+
+
Shares
दिलै खोलेर :

मैले देशको जिम्मा पाए जेट विमान जसरी उडाइदिन्थें भन्ने खोक्रो आदर्श धेरै देखिन्छ

जति पुस्ता बिते पनि हामी बाँच्दा मानिस भएर बाँच्नुपर्छ । त्यसैले मेसिनको सम्मान गरौं तर काम चाहिँ गर्नैपर्छ ।

सापेक्ष सापेक्ष
२०८३ जेठ १६ गते ११:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेडियो कार्यक्रम ‘श्रुति सम्बेग’ मार्फत चर्चित प्रस्तोता अच्युत घिमिरेले आफ्नो स्पष्ट र भावपूर्ण आवाजद्वारा नेपाली साहित्यलाई आम श्रोतासम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।
  • सञ्चार माध्यमहरूले झुटा समाचारलाई सत्यका रूपमा प्रस्तुत गरेको र पत्रकारिताले आफ्नो अस्तित्व गुमाउँदै गएकोमा उनले चिन्ता व्यक्त गरे।
  • आगामी पुस्तालाई जतिसुकै नयाँ प्रविधि र आविष्कार भए पनि शारीरिक परिश्रम गर्न र मानिस भएर बाँच्न उनले सुझाव दिए।

सायद अच्युत घिमिरेलाई धेरैले वास्तविक नामले भन्दा पनि आवाजले चिन्छन् । स्पष्ट, भावपूर्ण र आकर्षक आवाज नै उनको पहिचान हो । आफ्नो आवाजमार्फत नेपाली साहित्यलाई आम श्रोतासम्म पुर्‍याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

कुनै समय लामो समयसम्म रेडियोमा श्रुति सम्बेग कार्यक्रम चलाएका उनी आजकल डिजिटल मिडियममा सिफ्ट भएका छन् । अहिले युट्युबमार्फत उनले उपन्यास, कथा संग्रह वाचन गर्ने गरेका छन् । यसबाहेक बुलबुल नामको गजल तथा कविता कार्यक्रम र एकल कविता वाचन कार्यक्रममार्फत पनि उनी निकै लोकप्रिय छन् ।

यस पटक अनलाइनखबरले उनैसँग दिलै खोलेर कुराकानी गरेको छ ।

१.हिजोआज

पछिल्लो समय के कुराले वा कुन समाचारले खुसी हुनुभयो ?

प्रधानमन्त्रीले युरोपियन युनियनका राष्ट्रहरूका राजदूतसँग संयुक्त भेटवार्ता गरेको समाचारले ।

दिक्क बनाएको कुरा ?

झुटा समाचारलाई सत्य नै हो जसरी धेरै मिडियाले प्रकाशन, प्रसारण गर्दा अनि तिनको पर्दाफास भइसकेपछि पनि आफैँ असहम बनेर खण्डन गरेको देखेर ।

अचेल सबैभन्दा रोचक लागेको विषय वा व्यक्ति ?

व्यक्ति धेरै छन् । संसदको विषय खूब रोचक लागेको छ अचेल ।

नेपाली समाजको सबैभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?

सबैभन्दा नराम्रो लागेको पक्ष सधैं झगडा, अविश्वास र मारपिट । राम्रो लागेको पक्ष, अन्त्यमा हुने गरेको त्यही समाजको सहमति, अझ मध्यस्थता बिना नै हुने सहमति ।

पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?

पत्रपत्रिका त म खूब हेर्छु । पत्रकारिताले आफ्नो अस्तित्व बिगार्दै गएको महसुस हुन्छ । पत्रकारिताका लागि राजनीति, प्रहरी, सेना, सत्ता जस्ता सबै कुरा सामान्य हुनुपर्ने । तर अचेलको पत्रकारिता चाहिँ सामान्य भएर तिनको पछिपछि लागेको देख्छु । पत्रकारिताले समाज डोर्‍याए हुन्थ्यो जस्तो लाग्छ तर समाजले, व्यक्तिले पत्रकारितालाई डाहोर्‍याइरहेको देखिन्छ ।

इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?

ठाउँ ठाउँबाट मिडियामा प्रत्यक्ष प्रसारण गर्ने काम ।

२.बाल्यकाल र किशोरावस्था

सानोमा सबैभन्दा बढी कुन खेल खेल्नुहुन्थ्यो ?

फुटबल खेलियो होला । तर त्यस्तो वर्णन नै गर्ने गरी धेरै खेलेको पनि हैन ।

साथीहरूले तपाईंका निकनेमहरू के–के राखिदिएका थिए ?

अच्युते, बुलबुल इत्यादि ।

तपाईंको कोहीसँग झगडा परेको थियो ?

अलिअलि त थियो होला तर त्यस्तो याद नै हुने गरी छैन ।

तपाईंको सेलिब्रेटी क्रस कोही थियो ?

खै याद छैन । सानोमा मलाई सरोज खनाल, बद्री अधिकारी, सुनिल शर्मा, निशा शर्माहरूको टेलिनाटक खुब मन पर्थ्यो ।

३.सिनेमा

पहिलोचोटी फिल्म हेर्दाको सम्झना कस्तो छ ?

चलचित्र कन्यादान हलमा हेरेको याद छ । नत्र नेपाल टेलिभिजनबाट प्रसारण हुने हिन्दी चलचित्रहरू हेरेको याद छ ।

कस्ता फिल्म हेर्न मन पर्छ ?

आर्ट मुभिज र अन्तर्राष्ट्रिय सम्बन्धहरू । मनोवैज्ञानिक विषयवस्तु भएको ।

साह्रै मन परेका फिल्म ?

अचेल त साउथ इन्डियन मूभिका टुक्राहरू मन पर्छन् । पहिले पहिले हेरेकामा हिन्दी सोले, लैजा मजनू, मुन्नाभाइ एमबीबीएस । अंग्रेजीमा होटेल रुवान्डा, पर्स्युट अफ ह्याप्पीनेस, पर्म्युम, टाइटानिक । नेपालीमा पछिल्ला चलचित्रहरू मन पर्छन् जस्तै दयाहाङ राईका सबै चलचित्र । नाटक क्षेत्रबाट आएका कलाकारहरूको चलचित्र धेरै मन पर्छन् ।

चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?

छन् तर अहिले सम्झिन सकिनँ ।

हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?

मेरो स्वभाव मिल्ने साथीहरूको रिफरबाट ।

नेपालमा कस्ता फिल्म धेरै बनुन् जस्तो लाग्छ ?

वास्तविक जीवन सिकाउने, समाजलाई सुधार गर्ने खालका । अभिमुखीकरण गराउन सक्ने क्षमताका चलचित्र बनून् जस्तो लाग्छ ।

४.पुस्तक

पुस्तकहरू कतिको पढ्नुहुन्छ ? पढ्का कस्तो खालका पढ्नुहुन्छ ?

एकताका खूब पढ्थेँ, अचेल पढ्ने समय नै पाउँदिन । पढ्दा चर्चामा रहेका वा केही सिक्न पाइने किताब मात्रै पढ्छु ।

मन परेका कुनै पुस्तक ?

धेरै छन् । जसमध्ये सदाबहार मन पर्ने किताब बीपीका सबै आख्यान, पारिजातका सबै आख्यान, भैरव अर्यालका हाँस्यव्यंग्य आदि ।

तपाईंका प्रिय लेखकहरू ?

बीपी, पारिजात, भैरव अर्याल, कृष्ण धराबासी र नयनराज पाण्डे । पछिल्लो पुस्तामा जिएस पौडेल र केशवराज ज्ञवाली ।

एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?

त्यस्तो धेरै छन् । तर एकै दिन मात्र पाउने हो भने म सुम्निमाकी विदुषी पात्र पुलोमासँग दिन बिताउँथेँ ।

नेपालमा के–कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?

पढिसकेर तीसौँ वर्ष मगजमा बसिरहने कथा वा पात्रलाई स्थापना गर्ने विषयवस्तुको पुस्तक लेखिउन् जस्तो लाग्छ । पढेपछि ती पात्रबाट आफूले धेरै कुरा सिक्न सकियोस् ।

५.घुमफिर र सोख

घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?

एकदम मनपर्छ

सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?

सबैभन्दा धेरै गएको दुबई । जान मन भएको ठाउँ माल्दिभ्स ।

सबैभन्दा मन परेको ठाउँ वा यात्रा ?

बाँकेको कोहलपुर यात्रा सबैभन्दा मन परेको हो मेरो ।

गीत कत्तिको सन्नुहुन्छ ? सबैभन्दा मन परेका गायक ?

सुन्छु । शास्त्रीय धारका आधुनिक गीत बढी मनपर्छ । दीप श्रेष्ठ, दीपक खरेल, अरुणा लामा आदि ।

आजभोलि कस्ता गीत, कसको गीत सुनिरहनुभएको छ ?

सुजन चापागाईँ ।

के कुराको विशेष सोख छ ?

घुम्न र पढ्न ।

खानाको कत्तिको सोखिन हुनुहुन्छ ? मनपर्ने परिकार ?

खानेकुरा जे भए पनि चल्छ ।

किनमेल गर्न कति रुचाउनुहुन्छ ?

एकदम कम ।

के-कस्ता किनमेलका लागि बजार जानुहुन्छ ?

नभई नहुने आफ्ना लुगा किन्नुपरे मात्रै ।

आफ्नो लुगाफाटो आफैँ किन्नुहुन्छ कि अरूले किनिदिन्छन् ?

आफैँ किन्छु ।

अहिलेसम्म किन्नुभएको सबैभन्दा महँगो वस्तु अथवा खर्च गरेको सेवा ?

म सामान्य मध्यम वर्गीय सामान किन्छु । त्यसैले त्यस्तो महंगो केही किनेको याद छैन ।

६.राजनीति

नेपालको राजनीति कस्तो लाग्छ ?

नेपाली समाजलाई जुधाउने एउटा सुत्र जस्तो लाग्छ ।

हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?

सुरुबाटै हाम्रो राजनीति अमेरिका कि रुस भनेर आयो । कि काँग्रेस कि कम्युनिस्ट । देश सुहाउँदो भएन र ठूला देशका सिको मात्रै गरे अगुवाहरूले । झुठ देखाउने, सपना बेच्ने तर यथार्थको धरातलमा कहिल्यै नउतार्ने ।

१० प्रतिशत मानिसले पनि कांग्रेस कम्युनिस्टको सिद्धान्त बुझेर राजनीति गरेको जस्तो लाग्दैन मलाई । मै जान्ने, मैले भनेको मान्नैपर्छ भन्ने अभिमान अनि यो देशको जिम्मा लिन पाए जेट विमान जसरी उडाइदिन्थेँ भन्ने खोक्रो आदर्श मात्रै देखिन्छ नेपाली राजनीतिमा ।

नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुर्धानुहुन्थ्यो ?

म पृथ्वीको मानिस हुँ । बढीमा म बाँच्ने ८० वर्ष हो । हजारौँ वर्षदेखि म नहुँदा पनि यो देश चलेको थियो, म मरेपछि पनि यो देश चलिरहन्छ । म भन्दा जान्ने धेरै छन् यही देशमा, म त एउटा सामान्य कण हुँ भन्ने भावना जागृत गराउँथेँ ।

मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?

सार्वजनिक जीवन पढेको आधारमा बीपी, मनमोहन अधिकारी, पुष्पलाल, गणेशमान र कृष्णप्रसाद भट्टराई । अचेलका मिडियामा आफैँले देखे र बुझे अनुसार गगन थापा, डा. सुरेन्द्र पाण्डे, सुशीला कार्की र रवि लामिछाने । तर, यी सबैका सबै गुण मन परेको भने हैन ।

मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?

कति गर्न सकिन्छ भन्ने कुरा हो । सबैभन्दा पहिले त भ्रष्टाचारमुक्त प्रशासन नै बनाउनुपर्ने होला ।

सामाजिक सञ्जाल र डिजिटल डिभाइस

कुन ब्रान्डको मोबाइल चलाइरहनु भएको छ ?

वान प्लस

दिनको कति घन्टा मोबाइल र संजालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?

३ घण्टा त चलाउँछु होला । सबैभन्दा धेरै फेसबुक । मेरो काम पनि यसमा हुने हुनाले र समाचार पनि म यतैबाट हेर्छु ।

बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?

संजालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?

राम्रो त सुसुचित बनाउँछ, धेरैसँग जोड्छ । नराम्रोमा लत बसाउँछ अनि फेक कुरा बढी आउँछन् ।

फलोअर्स, लाइक, कमेन्ट, भ्युजले तपाईंलाई केकति प्रभाव पार्छ ?

मानिसको स्वभाव नै लोभी हुन्छ । मलाई पनि लोभ लाग्छ यी कुरामा । तर म प्राकृतिक तवरले जोडिएका फलोअर्सलाई मात्रै विश्वास गर्छु ।

एआई टुलहरू कतिको चलाइरहनुभएको छ ? बढी कुन चलाउनुहुन्छ ?

धेरै चलाउँदिन । अलिअलि च्याटजिपीटी हो ।

सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना संजालको काम बढी गरेको छ कि गलत सूचना बढी फैलाउने काम गरेको छ ?

सायद अहिले त गलत सूचना बढी फैलाउने काम गरिरहेको छ ।

सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?

विस्थापित नै त नभनौं । मानिसहरूलाई पढ्ने रुचि कम भएको छ ।

७.रोचक तथ्य

पुन: जन्म हुने भए अब के बन्न मन छ ?

चरा

तनाव, दबाबहरू कसरी कम गर्नुहुन्छ ?

एक्लै बसेर । धेरै सोचेर ।

तपाईलाई के को सुगन्ध सबैभन्दा मनपर्छ ?

रातकी रानी (हसना) फूलको ।

अहिलेसम्म तपाईंले पाउनुभएको राम्रो सुझाव ?

मलाई आजसम्म सबैले राम्रै सुझाव दिएका छन् । गलत नगर्नू, सधैं राम्रो गर्नू ।

आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?

जति पुस्ता बिते पनि जति आरामदायी आविष्कार भए पनि हामी बाँच्दा मानिस भएर बाँच्नुपर्छ । त्यसैले मेसिनको सम्मान गरौं तर काम चाहिँ गर्नैपर्छ । अझ शारीरिक परिश्रमको काम गरौँ । यो कहिल्यै नछोडौँ ।

दिलै खोलेर अनलाइनखबरको साप्ताहिक कुराकानी श्रृंखला हो । यसमा हामी विभिन्न विषयमा अझ नजिक हुने गरी कुराकानी गर्छौं ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?