+
प्लेयर्स टु वाच :

ह्यारी केन : इंग्ल्यान्डका गोल मेसिन र विश्वकपका भरोसा

२०८३ जेठ  १२ गते १५:०१ २०८३ जेठ १२ गते १५:०१
ह्यारी केन : इंग्ल्यान्डका गोल मेसिन र विश्वकपका भरोसा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्डका स्ट्राइकर ह्यारी केन ७८ अन्तर्राष्ट्रिय गोलसहित आफ्नो देशका लागि सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् ।
  • उनले सन् २०१८ को डेब्यू फिफा विश्वकपमा ६ गोल गर्दै प्रतिष्ठित गोल्डेन बुट जित्न सफल भएका थिए ।
  • कप्तान केन सन् २०२६ को विश्वकपमा प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा इंग्ल्यान्डलाई उपाधि जिताउने योजनामा छन् ।

१२ जेठ, काठमाडौं । डेब्यू फिफा विश्वकपमै गोल्डेन बुट जित्ने खेलाडी हुन, इंग्ल्यान्डका स्ट्राइकर ह्यारी केन । केनले सन् २०१८ मा भएको फिफा विश्वकपमा पहिलोपटक खेलेका थिए ।

उक्त विश्वकपमा उनले आफ्नो टोलीलाई सेमिफाइनलसम्म पुर्‍याए, र आफूले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भए । सन् २०२२ को विश्वकपमा अभागी बनेका केन तेस्रोपटक विश्वकप खेल्न तमतयार छन् । फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्यान्डलाई ६ दशकपछि उपाधि जिताउने लक्ष्यमा केन हुनेछन् ।

३२ वर्षको उमेरमा पनि उनी आफ्नो उत्कृष्ट लयमा छन् । केनले एक दशक अघि टोटेनहम हटस्परबाट उत्कृष्ट प्रदर्शन गर्दै उदाएयता निरन्तर असाधारण रूपमा गोल गर्दै आएका छन् ।

गोल गर्ने क्षेत्रमा पुगेपछि उनको घातक सट सटीकता लगभग अविश्वसनीय मानिन्छ । दुवै खुट्टाबाट शक्तिशाली र अत्यन्तै शटिक प्रहार गर्न सक्ने केनलाई कुन अवस्थामा बलियो प्रहार गर्ने र कहिले कलात्मक फिनिसिङ प्रयोग गर्ने भन्ने स्वाभाविक ज्ञान छ ।

उनले प्रिमियर लिगको २०२२/२३ को एकै सिजनमा सबैभन्दा धेरै हेडरमार्फत १० गोल गर्ने कीर्तिमान बनाएका थिए । केनले व्यक्तिगत रूपमा पनि धेरै सम्मान प्राप्त गरेका छन् । उनले सन् २०१८ मा भएको फिफा विश्वकपमा गोल्डेन बुट जितेका थिए । साथै, उनले प्रिमियर लिगमा तीन पटक, बुन्डेसलिगामा दुई पटक तथा यूरोपियन च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ताको उपाधि जितेका छन् ।

क्लब स्तरमा उनले आफ्नो पहिलो ठूलो उपाधि २०२४/२५ सिजनमा जिते । उनले बायर्न म्युनिखलाई जर्मन बुन्डेसलिगा उपाधि दिलाउन सफल भए । इंग्ल्यान्डलाई उनले युरो कप २०२०, २०२४ मा उपविजेता बनाए । सन् २०१८ को फिफा विश्वकपमा इंग्ल्यान्ड चौथो स्थानमा पुगेको टोलीका सदस्य पनि थिए ।

केनले इंग्ल्यान्डका लागि आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल डेब्यू गरेको केवल ८० सेकेन्डमै गरेका थिए । २१ वर्षका केन सन् २०१५ मा लिथुनियाविरुद्ध ७१औं मिनेटमा मैदान प्रवेश गरेका थिए र लगत्तै रहिम स्टर्लिङको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका थिए ।

केन इंग्ल्यान्डका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । उनले मार्च २०२३ मा इटालीविरुद्धको युइएफए यूरो २०२४ छनोट खेलमा राष्ट्रिय टोलीका लागि आफ्नो ५४औं गोल गर्दै वायन रुनीको कीर्तिमान तोडेका थिए । उनले हालसम्म ७८ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।

फिफा विश्वकप २०१८ मा उनले इंग्ल्यान्डका लागि ६ गोल गरेका थिए र गोल्डेन बुट जितेका थिए । यस उपलब्धि हासिल गर्ने उनी दोस्रो इंग्लिस खेलाडी बने । यसअघि ग्यारी लिनेकरले १९८६ मा यो सम्मान जितेका थिए ।

केन आधिकारिक खेलहरूमा ५०० व्यावसायिक गोल पुर्‍याउने पहिलो इंग्लिस खेलाडी हुन् । हालसम्म बुन्डेसलिगामा केनले हानेका सबै २४ पेनाल्टी सफल भएका छन् । यो प्रतियोगिताको इतिहासमै सबैभन्दा लामो शतप्रतिशत सफल पेनाल्टी शृङ्खला हो ।

केनको विश्वकप यात्रा

सन् २०१८ मा रूसमा भएको फिफा विश्वकप केनको पहिलो विश्वकप हो । पहिलो विश्वकपमै आफ्नो प्रदर्शनको प्रभाव छाड्दै उनी सर्वाधिक गोल गर्दै गोल्डेन बुट जित्न सफल भए ।

विश्वकपमा पहिलो खेल खेल्दै उनले ट्युनिसियाविरुद्ध २–१ को जितमा दुई गोल गरे । त्यसपछि पानामाविरुद्ध ६–१ को शानदार जितमा केनले ह्याट्रिक गरे । अन्तिम १६ को खेलमा कोलम्बियाविरुद्ध पनि उनले गोल गरे, जहाँ खेल १–१ बराबरी भएपछि इंग्ल्यान्ड पेनाल्टी सुटआउटमार्फत क्वार्टरफाइनल पुगेको थियो ।

त्यस विश्वकपमा इंग्ल्यान्ड चौथो स्थानमा रह्यो । सेमिफाइनलमा क्रोएसियासँग अतिरिक्त समयमा पराजित भयो भने तेस्रो स्थानको खेलमा बेल्जियमसँग हार बेहोर्नुपर्‍यो । नकआउट चरणमा कोलम्बियाविरुद्धको गोलपछि उनले फेरि गोल गर्न नसके पनि उनका ६ गोल गोल्डेन बुट जित्न पर्याप्त भए ।

फिफा विश्वकप २०२२ मा केनले इंग्ल्यान्डको अट्याकिङ नेतृत्व गरे । समूह चरणमा उनले तीन असिस्ट दिए र अन्तिम १६ मा सेनेगलविरुद्ध ३–० को जितमा आफ्नो पहिलो गोल गरे । क्वार्टरफाइनलमा फ्रान्सविरुद्धको खेल भने भावनात्मक बन्यो । ओरेलियन चुआमेनीले फ्रान्सलाई अग्रता दिलाएपछि केनले पेनाल्टीमार्फत खेल बराबरी गरेका थिए ।

पछि ओलिभर जिरुडको हेडर गोलले फ्रान्स फेरि अघि बढ्यो । खेलको अन्त्यतिर इंग्ल्यान्डले अर्काे पेनाल्टी पाएको थियो, तर यसपटक केनको प्रहार क्रसबारमाथिबाट बाहिरियो र फ्रान्सले जित सुरक्षित गर्‍यो ।

विश्वकप २०२६ मा केन र इंग्ल्यान्डको आशा

इंग्ल्यान्डले सन् २०२६ को फिफा विश्वकप २०२६ मा उपाधिको प्रमुख दाबेदारमध्ये एक हो । इंग्ल्यान्डले छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सबै ८ खेलमा जित निकाल्दै आफुलाई बलियो रहेको प्रमाणित गरिसकेको छ ।

मुख्य प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा रहेको इंग्ल्यान्डको आक्रमणको केन्द्रमा विश्वस्तरीय स्ट्राइकर केन छन् । कप्तान केनलाई जुड बेलिंघम, डेक्लान राइस र बुकायो साकाजस्ता खेलाडीहरुले साथ दिनेछन् ।

सन् २०१८ मा सेमिफाइनल र २०२२ मा अन्तिम १६ सम्म पुगेको इंग्ल्यान्ड यसपटक उपाधि जित्ने लक्ष्यमा रहनेछ ।

इंग्ल्यान्ड फुटबल फिफा विश्वकप फिफा विश्वकप २०२६ ह्यारी केन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय