+

हैजा समाप्त भएको छैन, लापरवाही भयो भने फेरि फैलिन सक्छ

२०८३ जेठ  १७ गते १२:२२ २०८३ जेठ १७ गते १२:२२

हैजामा शरीरबाट धेरै पानी बाहिरिन्छ । मैले सयौँ बोतल सलाइन चढाएर बल्ल ज्यान बचेका बिरामी पनि देखेको छु ।

हैजा समाप्त भएको छैन, लापरवाही भयो भने फेरि फैलिन सक्छ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा हैजा अझै चुनौतीपूर्ण जनस्वास्थ्य समस्याका रूपमा रहेको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले बताए ।
  • मुख्यतया दूषित पानीबाट सर्ने हैजा नियन्त्रणका लागि सुरक्षित खानेपानी, सरसफाइ र क्लोरिनेसनमा जोड दिनुपर्ने उनको सुझाव छ ।

नेपालमा हैजा मुख्यतः पानीबाट फैलिने गरेको विगतको अनुभव र परीक्षणले देखाउँछ । यद्यपि संक्रमित खानेकुराहरू; काँचै खाने तरकारी वा फलफूललाई हैजा संक्रमित पानीले धोएर खाँदा पनि हैजाको जोखिम हुने गर्छ ।

हैजा अझै पनि नेपालमा चुनौतीपूर्ण जनस्वास्थ्य समस्याका रूपमा रहेको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन् ।

जाजरकोट–रुकुम महामारीदेखि काठमाडौंको खानेपानी प्रणाली, सरसफाई, खोप, जीवनजल र भविष्यका जोखिमसम्मका विषयमा डा. मरासिनीसँग गरिएको कुराकानविह :

नेपालमा हैजाको अवस्था अहिले कस्तो छ ?

नेपालमा हैजा पूर्णरूपमा नियन्त्रणमा आएको अवस्था छैन । पहिलाको तुलनामा केही घटेको छ, तर पूर्णरूपमा निर्मूल भएको भने होइन । नेपाल विगतदेखि नै हैजाको प्रकोप देखिने देश हो । विशेषगरी दक्षिण एसियामा, बंगलादेशको ढाका क्षेत्रलाई हैजाको उच्च जोखिम क्षेत्र मानिन्छ । वैज्ञानिकहरूका अनुसार गंगा नदी क्षेत्र हुँदै हैजाको जीवाणु विभिन्न देशमा फैलिने सम्भावना हुन्छ र त्यसको प्रभाव नेपालमा पनि देखिन्छ ।

जाजरकोट–रुकुम महामारीलाई कसरी सम्झनुहुन्छ ?

२०६६/६७ सालतिर जाजरकोट र रुकुममा ठूलो महामारी फैलिएको थियो । सरकारी तथ्यांकअनुसार करिब ६० हजार मानिसले उपचार गराएका थिए । हाम्रो अनुमानमा संक्रमित संख्या झन्डै १ लाख ४० हजारसम्म पुगेको थियो ।

त्यो नेपालको ठूलो जनस्वास्थ्य संकटमध्ये एक थियो । दुर्गम भूगोल, सडक अभाव, खोलानाला र कठिन पहुँचका कारण बिरामीलाई स्वास्थ्य संस्थासम्म ल्याउन निकै कठिन भयो । हेलिकोप्टर पठाउँदा पनि अवतरण गर्ने ठाउँ थिएन ।

त्यसपछि मैले ‘हरेक वडामा एउटा हेलिप्याड’ भन्ने अवधारणा अघि सारेको थिएँ । केही ठाउँमा बने पनि अझै धेरै ठाउँमा आपत्कालीन उद्धारको पूर्वतयारी पर्याप्त छैन । सरकार, स्वास्थ्यकर्मी, गैरसरकारी संस्था र स्वयंसेवी सबै परिचालन भएपछि करिब २० दिनभित्र महामारी नियन्त्रणमा ल्याउन सफल भएका थियौँ ।

त्यो महामारीपछि नेपालले के सिक्यो ?

त्यो महामारीपछि नेपालमा ‘एक घर, एक चर्पी’ अभियान सुरु भयो । देशभर चर्पी निर्माण अभियान चलाइयो । खुला दिसामुक्त अभियानले पनि संक्रामक रोगहरूको जोखिम कम गर्न धेरै सहयोग गर्‍यो ।

त्यसपछि हैजा, झाडापखाला र अन्य पानीजन्य रोगको जोखिम केही कम भएको छ । तर जोखिम समाप्त भएको छैन । पछिल्ला वर्षहरूमा वीरगञ्जजस्ता शहरमा पनि हैजाको प्रकोप देखिएको थियो । त्यसैले त्यो माहामारीबाट सिकेर त्यस्तो समस्या हुन नदिन के गर्ने भन्ने कुरा सिक्न अझै बाँकी नै छ ।

हैजा किन फैलिन्छ ?

हैजा मुख्यतः दूषित पानीबाट फैलिन्छ । यो धेरै पहिले नै वैज्ञानिक रूपमा प्रमाणित भइसकेको कुरा हो । काठमाडौं उपत्यकामा पुराना खानेपानी पाइप र ढल प्रणाली नजिक–नजिक हुँदा जोखिम बढी हुन्छ । कतै पाइप फुट्यो भने पानी नआएको बेला ढलको पानी पाइपभित्र पस्न सक्छ । फेरि पानी वितरण हुँदा त्यही दूषित पानी घरघर पुग्छ । त्यसले हैजा, टाइफाइड र जन्डिस फैलाउन सक्छ । मेलम्ची परियोजनापछि धेरै ठाउँमा नयाँ पाइप बिछ्याइएकाले जोखिम केही घट्ने अपेक्षा छ ।

हैजा रोक्न सबैभन्दा प्रभावकारी उपाय के हो ?

सबैभन्दा महत्वपूर्ण कुरा सुरक्षित खानेपानी हो । जहाँ सामुदायिक खानेपानी प्रणाली छ, त्यहाँ नियमित पानी परीक्षण गर्नुपर्छ । पानी वितरण गर्नुअघि रिजर्भ ट्यांकीमा क्लोरीन वा ब्लीचिङ पाउडर हाल्नुपर्छ । क्लोरीनले पानीमा भएका जीवाणु मारिदिन्छ । क्लोरीनबिना पानी वितरण गर्नुहुँदैन ।

सर्वसाधारणले व्यक्तिगत रूपमा के सावधानी अपनाउनुपर्छ ?

म सधैं ‘तीन सफा’ भन्ने कुरा गर्छु:- हात सफा, पानी सफा र खाना सफा । साबुनपानीले हात धुनुपर्छ । उमालेको वा पियुस ट्याब्लेट हालिएको पानी मात्रै पिउनुपर्छ । ताजा पकाएको खाना खानुपर्छ । बासी भात खाने, बिहान पकाएको खाना बेलुका खाने, राम्रोसँग नताताई खाने बानीले झाडापखाला र फुड पोइजनिङ बढाउन सक्छ ।

हैजाको खोप कत्तिको प्रभावकारी छ ?

अहिले मुखबाट खाने हैजाको खोप उपलब्ध छ । दुई मात्रा खोप दिइन्छ र यसले करिब पाँच वर्षसम्म सुरक्षा दिन्छ । तर यसको उत्पादन सीमित छ । सबैलाई सहज रूपमा उपलब्ध छैन । त्यसैले महामारी फैलिएको क्षेत्रमा नियन्त्रणका लागि प्रयोग गरिन्छ ।

हैजाको मुख्य लक्षण के हो ?

सबैभन्दा मुख्य लक्षण पानीजस्तो पखाला हो, जसलाई ‘वाटरी डायरिया’ भनिन्छ । धेरैजसो बिरामीलाई ज्वरो आउँदैन, पेट पनि खासै दुख्दैन । त्यसैले धेरैले सामान्य झाडापखाला भनेर बेवास्ता गर्छन् ।

तर हैजामा शरीरबाट धेरै पानी बाहिरिन्छ । बिरामी छिट्टै डिहाइड्रेसनमा जान्छ र मृत्यु पनि हुन सक्छ । मैले सयौँ बोतल सलाइन चढाएर बल्ल ज्यान बचेका बिरामी पनि देखेको छु । त्यसैले पानीजस्तो दिसा आयो भने तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ ।

जीवनजल (ओआरएस) कत्तिको उपयोगी छ ?

जीवनजल अत्यन्त महत्वपूर्ण छ । झाडापखाला हुँदा शरीरबाट गएको पानी र नुनको मात्रा पूर्ति गर्न यसले मद्दत गर्छ । भारत–बंगलादेश सीमामा शरणार्थी संकटका बेला पर्याप्त सलाइन नहुँदा नुन–चिनी मिसाएको पानी खुवाउने अभ्यास सुरु गरिएको थियो । त्यसैबाट जीवनजलको अवधारणा विकसित भएको हो । तर जीवनजल खुवाउँदैमा अस्पताल नजाने भन्ने होइन । गम्भीर बिरामीलाई तत्काल उपचार आवश्यक हुन्छ ।

नेपालमा अनुसन्धान र निगरानीको अवस्था कस्तो छ ?

बंगलादेशमा डायरियल डिजिज रिसर्च सेन्टर छ । भारतको कोलकातामा कलेरा अनुसन्धान केन्द्र छ । तर नेपालमा हैजामाथि केन्द्रित अनुसन्धान गर्ने संस्था छैन । त्यसैले किन संक्रमण भइरहेछ, कुन क्षेत्रमा जोखिम बढी छ भन्ने कुरा गहिरो रूपमा अध्ययन गर्न कठिन भइरहेको छ ।

सरकारले अब के गर्नुपर्छ ?

सरकारले सुरक्षित खानेपानी, क्लोरिनेसन, सरसफाइ र जनचेतनामा अझै जोड दिनुपर्छ । स्थानीय तहलाई स्पष्ट निर्देशिका दिनुपर्छ । गाउँगाउँमा हात धुने, उमालेको पानी खाने, खुला दिसापिसाब नगर्ने, ताजा खाना खाने सन्देश पुर्‍याउनुपर्छ।

राजमार्गमा खुला ठाउँमा यात्रुलाई दिसापिसाब गराउने प्रवृत्ति पनि रोक्नुपर्छ । सार्वजनिक शौचालय निर्माण गरेर त्यही प्रयोग अनिवार्य गरिनुपर्छ ।

हैजा नियन्त्रणका लागि अब नेपालले केमा बढी ध्यान दिनुपर्छ ?

हैजा घट्दो क्रममा छ, तर समाप्त भएको छैन । सुरक्षित पानी, सरसफाइ र जनचेतनामा लापरवाही भयो भने फेरि कुनै पनि बेला महामारी फैलिन सक्छ । त्यसैले सरकार, स्वास्थ्यकर्मी र नागरिक सबैले मिलेर काम गर्नुपर्छ । सुरक्षित पानी र सरसफाइ नै हैजा नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो ।

खानेपानी महामारी हैजा
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हैजा समाप्त भएको छैन, लापरवाही भयो भने फेरि फैलिन सक्छ

हैजा समाप्त भएको छैन, लापरवाही भयो भने फेरि फैलिन सक्छ

गलत व्यायामले जान सक्छ ज्यान : कस्तो व्यायाम, कति र कहिले गर्ने ?

गलत व्यायामले जान सक्छ ज्यान : कस्तो व्यायाम, कति र कहिले गर्ने ?

कुन उमेरका बालबालिकालाई दैनिक कति प्रोटिन चाहिन्छ ?

कुन उमेरका बालबालिकालाई दैनिक कति प्रोटिन चाहिन्छ ?

पञ्चकर्म : गाडी सर्भिसिङ जस्तै शरीरको सम्पूर्ण सफाइ गर्ने विधि

पञ्चकर्म : गाडी सर्भिसिङ जस्तै शरीरको सम्पूर्ण सफाइ गर्ने विधि

स्वास्थ्य बीमाको संकट : समस्या बजेटको मात्रै कि नैतिकता र प्रणालीको पनि ?

स्वास्थ्य बीमाको संकट : समस्या बजेटको मात्रै कि नैतिकता र प्रणालीको पनि ?

सिभिल अस्पतालका निर्देशक डा. रेग्मीले दिए राजीनामा, डा.शर्मालाई जिम्मेवारी

सिभिल अस्पतालका निर्देशक डा. रेग्मीले दिए राजीनामा, डा.शर्मालाई जिम्मेवारी