+
+
Shares
पोखरामा अतिक्रमित जग्गा खाली गराउने अभियान जारी :

अमरसिंह चौर र फिर्के खोलापछि सहमतिमै हटाउन थालियो पृथ्वी चोकका घरटहरा

राजनीतिक दलनिकट ट्रेड युनियन, सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवा लगायतले प्रयोग गर्दै आएका संरचना भत्काउने प्रक्रिया सुरु गरिएको हो ।

अमृत सुवेदी अमृत सुवेदी
२०८३ जेठ १४ गते ७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा उपत्यका नगर विकास समितिले पृथ्वीचोकस्थित सरकारी जग्गामा बनेका अनधिकृत संरचनाहरू बिहीबारदेखि हटाउन शुरू गरेको छ ।
  • पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको नेतृत्वमा अमरसिंह र फिर्केखोला क्षेत्रका अवैध संरचनाहरू यसअघि नै हटाइएको छ ।
  • महानगरले बसपार्क क्षेत्रका बाँकी संरचना हटाउन र त्यहाँका सुकुमवासी व्यवस्थापन गर्न आवश्यक समिति गठन गरी तयारी थालेको छ ।

१४ जेठ, पोखरा । पृथ्वीचोकस्थित पोखरा बसपार्क अगाडिको ‘संस्थान क्षेत्र’मा सरकारी जग्गा कब्जा गरेर बनाइएका संरचना उपत्यका नगर विकास समितिले बिहीबारदेखि हटाउन थालेको छ ।

राजनीतिक दलनिकट ट्रेड युनियन, सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवा लगायतले प्रयोग गर्दै आएका संरचना भत्काउने प्रक्रिया सुरु भएको हो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सर्वपक्षीय, सर्वदलीय सहमतिमै जेठ ५ गते अमरसिंह मावि मातहत रहेको चौरमा बनाइएका ५१ वटा संरचनामा डोजर लगाएको थियो । वर्षौंदेखि राजनीति र विवादको केन्द्रमा रहँदै आएको फिर्केखोलामा पनि सहमतिमै जेठ १० गतेबाट डोजर लगाइरहेको छ । फिर्केमा बिहीबारसम्म पनि खोला घरभित्र निर्माण भएका १ सय ६० वटा स्थायी र अस्थायी संरचना हटाउने अभियान जारी छ ।

अमरसिंह र फिर्के खोलापछि पृथ्वीचोकमा विभिन्न राजनीतिक दलनिकट संगठन, संस्थाले खडा गरेका संरचना मेयर आचार्यको नेतृत्वमा सहमतिमै खाली गराउन लागिएको हो ।

यहाँका संरचना सहमतिमा हटाउनका लागि पटक–पटक छलफल तथा सर्वपक्षीय/सर्वदलीय बैठक बसेको थियो । बिना विरोध, प्रदर्शनबिनै सहमतिमा ल्याएर संरचना हटाउने काममा काममा मेयर आचार्य अगाडि देखिएका छन् ।

मेयर धनराज आचार्यको अध्यक्षतामा रहेको उपत्यका नगर विकास समितिले पृथ्वीचोकमा बसेका दलनिकट मजदुर संगठन र संस्थालाई  ३५ दिने सूचना जारी गर्दै संरचना आफैं हटाउन आग्रह गरेको थियो । समितिले दिएको म्याद जेठ ९ गते सकिएपछि महानगर र नगर विकास समिति संयुक्त रूपमा संरचना हटाउने प्रक्रियामा अघि बढेका हुन् ।

मेयर आचार्य अब बसपार्क क्षेत्रका संरचना पनि खाली गराउने तयारी गरेका छन् । त्यसका लागि छानबिन समिति, त्यहाँबाट हटेका सुकुमवासी, भूमिहीनलाई व्यवस्थापन गर्न जग्गा पहिचान समिति र सुकुमवासी पहिचान समितिसमेत बनाएर योजनाबद्ध रुपमा अगाडि बढेको उनले बताए ।

माओवादी शान्ति प्रक्रियापछि केही समय वाईसीएल क्याम्पका रूपमा प्रयोग भएको बसपार्क क्षेत्रको सरकारी जग्गा पछि माओवादीनिकट मजदुर संगठनको नियन्त्रणमा पुगेको थियो । त्यहाँ अस्थायी टहरा मात्रै नभई स्थायी संरचना बनाएर सटर भाडामा लगाइएको थियो । अहिले नेकपा बनेको दलनिकट मजदुर संगठनले भने पछिल्लो समय अस्थायी संरचना हटाएर स्थायी भवनको चाबी महानगरपालिकालाई बुझाइसकेको छ ।

एमालेनिकट र कांग्रेसनिकट मजदुर संगठन तथा अन्य संघसंस्थाले पनि लामो समयसम्म संरचना खाली गरेका थिएनन् । हङकङ बजार अगाडि बनेका झण्डै एक सयभन्दा बढी सटर तथा कोठामा व्यवसाय सञ्चालन हुँदै आएकोमा अहिले अधिकांश व्यवसायीले ठाउँ छाडिसकेका छन् । सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवासहित संस्थाले पनि कार्यालय सारिसकेका छन् ।

यो क्षेत्रको सरकारी जग्गा कसरी विभिन्न संस्था र राजनीतिक दलनिकट संगठनको प्रयोगमा पुग्यो भन्ने विषय भने वर्षौंदेखि विवादमा रहँदै आएको थियो ।

अनलाइनखबरले २०७८ माघमा प्रकाशित गरेको खोजमूलक समाचारअनुसार पोखरा बसपार्क र पृथ्वीचोक आसपासको सार्वजनिक जग्गा विभिन्न समयमा राजनीतिक पहुँच र नगर विकास समितिका निर्णयमार्फत प्रयोग गर्न दिइएको थियो । सुरुमा अस्थायी प्रयोग र सामाजिक प्रयोजनका नाममा दिइएका ठाउँमा पछि स्थायी संरचना निर्माण गरिए । कतिपय संस्थाले सटर बनाएर व्यावसायिक रूपमा भाडासमेत उठाउन थालेका थिए ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?