News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको छत्रकोट गाउँपालिकामा रहेका ४० विद्यालयका ४ हजार १९६ विद्यार्थीको मुटु परीक्षण कार्यक्रम शुरू भएको छ ।
- नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मीको संयोजनमा सञ्चालित यस कार्यक्रममा मुटुरोग फेला परेका विद्यार्थीलाई उपचारमा सहजीकरण गरिनेछ ।
- यसअघि गुल्मीदरबार गाउँपालिकामा गरिएको परीक्षणका क्रममा ३ हजार ९५० विद्यार्थीमध्ये १० जनामा मुटुसम्बन्धी समस्या देखिएको थियो ।
१९ जेठ, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मुटु परीक्षण कार्यक्रम सुरु गरिएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान, गुल्मीको संयोजन तथा छात्रकोट गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका ४० विद्यालयका ४ हजार १९६ विद्यार्थीको मुटु परीक्षण गरिने भएको छ ।
कार्यक्रमको सुरुवात छात्रकोट गाउँपालिका–स्थित सरस्वती माध्यमिक विद्यालयबाट गरिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुमनता बन्जाडे र डा. प्रदीप पाण्डेको नेतृत्वमा विद्यार्थीहरूको मुटु परीक्षण भइरहेको छ ।
आवश्यक परेमा विद्यार्थीहरूको इकोकार्डियोग्राफी मार्फत समेत परीक्षण गरी रोग पहिचान गर्ने व्यवस्था मिलाइएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान, गुल्मीका अध्यक्ष ताराप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार परीक्षणका क्रममा मुटुरोग भएका विद्यार्थी भेटिएमा उनीहरूको आवश्यक उपचार व्यवस्थापनमा प्रतिष्ठानले सहजीकरण गर्ने बताए ।
छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गाउँपालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालन गरेको बताए । उनले मुटुरोगको समयमै पहिचान र उपचारका लागि यस्तो अभियान प्रभावकारी र उपलब्धिमूलक भएको उल्लेख गरे ।
यसअघि करिब दुई साताअघि गुल्मीदरबार गाउँपालिकामा पनि यस्तै कार्यक्रम सञ्चालन गरिएको थियो । ३ हजार ९५० विद्यार्थीको मुटु परीक्षण गर्दा १० जना विद्यार्थीमा मुटुसम्बन्धी समस्या पहिचान भएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुमन्त बन्जाडेले जानकारी दिए । तीमध्ये ८ जनाले औषधि उपचार सुरु गरेका छन् भने २ जनालाई थप उपचारका लागि काठमाडौं पठाउने व्यवस्था मिलाइएको उनले बताए ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रीय सदस्य अखिलेश्वरप्रसाद पाण्डेले बालबालिकामा मुटुरोगको प्रारम्भिक चरणमै पहिचान हुन सके उपचार सहज हुने बताए । उनले नेपाल सरकारबाट समेत उपचारको व्यवस्था हुने भएकाले यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताए ।

मुटुरोग विशेषज्ञ डाक्टर सुमन्त बञ्जाडे का अनुसार विद्यालय उमेर समूहका बालबालिकामा बाथ मुटुरोगको जोखिम बढी रहने गर्दछ । घाँटी दुख्ने, थुक निल्न गाह्रो हुने, टन्सिल बढ्ने तथा जोर्नी दुख्ने जस्ता समस्यालाई समयमै उपचार नगर्दा बाथ मुटुरोग निम्तिन सक्ने भएकाले सचेतना र परीक्षण आवश्यक रहेको उनले बताए । उनले बालबालिकाको खानपान र सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै फोहोर वातावरणमा खेल्ने तथा अस्वस्थकर खानपानका कारण घाँटीको संक्रमण हुँदै मुटुसम्म असर पुग्ने सम्भावना रहने बताए ।
चिकित्सकहरूका अनुसार गर्भावस्थामा आमाले जानी वा नजानी कडा औषधि सेवन गर्ने, धुम्रपान तथा मद्यपान गर्ने, अत्यधिक तनावमा रहने जस्ता कारणले पनि बच्चाको मुटुको भल्भमा समस्या देखिनसक्छ । नेपाल हृदय रोग प्रतिष्ठान गुल्मीका अध्यक्ष ताराप्रसाद भुसालले ग्रामीण क्षेत्रमा यस्ता स्वास्थ्य परीक्षण अभियानले बालबालिकाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4