरामीहरू ।
पृष्टभूमि खोतल्दै जाँदा कोही खाडी मुलुकबाट फर्किएको हुन्छन् त कोही कोरिया वा मलेसियाबाट । उनीहरूमा लक्षण बुझ्दै जाँदा कसैलाई निन्द्रा लाग्न छाडेको हुन्छ, कसैलाई अत्यधिक डर र छटपटीले सताइरहेको हुन्छ ।
कोही काममा फर्किन नसक्ने अवस्थामा पुगेका हुन्छन् भने कोही ‘अब म बाँच्न चाहन्न’ भन्ने निराशा बोकेर अस्पताल आइपुग्छन् । कतिपय बिरामीहरू विदेश फर्कनुअघि ‘डाक्टर साब, भिसासँगै औषधिको पनि छाप लगाइदिनुहोस्’ भन्दै आउँछन् ।
केही परिवार आफ्ना छोरा, श्रीमान् वा दाजुभाइलाई सिधै विमानस्थलबाट अस्पतालको आकस्मिक कक्षमा ल्याउँछन् । उनीहरू महिनौंसम्म मानसिक तनाव, डिप्रेसन, डर, अनिद्रा वा आत्महत्याको सोचसँग संघर्ष गरिरहेका हुन्छन् ।
विदेश पुगेपछि मानसिक रूपमा अस्वस्थ भई काम छोड्न बाध्य भएका, आत्महत्या प्रयास गरेका वा उपचार नपाएर थप जटिल अवस्थामा पुगेका नेपाली युवाहरूको संख्या बढ्दो छ ।
बाहिरबाट हेर्दा वैदेशिक रोजगारी सफलताको चम्किलो कथा जस्तो देखिए पनि धेरैका हकमा त्यसको भित्री यथार्थ पीडादायी हुन्छ । रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ, तर त्यही रेमिट्यान्स भित्र्याउने हजारौं युवाहरू मौन मानसिक पीडामा बाँचिरहेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार वैदेशिक रोजगारीका क्रममा विभिन्न तनाव, हिंसा, एक्लोपन र असुरक्षाको सामना गर्ने व्यक्तिहरूमा डिप्रेसन, चिन्ता र आत्महत्याको जोखिम बढी देखिन्छ ।
किन उनीहरू मानिसक समस्यामा छन् ?
मानसिक दबाब विदेश पुगेपछि मात्र सुरु हुँदैन । धेरैको तनाव त विदेश जाने प्रक्रियाबाटै सुरु भइसकेको हुन्छ । विदेश जान ऋण लिनुपर्ने, घरजग्गा धितो राख्नुपर्ने, भाषा परीक्षा पास गर्नुपर्ने, कागजी प्रक्रिया मिलाउनुपर्ने र एजेन्टहरूको दबाब झेल्नुपर्ने अवस्था हुन्छ ।
त्यसमाथि परिवार र समाजको अपेक्षा पनि अत्यधिक हुन्छ । ‘अब विदेश गइस्, जिन्दगी बन्छ’ भन्ने सोचले युवाहरूमा असफल हुने डर बढाइरहेको हुन्छ । कतिपयलाई विदेश जानुअघि नै निन्द्रा नलाग्ने, अत्यधिक सोच्ने, मुटु छिटो धड्किने, बेचैनी हुने र भविष्यप्रति डर लाग्ने समस्या सुरु भइसकेको हुन्छ।
विदेशमा पुगेपछि
विदेश पुगेपछि सुरुका केही दिन नयाँ ठाउँको उत्साह हुन सक्छ । तर समय बित्दै जाँदा वास्तविक जीवनको दबाब सुरु हुन्छ । आफ्नो भाषा, संस्कृति, खाना, परिवार र सामाजिक वातावरणबाट टाढा हुँदा मानिस भावनात्मक रूपमा कमजोर बन्न थाल्छ ।
यहाँको ऋणको बोझ, अन्य पारिवारिक आवश्कता र अपेक्षाअनुसार विदेशमा कमाइ नहुने, काम सोचेभन्दा निकै कठिन हुने, स्वास्थ्यले साथ नदिने जस्ता समस्याले युवाहरूलाई मानसिक रोगी बनाइरहेको हुन्छ । कामको अत्यधिक दबाब, लामो समयको श्रम, आरामको कमी, हरेक दिन उस्तै खालको दैनिकी, मालिकको दुर्व्यवहार र असुरक्षित कार्य वातावरणले मानसिक थकान बढाइरहेको हुन्छ ।
धेरै नेपालीहरू दिनभर कठिन श्रम गरेर राति सानो कोठामा थकित शरीर लिएर सुत्छन् । तर, उनीहरूको मन भने हजारौं किलोमिटर टाढा आफ्नै घरमा घुमिरहेको हुन्छ । हुर्कँदै गरेको बच्चा, बिरामी बाबुआमा, पारिवारिक समस्या वा चाडपर्वमा घर जान नपाउँदाको पीडाले उनीहरूलाई भित्रभित्रै कमजोर बनाउँछ ।
एक्लोपन र भावनात्मक दूरीले समस्या
विदेशमा पैसा कमाउन सकिन्छ, तर धेरैपटक अपनत्व हराउँदै जान्छ । मानिसलाई बाँच्न केवल पैसा पर्याप्त हुँदैन । उसलाई माया, साथ, भावनात्मक सुरक्षा र आफ्नोपन पनि चाहिन्छ । तर विदेशमा धेरै नेपालीहरू अत्यधिक व्यस्तता र सीमित सामाजिक सम्बन्धका कारण एक्लोपनमा बाँचिरहेका हुन्छन् ।
कतिपय अवस्थामा श्रीमान–श्रीमतीबीच भावनात्मक दूरी बढ्छ । लामो समय छुट्टिएर बस्दा सम्बन्धमा तनाव, अविश्वास र पारिवारिक विखण्डनसमेत देखिन सक्छ । एक्लोपनले बिस्तारै व्यक्तिलाई डिप्रेसन र निराशातर्फ धकेल्न थाल्छ ।
एन्जाइटी, डिप्रेसन र आत्महत्याको जोखिम
लामो समयसम्मको तनाव र एक्लोपनले मानसिक स्वास्थ्यमा गम्भीर असर पार्छ । सुरुमा सामान्य डर, छटपटी, निन्द्रामा गडबडी वा काममा ध्यान नलाग्ने समस्या देखिन्छ । पछि बिस्तारै डिप्रेसन, एन्जाइटी डिसअर्डर, प्यानिक अट्याक र आत्महत्याको सोचसम्म पुग्न सक्छ ।
धेरै नेपाली श्रमिकहरूले यस्ता समस्या लुकाएर राख्ने गर्छन् । मानसिक रोगलाई अझै पनि ‘कमजोरी’ वा ‘पागलपन’का रूपमा हेर्ने सामाजिक सोचका कारण उनीहरू सहयोग खोज्न हिच्किचाउँछन् ।
कतिपयले तनाव कम गर्न मदिरा वा अन्य नसालु पदार्थ सेवन गर्न थाल्छन्, जसले समस्या झन् जटिल बनाउँछ । कतिपयलाई यो समस्या हो भन्ने नै पत्तो हुँदैन ।
मानसिक समस्या भएको कसरी थाहा पाउने ?
मानसिक समस्या सधैं ‘मन दुख्यो’ भनेर मात्र देखिँदैन । धेरैपटक मानसिक तनाव शरीरका विभिन्न लक्षणमार्फत देखापर्छ । जस्तो कि, टाउको दुख्नु, ढाड वा शरीर दुख्नु, मुटु छिटो धड्किनु, झमझम हुनु, अत्यधिक थकान, निन्द्रा नलाग्नु, भोक कम लाग्नु र काम गर्न मन नलाग्नु जस्ता लक्षण देखिन्छ ।
कतिपय व्यक्तिहरू बारम्बार अस्पताल धाउँछन्, तर जाँच गर्दा ठूलो शारीरिक रोग नदेखिन सक्छ । वास्तवमा त्यसको जड मानसिक तनाव हुन सक्छ ।
वैदेशिक रोजगारी र मानसिक स्वास्थ्य : बढ्दो चुनौती
वैदेशिक रोजगारीसँग सम्बन्धित मानसिक समस्या अहिले गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखिन थालेका छन् । यद्यपि, यसको वास्तविक तथ्यांक अझै व्यवस्थित रूपमा उपलब्ध छैन, तर अस्पताल, परामर्श केन्द्र र समुदायस्तरका अनुभवहरूले समस्या भयावह बन्दै गएको संकेत गर्छन् ।
विदेशमा रहेका नेपाली श्रमिकहरूको आत्महत्या, मानसिक अस्वस्थताका कारण बीचमै काम छोडेर फर्किनुपर्ने अवस्था, घरेलु हिंसा, सम्बन्ध विच्छेद, मादक पदार्थको दुर्व्यसन र सामाजिक अलगावका घटनाहरू निरन्तर बढिरहेका छन् ।
मानिस केवल आर्थिक प्राणी होइन । उसलाई भावनात्मक सुरक्षा, सम्बन्ध, माया, अपनत्व र मानसिक सन्तुलन पनि उत्तिकै आवश्यक पर्छ । जब यी आधारभूत भावनात्मक आवश्यकताहरू लामो समयसम्म अपूरा रहन्छन्, मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न थाल्छ ।
आत्महत्याको सोच आउनुका कारण
विशेषगरी ‘फर्केर गएपछि के गर्ने ?’, ‘ऋण कसरी तिर्ने ?’, ‘परिवारलाई कसरी सम्हाल्ने ?’ भन्ने सोचले धेरैलाई मानसिक रूपमा कमजोर बनाउँछ । मानसिक समस्यालाई कमजोरी ठान्ने सामाजिक सोचका कारण धेरै व्यक्तिले आफ्नो अवस्था लुकाउँछन् । भाषा समस्या, आर्थिक अभाव र स्वास्थ्य सेवामा पहुँच नहुनुले उपचार झन् कठिन बनाउँछ ।
परिवारको व्यवहारले पनि पार्छ प्रभाव
विदेशमा रहेका व्यक्तिको मानसिक अवस्थामाथि परिवारको व्यवहारले ठूलो असर पार्छ । कतिपय अवस्थामा परिवारले अरूसँग तुलना गर्ने, लगातार पैसा माग्ने वा ‘यत्रो वर्ष विदेश बसेर पनि के गरिस् ?’ भन्ने खालका शब्द प्रयोग गर्ने गर्छन् ।
यस्ता व्यवहारले व्यक्तिमा अपराधबोध, तनाव र निराशा झन् बढाउँछ ।
समाधानको बाटो : मानसिक स्वास्थ्यलाई प्राथमिकता
वैदेशिक रोजगारी पूर्ण रूपमा रोक्न सम्भव छैन । तर यससँग जोडिएका मानसिक स्वास्थ्य समस्यालाई कम गर्न अवश्य सकिन्छ ।
१. विदेश जानुअघि मानसिक स्वास्थ्य अभिमुखीकरण
विदेश जानुअघि श्रमिकहरूलाई मानसिक स्वास्थ्यबारे जानकारी दिनुपर्छ । तनाव व्यवस्थापन, भावनात्मक चुनौती, आपत्कालीन सहयोग र मानसिक समस्याका प्रारम्भिक संकेतबारे अभिमुखीकरण अनिवार्य हुनुपर्छ । सम्भव भएसम्म विदेश जानुअघि मनोचिकित्सक वा मनोपरामर्शदातासँग परामर्श लिनु लाभदायक हुन्छ ।
२. यथार्थपरक योजना आवश्यक
विदेश जाँदा कामको प्रकृति, तलब, खर्च, बसोबास, स्वास्थ्य सेवा र आपत्कालीन सम्पर्कबारे स्पष्ट जानकारी हुनुपर्छ । अत्यधिक अपेक्षाले पछि निराशा बढाउँछ । त्यसैले, यथार्थ बुझेर योजना बनाउनु आवश्यक छ ।
३. निन्द्रा, व्यायाम र भावनात्मक सम्बन्ध
मानसिक स्वास्थ्यका लागि पर्याप्त निन्द्रा, नियमित व्यायाम र स्वस्थ खानपान अत्यन्त महत्त्वपूर्ण छन् । परिवारसँग नियमित सम्पर्क राख्नु, आफ्ना भावना खुलेर व्यक्त गर्नु र सामाजिक सम्बन्ध जोगाइराख्नु मानसिक सन्तुलनका लागि आवश्यक हुन्छ ।
४. सहयोग खोज्न नहिच्किचाउने
मानसिक समस्या लुकाउनु समाधान होइन । चिन्ता, डिप्रेसन वा आत्महत्याको सोच आएमा तत्काल विशेषज्ञको सहयोग लिनुपर्छ । यदि व्यवहारमा परिवर्तन देखिएको छ भने साथीभाइ, परिवार र सहकर्मीले पनि सम्बन्धित व्यक्तिलाई उपचार वा परामर्श लिन प्रेरित गर्नुपर्छ ।
५. राज्य र सम्बन्धित निकायको जिम्मेवारी
नेपाली दूतावास, श्रम मन्त्रालय र सम्बन्धित निकायहरूले विदेशमा रहेका नेपालीका लागि मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउनुपर्छ । टोल–फ्री हेल्पलाइन, अनलाइन परामर्श र आपत्कालीन मानसिक स्वास्थ्य सेवाको व्यवस्था आवश्यक छ ।
प्रतिक्रिया 4