News Summary
Generated by OK AI. Editorially reviewed.- संघीयतासँगै स्थानीय तहबाट सेवा प्रवाह हुन थालेपछि तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजार सुनसान बन्दै गएको छ ।
- ग्राहक र यात्रु घटेपछि म्याङ्लुङका होटल, खुद्रा पसल तथा यातायात क्षेत्रको आर्थिक गतिविधि ठप्प जस्तै बनेको छ ।
- म्याङ्लुङ नगरपालिकाका प्रमुख संजयकुमार तुम्बाहाङ्फेले बजारको ऐतिहासिक र प्रशासनिक महत्व जोगाउन विभिन्न योजना अघि सारेको बताउनुभयो ।
१६ जेठ, तेह्रथुम । तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्लुङको बिहान पहिले जस्तो छैन । कुनै समय सूर्योदयसँगै जाग्ने यो बजार अहिले अलि ढिलो उठेजस्तो लाग्छ ।
बिहानैदेखि मानिसहरूको चहलपहलले भरिने गल्लीहरूमा अब शान्ति छाएको हुन्छ । होटलका ढोका खुलेका छन् । तर, ग्राहक घट्दै गएका छन् । पसलहरूमा सामान सजिएका छन् । तर, किनमेल गर्नेहरूको भीड हराउँदै गएको छ । बस स्टेनमा यात्रुहरू कुरेर उभिएका सवारी साधनहरू खाली सिट बोकेर गन्तव्यतर्फ लागिरहेका हुन्छन् ।
एक समय पूर्वी पहाडको सक्रिय प्रशासनिक, व्यापारिक तथा सामाजिक केन्द्रका रूपमा परिचित म्याङ्लुङ बजार अहिले विस्तारै सुनसान बन्दै गएको छ । संघीय शासन प्रणाली लागू भएसँगै आएको प्रशासनिक पुन:संरचना र स्थानीय तहमा सेवा विस्तारले सदरमुकामको पुरानो चहलपहललाई क्रमश: घटाउँदै लगेको छ । यो केवल एउटा बजार सुनसान भएको कथा मात्र होइन । यो समयसँगै बदलिएको शासन प्रणाली, बदलिएको जनजीवन, र परिवर्तनको मूल्य चुकाइरहेका पुराना बजारहरूको कथा पनि हो ।
आजभन्दा केही दशकअघिसम्म म्याङ्लुङ बजार तेह्रथुम जिल्लाको धड्कन जस्तै थियो । जिल्लामा गाउँहरूबाट मानिसहरू सरकारी कामका लागि सदरमुकाम आउथे । नागरिकता बनाउन, सिफारिस लिन, अदालतको काम गर्न, शिक्षा सम्बन्धी प्रक्रिया पूरा गर्न, स्वास्थ्य उपचार गराउन वा किनमेल गर्न—सबैका लागि म्याङ्लुङ नै मुख्य गन्तव्य थियो ।
त्यसबेला बजारमा बिहानदेखि साँझसम्म मानिसहरूको भीड लाग्थ्यो । होटलहरू भरिभराउ हुन्थे । चिया पसलमा राजनीतिक बहस चल्थ्यो । यातायातका साधनहरू यात्रुले खचाखच भरिन्थे । बजारका गल्लीहरूमा मानिसको हिँडडुल रोकिन्नथ्यो । पुराना व्यवसायीहरू सम्झन्छन्, ‘त्यो बेला म्याङ्लुङमा साँझ पर्नासाथ झन् बजार चम्किन्थ्यो । गाउँबाट आएका मानिसहरू किनमेल गर्थे, होटलमा बस्थे, चिया पसलमा गफ हुन्थ्यो । अहिले त्यो दृश्य सपना जस्तो लाग्छ ।’
जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, कृषि कार्यालय, वन कार्यालय लगायत दुई दर्जनभन्दा बढी सरकारी कार्यालयहरू म्याङ्लुङमै केन्द्रित थिए । सरकारी कर्मचारीहरूको बसोबास, सेवाग्राहीको आउजाउ र व्यापारिक गतिविधिले बजारलाई जीवित राखेको थियो ।

नेपालमा संघीय शासन प्रणाली लागू भएपछि राज्यको संरचनामा ठूलो परिवर्तन आयो । गाउँपालिका र नगरपालिकालाई अधिकार सम्पन्न बनाइयो । नागरिकले सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले स्थानीय तहलाई प्रशासनिक, विकासात्मक र सेवा प्रवाहका अधिकार दिइयो ।
यसले ग्रामीण क्षेत्रका नागरिकलाई धेरै राहत पनि दियो । पहिले सामान्य सिफारिस लिन दिनौं हिँड्नुपर्ने अवस्था थियो । अहिले अधिकांश सेवा आफ्नै पालिकाबाट उपलब्ध हुन थालेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, योजना सञ्चालन लगायतका काम स्थानीय तहबाटै हुन थालेपछि सदरमुकामको निर्भरता कम भयो । तर, यसको अर्को पाटो पनि देखिन थाल्यो-पुराना सदरमुकामहरूको आर्थिक चहलपहल घट्न थाल्यो । म्याङ्लुङ पनि त्यही परिवर्तनको प्रत्यक्ष उदाहरण बनेको छ । पहिले दैनिक सयौं मानिसको भीड हुने बजार अहिले विस्तारै शान्त बन्दै गएको छ ।
म्याङ्लुङ बजारको परिवर्तन सबैभन्दा बढी व्यवसायीहरूले महसुस गरेका छन् । होटल व्यवसायी केदार भगत प्रधानाङ्ग बिहानै होटलको ढोका खोल्नुहुन्छ । तर, पहिले जस्तो ग्राहकको भीड आउँदैन । उनी पुराना दिन सम्झिँदै भन्छन्, ‘पहिले त कोठा खाली हुँदैनथ्यो । खाना खान पनि पालो कुर्नुपर्थ्यो । अहिले कहिलेकाहीँ दिनभरमा गन्न सकिने ग्राहक मात्र आउँछन् । व्यापार निकै घटेको छ ।
उनी जस्ता धेरै व्यवसायी अहिले खर्च धान्नै कठिन भएको बताउँछन् । बजारमा ग्राहक घटेपछि खुद्रा पसल, स्टेशनरी, कपडा पसल, होटल, रेस्टुरेन्टदेखि दैनिक उपभोग्य वस्तु बेच्ने साना व्यवसायसम्म प्रभावित बनेका छन् । कतिपयले व्यवसाय बन्द गरेर वैदेशिक रोजगारीतर्फ जाने सोच बनाइरहेका छन् भने केही युवा अन्य शहरतर्फ पलायन भइसकेका छन् ।
म्याङ्लुङ बजारको अवस्था यातायात क्षेत्रमा पनि स्पष्ट देखिन्छ । पहिले यात्रुले भरिने गाडीहरू अहिले आधा खाली अवस्थामा गुडिरहेका छन् । यातायात व्यवसायी मंगल लिम्बु भन्छन, ‘पहिले म्याङ्लुङ झर्ने यात्रु धेरै हुन्थे । बिहानदेखि बेलुकासम्म गाडी चल्थे । अहिले खाली सिट लिएर हिँड्नुपर्छ । तेल खर्च उठाउनै मुस्किल पर्छ ।’
यात्रु घटेसँगै यातायात व्यवसायको आम्दानी पनि घटेको छ । कतिपय रुटमा गाडीको संख्या नै कम गरिएको छ । बजार सुनसान हुँदा यातायात, होटल, व्यापार, मजदुरी लगायत सम्पूर्ण आर्थिक चक्र प्रभावित हुने गरेको स्थानीयहरू बताउँछन् ।
संघीयतापछि स्थानीय तहहरूले शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि लगानी बढाएका छन् । गाउँमै विद्यालयको स्तरोन्नति, स्वास्थ्य चौकी विस्तार, आधारभूत सेवा उपलब्ध हुन थालेपछि सदरमुकाम झर्नुपर्ने आवश्यकता कम भएको छ । पहिले सामान्य उपचारका लागि पनि मानिसहरू म्याङ्लुङ आउँथे । अहिले धेरै सेवा गाउँमै पाइन्छ । यसले नागरिकलाई सुविधा दिएको छ, तर सदरमुकामको आर्थिक गतिविधि भने घटाएको छ ।

निजी क्षेत्र पनि विस्तारै गाउँतिर सर्दै गएको देखिन्छ । बैंक, सहकारी, कृषि सेवा केन्द्र, इन्टरनेट सेवा लगायतका सुविधा स्थानीय तहमा पुग्न थालेपछि म्याङ्लुङको पुरानो केन्द्रीय भूमिका कमजोर बन्दै गएको हो । म्याङ्लुङ केवल एउटा प्रशासनिक केन्द्र मात्र होइन । यो तेह्रथुमको इतिहास, पहिचान र सामाजिक जीवनसँग जोडिएको ठाउँ हो ।
यो बजारले दशकौंसम्म जिल्लाको आर्थिक गतिविधि बोकेको छ । यहाँका पुराना घर, गल्ली, पसल र चिया पसलहरूमा जिल्लाको राजनीतिक, सामाजिक र सांस्कृतिक इतिहास लुकेको छ । पुराना पुस्ताका लागि म्याङ्लुङ सम्झनाको शहर हो । यहाँ उनीहरूले संघर्ष गरेका छन, व्यापार गरेका छन, जीवन बिताएका छन् । तर, अहिले यही बजार विस्तारै आफ्नो पहिचान गुमाउँदै गएको अनुभूति धेरैमा छ ।
म्याङ्लुङ बजारको साख जोगाउन स्थानीय सरकार पनि सक्रिय देखिन्छ । म्याङ्लुङको महत्व कायम राख्न पर्यटन, व्यापारिक गतिविधि र पूर्वाधार विकासमा काम भइरहेको म्याङ्लुङ नगरपालिकाका प्रमुख संजयकुमार तुम्बाहाङ्फेले बताए । उनका अनुसार बजारलाई पुनर्जीवित बनाउन दीर्घकालीन योजना आवश्यक छ । ‘म्याङ्लुङको ऐतिहासिक र प्रशासनिक महत्व जोगाउन नगरपालिकाले विभिन्न योजना अघि सारेको छ’, उनी भन्छन्, ‘पर्यटन, शिक्षा र सेवा क्षेत्रलाई केन्द्रित गरेर बजारमा पुन: चहलपहल ल्याउने प्रयास भइरहेको छ ।’
स्थानीयहरू पनि म्याङ्लुङलाई केवल प्रशासनिक केन्द्रका रूपमा होइन, सांस्कृतिक र पर्यटन केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँछन् । संघीयता आफैंमा गलत व्यवस्था होइन । स्थानीय तहमा सेवा पुगेपछि नागरिकले सहजता महसुस गरेका छन् । तर, विकासको यो यात्रामा पुराना सदरमुकाम र ऐतिहासिक बजारहरूको भविष्य कस्तो हुने भन्ने प्रश्न अहिले गम्भीर रूपमा उठ्न थालेको छ ।
यदि समयमै वैकल्पिक आर्थिक गतिविधि विकास गर्न सकिएन भने म्याङ्लुङजस्ता बजारहरू अझ सुनसान बन्न सक्छन् । पर्यटन, कृषि बजार, शैक्षिक केन्द्र, सांस्कृतिक गतिविधि, साना उद्योग तथा सेवा क्षेत्रलाई प्रवर्द्धन गर्न सके मात्रै यस्ता बजारहरू पुन: जीवित हुन सक्छन् । स्थानीय सरकार, प्रदेश सरकार र संघीय निकायबीच समन्वय गर्दै दीर्घकालीन योजना बनाउनु आजको आवश्यकता बनेको छ ।

प्रतिक्रिया 4