News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले विकास गरेको \'अमिभान्तामब\' औषधिको परीक्षण जटिल चरणका क्यान्सर बिरामीमा सफल भएको छ।
हालै सार्वजनिक गरिएको अनुसन्धानको एक नतिजाले क्यान्सरको उपचारमा नयाँ आशाको सञ्चार गरेको छ । अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले विकास गरेको यो औषधि जटिल चरणमा पुगेको क्यान्सरको उपचारमा समेत प्रभावकारी हुने दावी गरिएको छ ।
‘अमिभान्तामब’ नाम दिइएको यस औषधिको ट्रायल सफल भएको वैज्ञानिकहरूले बताएका छन् । किमोथेरापी र इम्युनोथेरापी उपचारले काम गर्न छाडिसकेका बिरामीमा समेत यसको प्रभाव राम्रो देखिएको अध्ययनले भनेको छ । यस अध्ययनको रिपोर्ट जर्नल अफ क्लिनिकल ओन्कोलोजीमा प्रकाशित भएको छ ।
यो परीक्षण ११ देशका बिरामीहरूमा गरिएको थियो । शरीरका अन्य भागमा समेत क्यान्सर फैलिइसकेको, क्यान्सर पुन: दोहोरिएका बिरामीहरूलाई यो एन्जेक्सन दिइएको थियो । ती बिरामीहरूलाई क्यान्सर उपचारका अन्य विकल्पहरूले काम गर्न छाडिसकेको थियो ।
बिरामीमा क्यान्सरका ट्युमरहरू घटेको र केही सातामै नाटकीय परिवर्तन देखिएको दावी गरिएको छ ।
अध्ययनको रिपोर्टमा भनिएअनुसार टाउको र घाँटीको क्यान्सर भएका १०२ जना बिरामीमा यो परीक्षण गरिएको थियो । यसमध्ये ४३ जनामा राम्रो प्रभाव देखायो । जसमा २८ जनाको ट्युमर उल्लेखनीय रूपमा घट्यो भने १५ जनाको ट्युमर पूर्णरूपमा हट्यो ।
फोक्सोको क्यान्सरमा पनि यसले यही खालको नतिजा देखाएको अध्ययनकर्ताहरूले बताएका छन् । फोक्सो, पेट, मस्तिष्क र कोलोरेक्टल क्यान्सरका बिरामीमा यसको क्लिनिकल ट्रायल जारी रहेको अध्ययनमा बताइएको छ ।
यस उपचारलाई ‘ट्रिपल-एक्शन क्यान्सर ज्याब’ नाम दिइएको छ । केमोथेरापी र इम्युनोथेरापी समेत कम प्रभावकारी भइरहेको अवस्थामा समेत काम गर्ने र ट्युमर पूर्णरूपमा हटाउने दावी अध्ययनकर्ताहरूको छ ।
स्मार्ट ज्याबले क्यान्सरलाई तीन तरिकाले टार्गेट गर्दछ । ट्युमर बढ्न मद्दत गर्ने एक प्रकारको प्रोटिन, ‘इजीएफआर’ र उपचार गर्दा क्यान्सरका कोषहरू लुकेर बस्ने मार्ग ‘एमईटी’ दुवैलाई यो औषधिले बन्द गरिदिन्छ । यसका साथै यसले ट्युमरलाई आक्रमण गर्न प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउन मद्दत पनि गर्छ ।
अन्य क्यान्सर उपचारमा जस्तो यो औषधि नसाबाट नभई छालाबाट दिइन्छ । यस कारण उपचार छिटो र सुविधाजनक हुने बताइएको छ ।
प्रत्येक तीन हप्तामा एक पटक यो औषधि दिइन्छ । यसका साइड इफेक्टहरू हल्कादेखि मध्यम मात्रै देखियो । यस परीक्षणमा सहभागी ८ प्रतिशत बिरामीमा भने साइड इफेक्टकै कारण उपचार बन्द गर्नुपर्ने अवस्था आएको पनि अध्ययनमा उल्लेख छ । तर यसलाई खास ठूलो समस्या मानिएको छैन ।
सबै बिरामीको औषतमा हेर्दा कम्तीमा ६ महिनासम्म रोग पुन बल्झिएन । क्यान्सरका मानक उपचारहरू बन्द गरेको अवस्थामा बिरामीमा निकै खराब नतिजा देखिन्छ । यस अवस्थामा ‘अमिभान्तामब’ प्रदान गरेका बिरामी औषतमा साढे १२ महिनासम्म बाँचेको यस अध्ययनको रिपोर्टमा उल्लेख छ । यसलाई अंकोलोजिस्टहरूले ठूलो उपलब्धि मानेका छन् ।
यो औषधिले अभूतपूर्व प्रतिक्रिया देखाएको लन्डनको क्यान्सर अनुसन्धान संस्थान (आईसीआर) का जैविक क्यान्सर थेरापीका प्राध्यापक केभिन ह्यारिङ्टनले बताए । उपचारका विकल्प कम भएका बिरामीमै देखाएको यस्तो सकारात्मक परिवर्तनले निकै आशा जनाएको उनको भनाइ छ ।
‘यी यस्ता बिरामीहरूको समूह हो, जसका लागि उपचार विकल्पहरू अत्यन्तै सीमित छन्, त्यसैले लाभको यो स्तर देख्नु धेरै उल्लेखनीय छ’ केभिन भन्छन् । यस उपचारले प्रत्येक वर्ष हजारौं बिरामीहरूलाई फाइदा पुर्याउने उनले बताए ।
प्रतिक्रिया 4