News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारी संस्थानहरूमध्ये नेपाल आयल निगम गत आर्थिक वर्षमा १३ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा कमाउँदै सबैभन्दा बढी नाफा गर्ने संस्थान बनेको छ ।
- आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानहरूको समग्र खुद नाफा १२.०३ प्रतिशतले बढेर ४५ अर्ब ८ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
- सञ्चालनमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा र १६ वटा नोक्सानमा छन् भने सरकारी लगानी ७ खर्ब ९८ अर्ब नाघेको छ ।
१३ जेठ, काठमाडौं । सरकारले लगानी गरेका संस्थानमध्ये सबैभन्दा धेरै नाफा नेपाल आयल निगमले गरेको छ । गत आर्थिक वर्ष निगमले १३ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा गर्दै पहिलो संस्थान बनेको हो ।
सार्वजनिक संस्थानहरूको वर्षिक समीक्षा २०८३ अनुसार सञ्चालनमा रहेका ४५ संस्थानमध्ये २७ नाफामा छन् । त्यसैगरी १६ नोक्सानमा छन् भने २ संस्थाले वित्तीय विवरण समेत बुझाएका छैनन् ।
अघिल्लो आव २०८०/८१ मा २८ वटा संस्थान नाफामा थिए भने १५ वटा नोक्सानमा थिए । त्यसबेला पनि २ संस्थाले वित्तीय विवरण सरकारलाई बुझाएका थिएनन् ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरण अनुसार आव २०८१/८२ अन्त्यमा सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड ३५ लाख पुगेको छ । यो लगानी अघिल्लो आवको तुलनामा १३.४४ प्रतिशत धेरै हो । अघिल्लो आव २०८०/८१ मा ७ खर्ब ३ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ लगानी थियो ।
गत आव संस्थानहरूमा सरकारको सेयर लगानी १.४८ प्रतिशतले बढेर ३ खर्ब ७० अर्ब २५ करोड १९ लाख पुगेको छ । त्यसैगरी ऋण लगानी २६.३२ प्रतिशतले बढेर ४ खर्ब २८ अर्ब ३१ करोड १५ लाख पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

कुल ऋण लगानीको ८१.७३ प्रतिशत नेपाल विद्युत् प्राधिकरणमा रहेको समीक्षामा उल्लेख छ । आव २०८१/८२ मा कुल सेयरधनी कोषमा १० खर्ब ७३ अर्ब २८ करोड ३१ लाख पुगेको छ जुन २०८०/८१ को तुलनामा ३.८९ प्रतिशत धेरै हो ।
गत आव संस्थानहरूको कुल आय अघिल्लो आवको तुलनामा ०.६७ प्रतिशत वृद्धि भई ७ खर्ब २१ अर्ब १४ करोड ७७ लाख पुगेको छ । जुन कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपातमा ११.८ प्रतिशत छ ।
त्यसैगरी २०८०/८१ मा संस्थानहरूको कुल सञ्चालन आय ६ खर्ब ६८ अर्ब ३ लाख रहेकोमा २०८१/८२ मा ०.६६ प्रतिशतले वृद्धि भई ६ खर्ब ७२ अर्ब ४० करोड २६ लाख पुगेको छ ।
आव २०८०/८१ को सार्वजनिक संस्थानको समग्र खुद नाफा ४० अर्ब २४ करोड २८ लाख १५ हजारको तुलनामा १२.०३ प्रतिशतले वृद्धि भई २०८१/८२ मा ४५ अर्ब ८ करोड ४९ लाख कायम भएको छ ।

नेपाल आयल निगम, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंकको नाफामा भएको उल्लेख्य वृद्धिले समग्र संस्थानको नाफा वृद्धिमा योगदान गरेको हो ।
२०८१/८२ मा नाफामा सञ्चालित संस्थानको खुद नाफा गत वर्षको तुलनामा १०.५८ प्रतिशत बढेर ४८ अर्ब ८९ करोड ६ लाख पुगेको छ । नोक्सानमा सञ्चालित संस्थानको खुद नोक्सानमा ४.१४ प्रतिशतले कमी आई ३ अर्ब ८० करोड ५७ लाख कायम भएको छ ।
संस्थानको समग्र सञ्चित नाफा २१.५१ प्रतिशत वृद्धि भएको छ भने सञ्चित नाफामा सञ्चालित संस्थानको कुल सञ्चित नाफा १६.५१ प्रतिशतले बढेको देखिन्छ । अर्कातर्फ, सञ्चित नोक्सानमा सञ्चालित संस्थानको कुल सञ्चित नोक्सान ७.५३ प्रतिशत बढेर ५१ अर्ब ८६ करोड ७८ लाख पुगेको छ ।

कुल सञ्चित नोक्सानमा सबैभन्दा ठुलो हिस्सा नेपाल वायुसेवा निगम (नेवानि) को देखिन्छ । सार्वजनिक संस्थानको कुल सञ्चालन खर्च अघिल्लो आवको तुलनामा ०.६८ प्रतिशत घटेको देखिएको छ भने प्रशासनिक खर्चमा ८.११ प्रतिशत कम भई ६२ अर्ब ९३ करोड ९३ लाख कायम भएको छ ।
आव २०८१/८२ मा जनकपुर चुरोट कारखाना लिमिटेड बन्द भए तापनि भवन तथा जग्गा भाडा रकमबाट आय भएको देखिन्छ । घाटामा रहेका संस्थानमध्ये नेपाल ओरियन्ड म्याग्नेसाइट प्राइभेट लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड र बुटवल धागो कारखाना लिमिटेड बन्द छन् भने धौवादी फलाम कम्पनी लिमिटेडले व्यावसायिक कारोबार सुरु गरेको छैन । व्यावसायिक कारोबार नभए तापनि यी संस्थानको नियमित प्रशासनिक खर्च भइरहेकाले नोक्सानमा रहेको देखिएको हो ।

२०८१ असार मसान्तसम्म नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा सूचीकृत ४ सय ६६ कम्पनीमध्ये ७ वटा सार्वजनिक संस्थानको कुल बजार पूँजीकरण अघिल्लो आवको तुलनामा ६६.३५ प्रतिशत बढेको देखिएको छ ।
समीक्षा अवधिमा १६ वटा संस्थानले २०८१/८२ सम्मको नियमित रूपमा अन्तिम लेखा परीक्षण गराएको नपाइएकाले यी संस्थानको वित्तीय अवस्थाको यथार्थ मूल्यांकन गर्ने मन्त्रालयले जनाएको छ । समग्रमा खुद नाफा १२.०३ प्रतिशत वृद्धि भई ४५ अर्ब ८ करोड ४९ लाख कायम भएको छ ।

संस्थान विशेष हेर्दा आयल निगम, विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड जस्ता बजारमा प्राकृतिक वा पूर्ण एकाधिकार कायम रहेका तथा बजारमा सीमित प्रतिस्पर्धा भएका सार्वजनिक संस्थानको नाफा अन्य संस्थानको तुलनामा उच्च छ ।
वित्तीय क्षेत्रका सबै सार्वजनिक संस्थान नाफामा सञ्चालित छन् । वित्तीय क्षेत्रबाहेक अन्य क्षेत्रका प्रतिस्पर्धी बजारमा वस्तु तथा सेवाको उत्पादन तथा वितरण गर्ने सार्वजनिक संस्थानको प्रतिस्पर्धी क्षमता कमजोर देखिएको छ ।
प्रतिक्रिया 4