+
+
Shares

झलनाथले भने– ‘बालेनको अभिव्यक्ति खतरनाक, प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’

बालेनले माफी नमागेसम्म विरोध जारी राख्न आह्वान र संसदको रेकर्डबाट हटाउन आग्रह

खनालले लेखेका छन्, ‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन ।’ यस सम्बन्धमा प्रधानमन्त्री शाहले माफी माग्नुपर्ने खनालको धारणा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते ८:५२

१८ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन शाहले ‘नेपालले समेत भारतको जग्गा मिचेको’ भनेर दिएको अभिव्यक्ति गलत र राष्ट्र विरोधी भएको बताएका छन् ।

सो अभिव्यक्तिलाई ‘खतरनाक’ भन्दै खनालले बालेनलाई प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने टिप्पणी समेत गरेका छन् ।

‘हिजो प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा बोल्दा नेपालले समेत भारतका जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिन पुगे । यो अत्यन्त गम्भीर, दु:खद, गलत र राष्ट्र विरोधी अभिव्यक्ति हो,’ खनालले फेसबुकमा लेखेका छन् ।

‘हामी नेपाली जनता युगौँदेखि विदेशी अतिक्रमणका विरुद्ध संघर्ष गर्दै आएका छौं र अहिले पनि हाम्रो देशमाथि अतिक्रमण भइरहेको छ । त्यस्ता कार्यलाई हलुका बनाउने र विदेशीहरूको चाकडी गर्ने हिसाबले यस्ता अभिव्यक्ति दिनु राष्ट्र विरोधी कार्य हो,’ खनालले लेखेका छन्, ‘उहाँले कुन तथ्य, कुन प्रमाण र कुन दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिएको हो ?’

प्रधानमन्त्री बालेनको अभिव्यक्तिले देशभित्र र बाहिर रहेका ३ करोड नेपाली जनताको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात भएको भन्दै खनालले लेखेका छन्, ‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन ।’

यस सम्बन्धमा प्रधानमन्त्री शाहले माफी माग्नुपर्ने खनालको धारणा छ । ‘यस सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले माफी नमागेसम्म विरोध र भर्त्सना गर्न म सम्पूर्ण देशभक्त जनता र शक्तिहरुलाई जोडदार आग्रह गर्दछु,’ खनालले भनेका छन् । साथै उनले सो अभिव्यक्तिलाई संसदको रेकर्डबाट तत्काल हटाउन पनि सभामुख समक्ष आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा बालेनले नेपालले पनि भारतको जग्गा मिचेको दाबी गरेका थिए । ‘तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्ला मैले पनि प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ, भारतले नेपालको मात्रै होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। यो कुरा अस्ति भर्खर मात्रै थाहा पायौँ त्यही भएर दुवै देशले अध्ययन गरेर हामीले मिचेका छौँ, उहाँहरूले मिच्नु भएको छ के छ, त्यसलाई बसेर साथीको रूपमा समाधान गर्ने सोच राखेका छौँ ।’ उनले सीमा अतिक्रमणबारे इंग्ल्याण्ड सरकारसँग पनि कुरा गरेको जानकारी गराएका थिए ।

यो विवादित अभिव्यक्तिपछि बालेनको विरोध हुँदै आएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?